बाल विवाह अन्त्यका लागि साझा सङ्कल्प जरुरी

नेपालमा बाल विवाह बहुआयमिक समस्याको रुपमा रहेको छ । बाल विवाहलाई समाजले सामान्य रुपमा लिनुका कारण यसले समाजमा पारिरहेको बहुपक्षीय असरबारे पनि उत्तिसारो चिन्तन गरिएको पाइदैन । नेपालको कानूनले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह मानी निषेध गरेको भएपनि बाल विवाह न्यूनिकरण हुन सकिरहेको छैन । बाल विवाहकै कारण शारीरिक र मानसिक स्वास्थ्यमा प्रतिकूल असर त पारेकै छ । उच्च मातृमृत्यु र जन्ममृत्यु दरलाई समेत बढाईरहेको छ । बाल विवाहकै कारण उनीहरूको शिक्षा प्रभावित हुने गरेको छ । शिक्षा आर्जनमा असर पुगेपछि बेरोजगारी बन्नुपर्ने अवस्थाले जोखिमपूर्ण श्रम गर्नुपर्ने भैरहेको छ । आर्थिक उत्पाकत्वमा कमी, घरेलु तथा लैङ्गिक हिंसाका दुष्परिणाम समाजले झेल्दै आईरहेका छ । बाल विवाहकै कारण वर्षेनी सम्बन्ध विच्छेदका घटना पनि बढिरहेका छन् । पढ्नु पर्ने उमेरमा विवाह गर्ने र विवाह गर्नुपर्ने उमेरमा कतिपयले सम्बन्ध विच्छेद गर्न विवश भैरहेका उदाहरण बग्रेल्ती छन् । बाल विवाहले गर्दापनि नेपाल विकासोन्मुख देशबाट विकसित देश बन्नमा कठिन हुने देखिन्छ ।

सन् २०१४ मा बेलायतमा सम्पन्न उच्चस्तरीय शिखर सम्मेलनमा नेपालले सन् २०३० सम्ममा नेपालबाट बाल विवाहको अन्त्य गर्ने प्रतिवद्धता जाहेर गरेको थियो । बाल विवाह अन्त्य सम्बन्धी राष्ट्रिय रणनीति २०७२ समेत जारी गरिएको छ । रणनीति अनुसार सन् २०३० सम्ममा नेपाललाई बाल विवाह मुक्त घोषणा गर्ने भनिएको छ । लुम्बिनी प्रदेशले समेत दश वर्षे रणनैतिक योजना बनाएर सन् २०३० सम्ममै लुम्बिनी प्रदेशलाई पनि बाल विवाह मुक्त गर्ने भनिएको छ । मुलुकी देवानी संहिता २०७४ ले विवाहको लागि पुरुष वा महिलाको कम्तीमा २० वर्ष उमेर पुरा भएको हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तो उमेर नपुगेका बीच विवाह गर्न वा गराउन नहुने र यदि विवाह गरेमा स्वतः बदर हुने व्यवस्था छ । मुलुकी अपराध संहिता २०७४ ले पनि २० वर्ष नपुगी बाल विवाह गरेमा स्वतः बदर हुने र कसुर गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्म जरिवाना हुने व्यवस्था गरेको छ । संविधान, ऐन, कानून, रणनीति, कार्यविधिमा बाल विवाह गर्न नहुने र गरेमा सजाय हुने व्यवस्था भएपनि बाल विवाह भईरहेका छन् ।

लुम्बिनी प्रदेशको १२ जिल्ला मध्ये रोल्पा जिल्लामा पनि बाल विवाहको दर उच्च रहेको तथ्याङ्कले देखाएको छ । २०७८ सालको जनगणना अनुसार रोल्पा जिल्लामा ४२.२ प्रतिशतको बाल विवाह गर्ने गरेका छन् । तथ्याङ्कले गङ्गादेव गाउँपालिकामा सबैभन्दा बढी ५२.४ प्रतिशत बाल विवाह हुने गरेको देखाउँछ । त्यसैगरी त्रिवेणी गाउँपालिकामा ३९.६ प्रतिशत छ । जो जिल्लाको दश पालिका मध्येमा सबैभन्दा कम हो । परिवर्तनमा ४२.९%, लुङ्ग्रीमा ४४%, माडीमा ४४%, रोल्पा नगरमा ४२.३%, रुन्टीगढीमा ४१.३%, सुनछहरीमा ४१.५%, सुनिलस्मृतिमा ४६.६% र थबाङ गाउँपालिकामा ४०.७ % को बाल विवाह भएको जनगणनाको तथ्याङ्कमा उल्लेख छ । यि तथ्याङ्कले रोल्पा जिल्ला बाल विवाहको जोखिममै छ भन्ने देखाउँछ । स्वास्थ्य संस्थामा २० वर्ष भन्दा कम उमेरका बालिका गर्भ जाँच गर्न र सुत्केरी हुन आउने गरेको तथ्याङ्कले पनि बाल विवाहको दुरावस्था देखाउँछ ।

कतिपय पालिका र वडाले बाल विवाह अन्त्यका लागि विगतदेखि नै प्रयास समेत गर्दै आईरहेका छन् । ति पालिका धन्यवादका हकदार छन् नै । अवको खाँचो भनेको जिल्लाको सबै पालिकाले साझा एजेण्डाका रुपमा बाल विवाहलाई अन्त्य गर्ने सोंच निर्माण गर्नु हो । सबै सरोकारवालाको सहभागितामा एकिकृत अभियान र सार्थक हस्तक्षेप सहित सन् २०३० सम्म रोल्पा जिल्लालाई बालविवाह मुक्त घोषणा गर्ने गरी साझा सङ्कल्प सहितको प्रतिवद्धता जाहेर गर्न अब ढिला गर्न हुन्न ।

प्रकाशित मिति : २०८१ साउन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस