अस्ताए असल कम्युनिष्ट नेता

७ साउन, रोल्पा । पूर्वसांसद बरमान बुढाको निधन भएको छ । पाटन अस्पतालमा आन्द्रामा भएको क्यान्सरको उपचार गराई रहेका बुढाको ९० वर्षको उमेरमा बुधबार विहान ४ः३० बजे निधन भएको हो ।

मुखिया, प्रधानपंच हुँदै प्रतिनिधि सभा सदस्य समेत भएका सांसद बुढाको २०५२ सालको सशस्त्र युद्ध पछि भने राजनीतिमा कृयाशिलता थिएन । कठिन परिस्थतिमा समेत रोल्पामा कम्युनिष्ट पार्टी निर्माण गरेको भन्दै रोल्पाका माओवादी घटक नेता बुढालाई आदर्श मान्ने गर्दछन ।

२०१३ सालमा थबाङीहरु मोहनविक्रम सिंह र खगुलाल गुरुङको पहलमा कम्युनिष्ट पार्टीमा संगठित भएका थिए । जसको पहलकर्ता थिए, बरमन बुढामगर । कम्युनिष्ट पार्टी माथि प्रतिबन्ध लगाइएको तत्कालिन अवस्थामा किसान संगठनको नामबाट उनीहरु कम्युनिष्ट पार्टीमा संगठित भएका थिए जसको अगुवाई बरमन बुढाले गरेको थवाङका पुराना कम्युनिष्ट नेता पूर्णबहादुर रोकाले ऐतिहासिक थबाङ नामक पुस्तकमा उल्लेख गरेका छन् ।

२०४८ सालमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बरमन रोल्पा निर्वाचन क्षेत्र नंं १ को उम्मेदवार बनेका थिए । रोल्पा निर्वाचन क्षेत्र नं. १ मा घर भएका महरा निर्वाचन क्षेत्र नं.२ का उम्मेदवार बनेका थिए । निर्वाचन क्षेत्र नं. २ थबाङ घर भएका बरमन बुढा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार बनेका थिए । सबै वाम एक ठामको नीति अनुसार राप्ती अञ्चलका ५जिल्लामा तत्कालिन नेकपा एमालेसँग चुनावी तालमेल गरेको संयुक्त जनमोर्चाले रोल्पा निर्वाचन क्षेत्र नं. १ मा थबाङका पुराना कम्युनिष्ट नेता बरमन बुढालाई उम्मेदवार बनाएको थियो ।

चौधौं शताब्दीमा छापकोटे राजा र सत्रौं शताब्दीमा रुकुमकोटे राजालाई घोडाबाट खसालेर राज्य विरोधि कित्तामा उभिएको थवाङले एक्काईसौं शताब्दीमा आई पुग्दा समेत आफ्नो पुरानो विरासतलाई कायमै गरेको देखिन्छ । देशमा भएका ठूलाठूला परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको थवाङ परिवर्तन पछि भने सधै सत्ताको विपक्षमै रह्यो ।

माध्यमिक शिक्षक पदबाट राजीनामा दिएर चुनावी मैदानमा आएका महरालाई निर्वाचन जिताउनु पर्ने बाध्यता रहेको तत्कालिन पार्टी कमिटीले रोल्पा निर्वाचन क्षेत्र नं. १को तुलनामा निर्वाचन क्षेत्र नं. २ मा विजयको आधारबढी भएकाले महरा निर्वाचन क्षेत्र नं. २ बाट र बुढा निर्वाचन क्षेत्रनंं १ बाट उम्मेदवार बनेका हुन । पंचायतकालिन धरोहर एवम पंचायतको ३० वर्ष माननीय भएका राप्रपा (थापा) का नेता बालाराम घर्ती मगरसँग प्रतिस्पर्धा गरि झण्डै १ हजार मतान्तरमा बुढाले निर्वाचन जितेका थिए ।

राप्ती अञ्चलको दाङका ३ वटा निर्वाचन क्षेत्र, सल्यानका २ र प्यूठानको १ निर्वाचन क्षेत्र गरि ६ वटा निर्वाचन क्षेत्रमा तत्कालिन नेकपा एमाले र रोल्पाका २, रुकुमका २ र प्यूठानको १ गरि ५ वटा निर्वाचन क्षेत्रमा तत्कालिन संयुक्त जनमोर्चा नेपालले उम्मेदवारी दिएको थियो । जसमध्ये नेकपा एमालेले दाङ निर्वाचन क्षेत्र नं. २ बाट शिवराज गौतम मात्रै निर्वाचित भएका थिए भने संयुक्त जनमोर्चाको तर्फबाट उम्मेदवार बनेका रोल्पा क्षेत्र नं. १ बाट बरमन बुढा, क्षेत्र नं. २ बाट कृष्णवहादुर महरा र रुकुम निर्वाचन क्षेत्र नं. १ बाट खड्गबहादुर बुढा निर्वाचित भएका थिए ।

