काठमाडौंका जनप्रतिनिधि अब साइकलमा

३१असार,काठमाडौं। काठमाडौं महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिलाई अब साइकलमै आतेजाते गरेको देख्न पाइने भएको छ । महानगरका करिब ८ सय कर्मचारीले पनि अब साइकलबाटै घर तथा कार्यालय ओहोरदोहोर गर्ने भएका छन् ।

महानगरको हालै सम्पन्न सातौँ नगर परिषद्ले महानगरका जनप्रतिनिधि, कुचिकार र सवारी चालकलाई साइकल दिने निर्णय गरेपछि महानगरमा अब साइकलपारखी बढ्ने भएका हुन् ।

काममा छिटोछरितो, गल्ली गल्छेडामा सहज आवागमन, द्रुतरूपमा घरदैलो पुग्न र स्वच्छ वातावरणका लागि महानगरपालिकाले निर्वाचित प्रतिनिधिसहित कर्मचारीलाई साइकल दिने निर्णय गरेको महानगरका उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिइन् ।

वातावरणीय स्वच्छता, सहज र छिटोछरितो आवगमन, पार्किङ सुलभतालाई हेरेर यस्तो निर्णय गरेको उनले बताइन् । कामनपा–७ का सदस्य कृष्णमणि भट्टराईका अनुसार साइकल दिने निर्णयले सबै कर्मचारी प्रसन्न छन् । कर्मचारी साइकलको प्रतीक्षामा छन्, कतिपय साइकल चलाउन नजानेकाले सिकिरहेका छन् ।

कामनपा–२० का सदस्य युनिस चित्रकार विगतमा वडाध्यक्षलाई ३० हजार रुपैयाँको मोबाइल दिँदा मोबाइल शुल्क लिएर गएकोजस्तो साइकलमा नहोस् भन्छिन् । सदस्य कृष्णमणि भट्टराईले महानगरको निर्णय स्वागतयोग्य रहेकाले निर्वाचित प्रतिनिधिसहित धेरै कर्मचारीले साइकलको प्रतीक्षा गरिरहेको बताए । कामनपा–३० का कर्मचारी सीताराम कँडेलले प्रदूूषण कम हुने तथा जताततै सहज रूपमा जान मिल्ने भएकाले साइकलको व्यवस्था कर्मचारीले मन पराएको बताए ।आजको गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २०७७ असार ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस