
२८असार, काठमाडौँ । समाजवादी पार्टीबाट निष्कासित सांसद सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।
आफ्नो हक अधिकार खोसेको भन्दै उनले अदालतमा रिट दायर गरेकी हुन् ।
गिरीले संघीय संसद प्रतिनिधिसभा, संघीय संसद सचिवालय, निर्वाचन आयोग, तत्कालीन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टीको नेतृत्व लगायतलाई विपक्षी बनाएकी छन् ।
समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णयअनुसार संघीय संसद प्रतिनिधिसभा सदस्य पदबाट उनी असार २५ गते बिहीबार निष्कासित भएकी थिइन् ।
पार्टीको ह्वीप उलंघन गरेको भन्दै समाजवादी पार्टीले गिरीलाई सांसद र दलको सदस्यबाट निष्कासित गरेको हो ।
नेपालको नक्सामा भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि उक्त नक्सालाई निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयकको विरोधमा गिरी लागेकी थिइन् ।
गत बिहीबार संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले सूचना जारी गर्दै उनकै पार्टीको सिफारिसमा संसद् पद खारेज गएको जनाएका थिए ।