वाईसे चौविसे राजा लालु शाही र कालु शाहीलाई थबाङबाट लखेटेसँगै राज्यसँग प्रतिरोधि भावना बोक्दै आएका उनीहरु प्रजातन्त्रको आगमन पछि २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा सबै भोट तत्कालिन कम्युनिष्ट पार्टीलाई दिएका थिए । २०३७ सालको जनमत संग्रहमा भने सबै भोट बहुदलमा खसालेको थिए । २०३८ सालको निर्वाचन बहिष्कार गरेको तथा बहुदलमा लागेकै कारण सोही वर्ष तत्कालिन शाही नेपाली सेनाबाट मेजर अप्रेशनको सामना गरेको थियो । यी सबै आन्दोलनको धुरी थिए बरमन बुढा ।

बहुदलिय व्यवस्था पुनरस्थापना सँगै २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा थबाङबाट ४ भोट मात्र खसेको थियो । माओवादीले संचालन गरेको सशस्त्र युद्धको उद्गम थलो मानिने थबाङले युद्ध कालमा भएका सबै निर्वाचन बहिष्कार ग¥यो । सात राजनैतिक दल र नेकपा माओवादी बीच भएको शान्ती सम्झौता पछि २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा थबाङले सवै मत तत्कालिन माओवादी पार्टीका सुप्रिमो पुष्पकमल दाहाललाई दिएको थियो । २०७० सालमा भएको दोश्रो संविधान सभा निर्वाचनमा शुन्य मतदानसँगै थबाङ पुनः एक पटक राष्ट्रिय अन्तराष्ट्रिय चर्चाको शिखरमा पुगेको थियो । २०७४ सालमा भएको प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन सम्म आउदा भने थवाङ एकढिक्का हुन सकेन । सशस्त्र जनयुद्धको सूरुआती देखी नै बरमन बुढाले सक्रिय अभिभावकत्व छोडेका थिए ।

संक्षेपमा बरमनको जन्मभूमि

चौधौं शताब्दीमा छापकोटे राजा र सत्रौं शताब्दीमा रुकुमकोटे राजालाई घोडाबाट खसालेर राज्य विरोधि कित्तामा उभिएको थवाङले एक्काईसौं शताब्दीमा आई पुग्दा समेत आफ्नो पुरानो विरासतलाई कायमै गरेको देखिन्छ । देशमा भएका ठूलाठूला परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको थवाङ परिवर्तन पछि भने सधै सत्ताको विपक्षमै रह्यो । मगर बाहुल्य थबाङ पछिल्लो पटक अन्य जातीको समेत मिश्रित वासस्थान बन्न पुगेको छ । दलित, ठकुरी, नेवारहरु पनि थबाङको बासिन्दा भएसँगै एकल जातीय बसोबास रहेको थवाङ अब बहुजातीय समाज बन्न पुगेको छ । समुन्द्री सतहबाट २ हजार मिटरको उचाईमा अवस्थीत थवाङ गाउँ समथर भूभागमा अवस्थीत छ ।

करिव १ हजार घरधुरी रहेको साविकको थबाङमा रहेको ३ वटा वडामा २२९ घरधुरी रहेका छन् । काठको फ्लेक र स्लेट ढुंगाले छाना छाएका गुजुमुज्ज र वाक्ला घरमा प्राचिन कला संस्कृती झल्कने हस्तकला समेत अंकित छन् । साविक थवाङ गाविसको ३ वटा वडा रहेको ठूलो गाउँलाई नै थवाङ भन्ने गरिन्छ । गाउँमा रहेका सबै बस्तीमा ढुंगा विछ्याएर गाउँलाई नै सफा सुग्घर राखिएको छ । शहिद स्मृती क्याम्पस,शहिद स्मृती पार्क समेत समुदायले संचालन र रेखदेख गरेका संरचना हुन ।

प्रकाशित मिति : २०७७ साउन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस