
१७ साउन, रोल्पा ।रोल्पामा कुटपिटका कारण एकजनाको ज्यान गएको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं. ६ डुब्रिङको सालडाँडाका २४ वर्षीय इश्वर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिए ।
रुन्टीगढी–६ सालबाङका ६५ वर्षीय गोठे बुढा दाङको हापुरबाट घर आउँदै गर्दा रुन्टीगढी गाउँपालिकाको झनझ्याङ खोलामा मृतक इश्वर बस्नेतले बुढाको साथमा रहेको पाँचहजार रुपैयाँ र हातमा लगाएको घडी लुटपाट गरेको प्रहरीले जानकारी दिएको छ ।
लुटपाटपछि घरमा पुगेर गोठे बुढाले स्थानीयलाई खबर गरेपछि राति स्थानीय १४ जनाको समूह मृतक इश्वर बस्नेतको घरमा पुगेको प्रहरीको भनाइ छ । घरमा पुग्दा बस्नेत झ्यालबाट हामफाली भाग्ने क्रममा उक्त समूहले नियन्त्रणमा लिई कुटपिट गरेको बुझिएको छ ।
कुटपिटबाट घाइते इश्वर बस्नेतलाई सोही समूहले स्वास्थ्य चौकी डुब्रिङमा उपचारका लागि लगेको र थप उपचारका लागि दाङ लैजाँदै गर्दा शनिबार बिहान १० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले रुन्टीगढी गाउँपालिका वडा नं. ६ सालबाङका ६ जनालाई नियन्त्रणमा लिएको र अन्यको खोजी भइरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।