रोल्पामा विवाह गर्ने उमेर नपुग्दै आमा

५साउन, रोल्पा । रोल्पा सुनछहरी गाउँपालिका–३ बाहिरी गाउँकी एक किशोरी उमेरले १९ बर्ष पुगिन। ६ कक्षा पढ्दा पढ्दै स्कुल छोडेकी उनले विवाह गरेको ४ बर्ष पुग्यो। उनको ३ बर्षको छोरा छ। उनको श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा छन्। ‘१६ बर्ष नपुग्दै विहे भयो। बुबाआमाले पनि पढ्न भनेनन्। हाम्रो गाउँ तिर पढेर राम्रो गरेको पनि कोहि छैन। सबै उस्तै त हो जस्तो लाग्यो’, उनले भनिन्।

घरको आर्थिक अवस्था कमजोर भएका कारण छिमेकी गाउँमा आफन्तको घरमा बसेर पढेकी थवाङ गाउँपालिका उवाकी अर्की किशोरी पनि आउँदो फाल्गुनमा २१ बर्ष पुग्दैछिन। १६ बर्ष नपुग्दै विवाह गरेकी हुन्। उनको पनि श्रीमान पैसा कमाउने आशामा साउदी गएका छन्। ७ कक्षा पढ्दा पढ्दै विवाह गरेकी उनको अहिले मन कुडिन्छ। ‘बिहे नहुदै बच्चा जन्मिदैन भन्ने सुनेको थिए। अहिले बर्बाद भयो। स्कुल पढ्दा पढ्दै गर्भ बस्यो अनि बिहे गरे’, उनले भन्छिन्, ‘हिजो आज त आफैसंग दिक्क लाग्छ।’

दश बर्ष युद्ध गरेको रोल्पाली समाज ‘रोल्पा चेतना स्तर उठेको समाज हो। त्यसैले हाम्रो जनयुद्धको आधार भुमि पनि यहि हो’ भनेर दर्जनौ भाषण गरेका नेताले कहिल्यै वालविवाहबारे कसैले बोलेनन्। शान्ति स्थापना भएको एक दशक नाघि सक्दा पनि जनताको आधारभुत कुरामा ध्यान दिन नसक्दा शिक्षा, स्वास्थ्य जस्ता बिषय ओझेल परेका छन्। आज पनि जिल्लामा बालविवाह ब्यापक छ। घर छेउँमा आएको भनिएको स्थानिय सरकारले पनि यो बिषयमा खासै चासो दिएको छैन।

रोल्पामा बिबाह गर्ने उमेर नपुग्दै आमा बन्ने किशोरीहरुको संख्या ठुलो रहेको एक तथ्याङ्कले देखाएको छ। गत आर्थिक बर्ष २०७६/०७७ मा जिल्ला अस्पताल रोल्पामा सुत्केरी भएका चार सय ४८ मध्य ८१ जना २० बर्ष मुनिका छन। ति मध्य १२ किशोरीको सुत्केरीका समयमा जटिलता देखिएपछि अप्रेशन गर्नु परेको थियो। त्यसो त ठुलो संख्यामा २० बर्ष मुनिका बालबालिकाहरु गर्भ जाच गर्न र गर्भपतन गर्न आउने गरेको तथ्याङ्कले देखाएको छ।

जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु किशोरीहरु आमा बनेको देखेर दिक्क बनेका छन। ‘रोल्पामा बालबिबाहको चलन घटेको छैन। सामाजिक र सास्कृतीक चालचलन नफेरीएर पनि यस्तो भएको हुन सक्छ।’ जिल्ला अस्पतालका स्टाफ नर्स मिना कवर भन्छिन् ‘सानैमा बच्चा जन्माउदा पाठेघर परिपक्क भएको हुदैन। सुत्केरी हुन गाह्रो हुन्छ। पछि उमेर बढ्दै जादा पाठेघरको समस्या देखिने सम्भाबना रहन्छ।’ बालबिबाह र गर्भबतीका समयमा राम्रो संग स्वास्थ्यको ख्याल नगर्दा आज पनि रोल्पामा पाठेघर खस्ने समस्याले महिलाहरु आक्रान्त छन्।

ढिलो बिबाह गरे पछिको बेफाईदाका बारेमा जानकारी नै नपाएका रोल्पालीहरु सानोमा बिहे गर्ने र बच्चा जन्माउनेलाई सहज मान्छन्। परम्परागत चलन, जनचेतनाको कमि र बालबिबाहका बारेमा छलफल नचलाउनु बालबिबाहको मुख्य कारण देखिएको छ। उमेर नपुग्दै समान उमेर समुहका किशोर किशोरीले भागेर बिबाह गर्ने पुरानो चलन आज पनि रोल्पाका गाउँगाउँमा यथावत छ। बालबिबाह पछिको दुस्परिणामका बारेमा प्रयाप्त जानकारी प्रबाह हुन नसक्दा समस्या झनै बल्झिरहन्छ।

बालबिबाहलाई कानुनी रुपमा अपराध मानिएको भए पनि गत आर्थिक बर्षमा प्रहरीमा एउटा पनि उजुरी परेको छैन्। गाउँ अनि टोलमा रहेका जनप्रतिनिधिलाई जानकारी भए पनि उनिहरुले प्रहरीलाई उजुरी गर्ने गर्दैनन्। त्यसो त कहिले काहि जानकारी पाए पनि प्रहरीले समेत बालबिबाहका घटना सकेसम्म गुपचुप रहोस भन्ने चाहान्छ। दिनेश सुवेदीले नागरिक दैनिकमा लेखेका छन् ।

प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस