थबाङमा अक्सिजन प्लान्ट जडान

२६असार, रोल्पा । थबाङ गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसनमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रले करिब २० लाख रुपैयाँको मिनी अक्सिजन जडान गरेको हो ।

केन्द्रको सहयोगमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीले बताए । उनका अनुसार प्लान्ट जडान गर्न केन्द्रका बायोमेडिकल इन्जिनयर उमेश राई नेतृत्वमा सात जना प्राविधिकको टोली आएको थियो ।

मिनी अक्सिजन प्लान्टमा १० लिटर क्षमताका ६ वटा, ५ लिटर क्षमताको १ वटा अक्सिजन कन्सन्ट्रेटर र आविष्कार केन्द्रमा निर्माण गरिएका सामानहरुको प्रयोग गरि निर्माण गरिएको हो ।

अक्सिजन प्लान्टमा प्रतिमिनेट ६५ लिटर अक्सिजन उत्पादन हुनेछ । यस अघि आविस्कार केन्द्रले स्याङजा, गोरखा, खोटाङ, सल्यान र कैलालीमा मिनी अक्सिजन मिनी प्लान्ट निर्माण गरिसकेको छ ।

विद्युतीय आपुर्ति नभएको समयमा विकल्पको रुपमा २ वटा ४७ लिटरका अक्सिजन सिलिन्डर स्वचालित रुपमा सञ्चालन हुने गरी अक्सिजन प्लान्ट जडान गरिएको गाउँपालिकाले जनाएको छ ।

कोरोनाको महामारीको समयमा थबाङमा अक्सिजन प्लान्ट जडान गर्नका लागि थबाङ गाउँपालिका वडा नम्बर २ का महेश कालामगर, उमेश बुढामगरले विशेष पहल गरेका थिए । भने आविस्कार केन्द्रका किशोर रिमाल र दानबहादुर घर्तीसँग स्वास्थ्य शाखाले समन्वय गरेपछि अक्सिजन प्लान्ट जडान कार्य सफल भएको स्वास्थ्य शाखा संयोजक तुलबहादुर पुनले बताए ।

आविष्कार केन्द्रले निशुल्क रुपमा अक्सिजन प्लान्ट जडान गरी गाउँपालिकालाई ऋणी बनाएको गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीले बताए स्वास्थ्य क्षेत्र विकासको लागि राष्ट्रिय अविस्कार केन्द्रबाट थप सहयोगको अपेक्षा गरेको उनले बताए ।

प्रकाशित मिति : २०७८ असार २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस