सङ्कटमा पुर्ख्यौली पेसा, कसैले देखाएनन् संरक्षणमा चासो

३० साउन, रोल्पा । प्राचीन समयदेखि गाउँघरमा जिविकोपार्जनका निमित्त गरिदै आएका पुर्ख्यौली पेशाहरू पछिल्लो समय सङ्कटमा पर्न थालेका छन् । आधुनिक प्रविधिको प्रयोगमा वृद्धि हुन थालेपछी आरन, माटोको भाडा बनाउने, काठबाट भाडा बनाउने, जाँतो बनाउने लगायतका पुर्ख्यौली पेशाहरू सङ्कटमा परेको हो ।

रोल्पाको सुनिलस्मृती गाउँपालिका–७ तेबाङका केशरमान कामीको पुर्ख्यौली पेसा आरन हो । उमेरले ६० वर्ष कटेका केशरमान अहिले पनि दैनिक रुपमा आरनमै हुन्छन् । जसोतसो आरनबाटै जिविकोपार्जन गरिरहेका उनले पछिल्लो समय यसबाट जिविकोपार्जनमा समस्या भएको बताउँछन् । ‘आरनबाट जिविकोपार्जन गर्न गाह्रो छ’ केशरमान भन्छन्, ‘पछिल्लो समयमा बजारकै उपकरणको प्रयोग बढी भएको कारण यस्तो अवस्था आएको हो ।’

आधुनिक प्रविधिको प्रयोगमा वृद्धि हुन थालेपछी पुख्र्यौली पेशाबाट जिविकोपार्जन गर्न गाह्रो भएको छ । साथै पुर्ख्यौली पेशाहरू सङ्कटमा पर्दा एक पुस्ताबाट अर्को पुस्तामा सीप हस्तान्तरणमा समेत चुनौती देखिएको छ । यसले गर्दा प्राचीन समयदेखि गरिदै आएका पेशाहरू नै सङ्कटमा पर्ने देखिएको छ ।

पुर्ख्यौली पेसाबाट मनग्य आम्दानी गर्न नसकिने भएकाले आफूभन्दा पछिका छोरा–नातीहरुले यस व्यवसाय प्रति खासै चासो नदिएको केशरमान बताउँछन् । यसबाट खासै आम्दानी नभएको कारण छोराहरू विदेशिएको पीडा सुनाउँछन् । ‘बाबु बाजेले आरनबाटै सहजै जिविकोपार्जन गरेका थिए । पछिल्लो समय यस पेशाबाट जिविकोपार्जन गर्न सकिने अवस्था आएन’ केशरमानको दुखेसो छ । आफ्नो ५ सन्तान मध्ये २ छोरा विदेश गएका छन् । हातमा सीप भएर पनि राम्रो आम्दानी नहुँदा सन्तान विदेशिनु परेकोमा उनी चिन्तित छन् ।

केशरमान जस्तै सुनिलस्मृति गाउँपालिका वडा नम्बर ३ रुइनिबाङमा पुर्ख्यौली पेसा आरन व्यवसाय गर्दै आएका कुल बहादुर विकले पनि पहिले भन्दा पछिल्लो समय व्यवसाय कमजोर हुँदै गएको बताउँछन् । बजारमा सबै सामान तयारी अवस्थामा उपलब्ध हुन थालेपछी आरन पेसामा समस्या पर्न थालेको उनको भनाई छ । पुर्ख्यौली पेसा सङ्कटमा पर्नुमा विशेष गरी यसको संरक्षणमा कुनै निकायको खासै चासो नहुँदा पनि समस्या भैरहेको उनको आरोप छ ।

सानैदेखि आरन व्यवसाय गर्दै आएका बिक अहिले ७० वर्षको भए । उनले फलामबाट विभिन्न घरायसी सामग्रीहरू बनाउछन् । ‘हातमा सीप छ तर बजार राम्रो छैन् । धेरै मेहेनत गरेर सामग्रीहरू तयार पाछाैँ । तर, भनेजस्तो मूल्य पाउनै मुस्किल हुन्छ’, उनले भने ‘अब आरन व्यवसाय गरेर जिविकोपार्जन गर्न धौ धौ भएको छ ।’ आरनबाट आम्दानी हुन छाडेपछि धेरैले दोस्रो विकल्प खोजिसके पनि आफू भने अरु काम गर्न सक्ने उमेर पनि नभएका कारण अर्को विकल्प रोज्न नसकेको उनको भनाई छ ।

विगत केही वर्षयता पूर्वी रोल्पाको मुख्य व्यापारिक केन्द्र सुलिचौर नजिकैको लुङ्ग्री खोलाको तिरमा पावल र पवन बिक काठबाट भाडा बनाउने काम गरिरहेका छन् । यो उनीहरूको पुर्ख्यौली पेसा हो । उमेरले करिब ३० नाघेका बिक दाजुभाइको यो पेसा जिविकोपार्जनको मुख्य आधार भने बन्न सकेको छैन । दाजुभाईले फुर्सदको समयमा मात्र काठबाट भाडा बनाउने सीपको सदुपयोग गर्दै आएका छन् । काठबाट भिविन्न डिजाइनका सामाग्री तयार गर्ने उनीहरूको सीपले उचित बजार पाउन सकेको छैन ।

काठबाट ठेकी, चक्ला, बेल्ना, वटल कोठा सजाउनको लागि विभिन्न सामग्री र वस्त बनाउन सकिन्छ ।  बजारमा प्रशस्त मात्रामा आल्मुनियम र प्लास्टिकबाट  तयार गरिएका सामग्रीहरु उपलब्ध हुन थालेपछी काठको भाडा सङ्कटमा परेको पावल विकले बताए । काठबाट बन्ने भाडामा मेहनत बढी हुन्छ ।

मेहेनत अनुसार आम्दानी उठाउन साह्रै गाह्रो परेको पावलको अनुभव छ । सरकारले स्थानीय स्तरमा उत्पादन भएका सामग्रीलाई प्राथमिकता नदिनु र वजारिकरणका लागि समन्वय नगर्दा पनि स्थानीय उत्पादनले बजार पाउन नसकेको उनीहरूको आरोप छ । 

पछिल्लो समयका युवा पुस्ताले पुर्ख्यौली पेसा सिक्न खोज्दैनन् । उनीहरुलाई पुर्ख्यौली पेसाबाट केही हुन्न भन्ने लागेको छ । पुर्ख्यौली पेसाप्रति युवाहरुको आकर्षण घट्दै गएको छ । स्थानीय प्रदेश र संघ गरी तिनै तहका सरकारले पुर्ख्यौली पेसाको संरक्षणमा जोड दिन आवश्यक छ ।

पुर्ख्यौली पेसाबाट पनि जिविकोपार्जन गर्न सक्ने वातावरण मिलाउन सके आर्थिक विकास र रोजगारीमा समेत सहयोग पुग्ने थियो । स्थानीय तहले पुर्ख्यौली पेसाबाट उत्पादनको प्रयोग र बजारीकरणमा सघाउन आवश्यक छ । साथै, पुर्ख्यौली पेसाको संरक्षण गर्दै आधुनिक प्रविधिसँग जोड्न पनि आवश्यक छ । 

प्रकाशित मिति : २०८१ साउन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस