देशभर ३ दिन भारी वर्षाको सम्भावना

२८ असार, काठमाडौँ । नेपालमा अझै ३ दिन वर्षाको सम्भावना रहेको मौसमविदुले बताएका छनु । नेपालमा मनसुन सक्रिय गराउने मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अझै ३ दिन वर्षाका सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सक्रिय मनसुनका कारण देशभर सामान्य बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने क्रम जारी छ ।

आउँदो २४ घण्टा देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशका थोरै स्थानमा साथै गण्डकी प्रदेश, प्रदेश ५ तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुनसक्ने आँकलन गरिएको छ ।

ती प्रदेशमा रहेका साना ठूला नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्क हुन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७७ असार २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस