‘बढुवा र नम्बर’ थाप्न दुर्गममा सरुवा

३१ साउन, रोल्पा। रोल्पा जिल्ला निजामती कर्मचारीहरुका लागि बढुवा हुने र दुर्गम बसे बापतको नम्बर ल्याउने थलोका रुपमा बिकास हुन थालेको छ। आन्तरिक बढुवा खुल्नु भन्दा केहि दिन अगाडि सरुवा मिलाएर हाजिर हुन आउने र बढुवा भएको केहि महिना मै सुगम जिल्ला जाने चलन निरन्तर चलिरहेको छ। अर्को तिर अधिकृत स्तरका कर्मचारीका लागि दुर्गम बसे बापत ४ नम्बर आउने भएका कारण रोल्पा सरुवा गराउने अनि काज मै सुगम तिर बसेर नम्बर पुर्‍याएर उतै सरुवा मिलाउने चलन समेत निरन्तर चलिरहेको छ।

बढुवा बिज्ञापन हुनु भन्दा केहि दिन अगाडि पावर र पैसाको चलखेल गर्दै फुटकर सरुवा गराएर बिभिन्न मन्त्रालयबाट कर्मचारीहरु जिल्ला भित्रिन थालेपछि रोल्पा मै बसेर वर्षौ काम गरेका कर्मचारीहरु निरास बन्ने गर्दछन्। ‘हामी वर्षौ दुर्गममा बसेर काम गर्ने तर बढुवाको पालो आउदा केहि दिनले सिनियर भएकाहरु सुगमबाट सरुवा गराएर ल्याईन्छ।’ एक कर्मचारी भन्छन्, ‘पावर र पैसाको भरमा मन्त्रालयले बढुवा खुल्नु भन्दा केहि दिन अगाडि फुटकर सरुवा गर्ने गर्दछ। सरुवा र बढुवामा कुनै निश्चित मापदण्ड छैन भने भएका बिधि पनि मिच्ने गरिन्छ।’

गत चैतमा बढुवा हुनुभन्दा ३ देखि ७ दिन अगाडि आएर हाजिर भई बढुवा भएका ३ जना सुब्बा स्तरका कर्मचारी असार मै सरुवा मिलाएर फर्किसकेका छन्। बढुवा खुल्नुभन्दा केहि दिन अगाडि आएकी नारायणी खड्का, भुपेन्द्र अधिकारी र अर्का सुब्बा लक्ष्मण केसि असार लाग्दा नलाग्दै आफूलाई पायक पर्ने स्थानमा गएका हुन। उनिहरु जिल्लामा बढुवा खान आए पछि जिल्लामा वर्षौ काम गरेका अन्य कर्मचारीहरु पछाडि परेका छन्।

दुर्गममा नबसेरै पैसा र पावरमा बढुवा खाने चलन बढेपछि कर्मचारीहरुमा नैराश्यता बढेको हो। ‘हरेक वर्ष यस्तै हुन्छ। पहुँच नहुनेहरुलाई सधै समस्या हुन्छ।’ एक कर्मचारी भन्छन् ‘यसपालि लकडाउनका कारणले चैत ७ मा सिफारीस भएकाहरु असारसम्म बसे नत्र त एक महिनामै सरुवा भएर गईहाल्छन्।’ भए गरेका सबै बिधि मिचेर मन्त्रालय र बिभागले बढुवाको समय मिलाएर सरुवा गरिदिएको विषयमा कर्मचारी नेतृत्व पनि भाबन्डा गरेका कारण मौन बसिदिन्छन्।

‘यसरी बढुवाका लागि सरुवा गर्नु राम्रो होईन। लामो समय दुर्गममा सेवा गर्नेहरु माथि अन्याय हुन्छ।’ नेपाली कांग्रेस निकट नेपाल निजामती युनियनका रोल्पाका अध्यक्ष हेमन्त आचार्य भन्छन् ‘बिभिन्न चलखेलमा हुने यस्ता सरुवाका विषयमा सम्बन्धित पक्ष गम्भिर हुनु पर्छ ।’ उनी जस्तै सरकारी नेकपा निकट नेपाल निजामती कर्मचारी संगठन कार्यबाहक अध्यक्ष हिमाल घर्तीमगर पनि बढुवालाई टार्गेट गरेर गरिने सरुवा बिधि संगत नभएको बताउँछन्। ‘सरुवा र बढुवाका विषयमा निजामती सेवा ऐन नै त्रुटिपुर्ण छ। मन्त्रालय, बिभाग वा सरुवा गर्ने निकायले यस्ता गतिबिधि रोक्नु पर्छ। निश्चित मापदण्ड हुनु पर्छ।’

कर्मचारी नेतृत्वका अनुसार कतिपय अबस्थामा मन्त्रालयले अगाडिको मितिमा समेत सरुवा गर्दछ। ‘अतिथि कर्मचारीका रुपमा बढुवाका लागि दुर्गम आउने अधिकांश कर्मचारी राजनीतिमा पोख्त हुने गर्दछन् भने केहि आर्थिक चलखेल गरेर आउने गरेका हुन्छन्।’ त्यसो त यहाँका बिभिन्न कार्यालयहरुमा आउने अधिकृत स्तरका कर्मचारीहरु पनि खुलेयाम दुर्गम नम्बर ल्याउन रोल्पा आएको बताउँछन्। ‘रोल्पा आउन र बस्नलाई ठिकै छ । यहाँ एक वर्ष बस्ने हो भने कर्णाली बसे बराबरको ४ नम्बर पाईन्छ।’ अधिकृत स्तरका एक कर्मचारी भन्छन् ‘कर्मचारीका लागि रोल्पालाई सरकारले दुर्गम मानेका कारण यहाँ कर्मचारीहरु आउछन् नत्र त को आउथ्यो र।’

जिल्ला आउने बेलैमा बाटोभरि बढुवा तथा दुर्गम नम्बरका लागि रोल्पा भित्रिन परेको कल्पनामा आउने निजामतीहरु सेवा भाव भन्दा पनि आफ्नो स्वार्थ सिद्धिका विषयमा मात्र चल्ने गर्दछन्। जिल्लाको कर्मचारी ईतिहास हेर्ने हो भने आजसम्म अधिकांश अधिकृत वा उपसचिबहरु दुर्गम नम्बरका लागि मात्र आउने गरेको पाईन्छ। नागरिक दैनिकबाट साभार

प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस