कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

१८ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक गरिएको नतिजाअनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन्।

बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण (ननग्रेडेड) भएका छन्। नतिजा सार्वजनिक भएपनि अनलाइनमा अपलोड हुन भने केही समय लाग्ने बोर्डले जनाएको छ।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका थिए। जसमा ३ लाख ९० हजार नियमिततर्फ परीक्षार्थी सहभागी थिए।

७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो। यो वर्ष पहिलो पटक काठमाडौँ जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो।

देशभरबाट ५ हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए। गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको छ।

प्रकाशित मिति : २०८१ साउन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस