रोल्पा । अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रोल्पाले विद्यार्थीलाई मानव बेचबिखनविरुद्ध सचेतनामूलक प्रशिक्षण सञ्चालन गरेको छ।
रोल्पाको सदमुरकाम स्थित होलिभिजन अङ्ग्रेजी माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर मानव बेचबिखन विरुद्ध सचेतनामूलक कक्षा चलाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी सहायक निरीक्षक गणेश चन्दले विद्यार्थीलाई मानव बेचबिखन विरुद्ध र विद्यालयमा दुर्व्यसन विरुद्ध सचेतना मूलक प्रशिक्षण दिएका थिए । विद्यालयमा अध्ययनरत ६० जना भन्दा बढी विद्यार्थीहरूलाई प्रहरीले मानव बेचबिखन भनेको के हो ? यसले पार्ने प्रभाव ? लागूऔषध सेवन पश्चातका लक्षण, लागूऔषधमा फसेकालाई सुधार गर्न सकिने उपायका साथै लागूऔषधको सेवन, बिक्री वितरण तथा ओसारपसार गर्नेलाई प्रचलित कानुन र सजायको व्यवस्था बारेमा प्रहरी सहायक निरीक्षक चन्दले प्रशिक्षणमा दिएका थिए ।
लागूपदार्थ सेवन, मानव बेचबिखन तथा ओसारपसार कसरी हुन्छ भन्ने विषयमा ज्ञान हासिल गरेको विद्यार्थीहरूले बताएका छन् । समाजमा हुने विभिन्न किसमिसका अपराध जन्य कुरा, कानुनमा भएको सजायको व्यवस्थाका विषयमा समेत जानकारी भएको प्रशिक्षणमा सहभागि विद्यार्थीहरूले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय र विद्यालयको सहकार्यमा विद्यार्थीहरूलाई मानव बेचविखनबाट हुने हानी, बेफाइदा कार्यमा विद्यार्थी, विद्यालय र अन्य सरोकारवाला निकायले खेल्नुपर्ने भूमिका लगायतका विषयमा केन्द्रीत गरी प्रशिक्षण दिइएको होलिभिजन अङ्ग्रेजी मावि रोल्पाका प्रिन्सिपल ओम केसीले बताएका छन् ।