लुंग्री गाउँपालिकाको पुँजीगत खर्च ८६.२२ प्रतिशत

तस्विर: लुंग्री गाउँपालिकाको सचिवालय

२७साउन, रोल्पा । लुंग्री गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजित बजेट ४७ करोड २१ लख ९ हजार १ सय ५० रुपैयाँमा ४० करोड ५३ लाख ६७ हजार ७८९ रुपैँया अर्थात् ८६.६ प्रतिशत खर्च गरेको छ । सो कुरा गाउँपालिकाले गत आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेर जानकारी दिएको हो ।

जसमा चालुतर्फ विनियोजित ३० करोड ९५ लाख ८० हजारमा २६ करोड ४० लाख २० हजार १ सय ५५ अर्थात् ८५.२८ प्रतिशत खर्च गरेको छ । पुँजीगत खर्चतर्फ कुल विनियोजित बजेट १६ करोड ३९ लाख २९ हजार १ सय ५० मा १४ करोड १३ लाख ४७ हजार ६४३ अर्थात् ८६.२२ प्रतिशत खर्च गरेको छ ।

गाउँपालिकालाई संघ र प्रदेश सरकारबाट विभिन्न शिर्षकमा प्राप्त अनुदान प्राप्त भएकोमा संघिय सरकार समानिकरण अनुदानतर्फको कुल बजेट ८ करोड ८० लाखमा ८ करोड ७ लाख ४८ हजार खर्च भएको छ । जुन कुल रकमको ९१.७ प्रतिशत हो ।

संघिय सरकारको सशर्त अनुदान चालुतर्फबाट प्राप्त कुल १७ करोड ८७ लाख ११ हजारमा १७ करोड ७० लाख ६५ हजार अर्थात् ९९.१ प्रतिशत र पुँजीगततर्फ प्राप्त २ करोड ४३ लाख २५ मा सतप्रतिशत खर्च भएको छ । संघिय विशेष अनुदानबाट प्राप्त कुल ३ करोड बराबरको रकममा पनि सतप्रतिशत बजेट खर्च भएको छ ।

त्यस्तै लुम्बिनी प्रदेश सरकार विशेष अनुदानतर्फ गाउँपालिकालाई प्राप्त २० लाखको बजेटमा १५ लाख ६६ हजार अर्थात् ७८.३ प्रतिशत खर्च भएको छ ।

समानिकरण अनुदानबाट प्राप्त ५६ लाख ३९ हजार मा सतप्रतिशत खर्च भएको छ । सशर्त चालु अनुदान तर्फ प्राप्त कुल ३० लाखमा २९ लाख अर्थात् ९६.६७ प्रतिशत खर्च भएको छ । शसर्त अनुदान पुँजीगत तर्फ प्राप्त कुल ८५ लाख मध्ये ५७ लाख २८ हजार अर्थात् ६७.०५ प्रतिशत खर्च भएको छ ।

समपुरक अनुदानतर्फ पालिकालाई प्राप्त कुल ७० लाखमा ४९ लाख ५० हजार अर्थात् ७०.७१ प्रतिशत खर्च भएको छ । संघिय राजस्व बाँडफाँड तर्फ प्राप्त १० करोडमा ८ करोड ९२ लाख ६१ हजार अर्थात् ८९.२ प्रतिशत खर्च भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लेपेन्द्रबहादुर बुढाथोकीले जानकारी दिए ।

त्यस्तै प्रदेश सरकार राजस्व बाँडफाँड तर्फ पालिकालाई ५१ लख ९२ हजार अनुमान गरिएकोमा ५९ लाख ५१ हजार प्राप्त भएको छ । जुन लक्ष्यको ११४.६२ हो ।

आन्तरिक स्रोततर्फ पालिकाले ५४ लाख ४२ हजारको लक्ष्य राखेकोमा ७० लाख २१ हजार संकलन भएको छ अर्थात् १२९ प्रतिशत राजस्व संकलन गरेको छ । बैंक मौज्दात १ करोड ५८ लाख वार्षिक अनुमान गरिएकोमा १ करोड ५६ लाख १८ हजार रहेको छ ।

प्रकाशित मिति : २०८२ साउन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस