राेल्पामा मास्क प्रयोग गराउन प्रहरीको र्‍यालीः प्रयोग नगरे कारवाही

२८ असार, रोल्पा । ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाले मास्क लगाएर र सामाजिक दूरीसहित हिँडडुल गर्न भन्दै अभियान नै चलाएको छ ।

सरकारले जारि गरेको नियम विपरित स्थानीयहरु मास्क नलगाएर सामाजिक दूरी समेत ख्याल नगर्दै बाहिर निस्कन थालेपछि प्रहरीले अभियान चलाएको हो ।

सुलिचौर तथा रुइनिबाङ बजारमा विभिन्न नारा लेखिएका प्लेकार्ड, जनचेतना मूलक र्‍यालीसहित माईकिङ गरेर अभियान चलाएको इलाका प्रहरी कार्यालय सुलिचौरले बताएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला पछिल्लो समय रोल्पाका मुख्य बजारहरुमा स्थानीयहरुले मास्कको प्रयोग नगरेको पाइएपछि प्रहरीले सकृयता बढाएको हो ।

नागरिकहरुले मास्क प्रयाेग नगरी अटेर गरे संक्रमण रोग ऐन २०२० कारबाही शुरु गर्ने प्रहरीले बताएको छ । संक्रमण रोग ऐन २०२० मा १ महिनासम्म कैद २ सय जरिवाना रहेको छ ।

र्‍यालीमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको सहभागी थियो ।

प्रकाशित मिति : २०७७ असार २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस