
१ भदौ, रोल्पा । रोल्पाको लिबाङ स्थित टुडिखेलमा बनेको बाल तथा अपाङ्गमैत्री सार्वजनिक शौचालयको शुक्रबार उद्घाटन गरिएको छ । रोल्पा नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको सार्वजनिक शौचालयको नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्तीले उद्घाटन गरेका हुन्।
नगरपालिकाकाे १५ लाख रुपैँयाको लागतमा शौचालयको निर्माण गरिएको हो। सार्वजनिक शौचालयलाई नगरपालिकाले नियमित र दीर्घकालीन रुपमा सञ्चालन गर्ने नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्तीले बताए । लिबाङ बजारमा सार्वजनिक शौचालय अभावकै कारण भोग्नुपर्ने समस्याको समाधान भएको उनले बताए ।
टुडिखेल सहित लिबाङ बजारका विभिन्न ठाउँमा खाने पानीको धारा पनि जडान गर्ने मेयर घर्तीले बताएका छन् । उनले रोल्पा नगरपालिका वडा नम्बर ४ लिबाङलाई शौचालय सञ्चालन तथा व्यवस्थापनको आगामी जिम्मेवारी सुम्पँदै वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरुङलाई शौचालयको साँचो समेत हस्तान्तरण गरेका छन्।
बाल तथा अपाङ्गमैत्री शैचालयको सर्वसाधारण सबैले निःशुल्क प्रयोग गर्न पाउने नगरपालिकाले जनाएको छ ।