८भदौ, रोल्पा । ट्राफिक नियम उल्लंघन गर्नेहरूबाट कारबाही स्वरुप जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले एक आर्थिक वर्षको अवधिमा झन्डै ५० लाख बराबरको राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ को अवधिमा ४९ लाख ९६ हजार राजस्व सङ्कलन गरेको हो । कार्यालयले सवारी साधन चलाउँदा सवारी नियम उल्लंघन गर्ने चालकलाई विभिन्न शीर्षकमा कारबाही गर्दै सो परिणाममा राजस्व सङ्कलन गरेको जनाएको छ ।
नियम उल्लंघन गर्ने ४ हजार ३ सय ३७ वटा विभिन्न सवारी साधनको चालकहरूलाई नियम उल्लंघन गरे बापत कारबाही गरेको जनाएको छ । गत आर्थिक वर्षको अवधिमा बस २ सय ४८, ट्रक २ सय ९१, जिप, कार र भ्यान १ हजार १ सय ५२, ट्याक्टर ४ सय ९, मोटरसाइकल ६ सय ४४ र अन्य १ हजार ५ सय ९२ सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले जनायो ।
एक आर्थिक वर्षको अवधिमा बस २४८ कारबाहीमा पर्दा २ लाख ७७ हजार पाँच सय, ट्रक २ सय ९१ वटा कारबाही पर्दा ३ लाख २७ हजार, जिप कार र भ्यान १ हजार १ सय ५२ वटा कारबाही पर्दा ११ लाख ६४ हजार पाँच सय, ट्याक्टर ४ सय ९ वटा कारबाही पर्दा ३ लाख ४४ हजार, मोटरसाइकल ६ सय ४४ कारबाही गर्दा ७ लाख ४४ हजार र अन्य १ हजार ५ सय ९२ सवारी साधन कारबाहीमा पर्दा ३१ लाख ३९ हजार राजस्व सङ्कलन भएको हो । जिल्लामा मोटसाइकल बढी कारबाहीमा परेको देखिएको छ ।
कारबाही पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, ट्राफिक नियम उल्लंघन गर्ने, तीब्र गतिमा सवारी चलाउने, सिटबेल्ट तथा हेलमेट नलगाउने, क्षमताभन्दा बढी यात्रुहरू राखेर गाडी चलाउने, लगायत रहेको ट्राफिक कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले गत आर्थिक वर्षको साउन महिनामा ३ सय ८८ सवारी साधन कारबाहीबाट ३ लाख ८६ हजार, भदौमा ३१२ सवारी कारबाहीबाट ३ लाख ५२ हजार, असोजमा ३८२ सवारी कारबाहीबाट ४ लाख ३७ हजार, कार्तिकमा ३९४ सवारी कारबाहीबाट ४५ लाख १० हजार राजस्व सङ्कलन गरेको छ ।
त्यस्तै मंसिरमा ३ सय ३३ सवारी कारबाहीबाट ३ लाख ८३ हजार, पुसमा ३ सय ६ सवारी कारबाहीबाट ३ लाख ३० हजार, माघमा ३ सय ३० सवारी कारबाहीबाट ३ लाख ८६ हजार, फागुनमा ३ सय ७२ सवारी कारबाहीबाट ४ लाख ६९ हजार, चैतमा ४ सय २४ सवारी कारबाहीबाट ४ लाख ८४ हजार, बैशाखमा ३ सय ४७ सवारी कारबाहीबाट ४ लाख १६ हजार, जेठमा ३ सय ४२ सवारी कारबाहीबाट ४ लाख १३ हजार र असार ४ सय ७ सवारी कारबाहीबाट ४ लाख ८७ हजार परिणाममा राजस्व सङ्कलन गरेको जनाएको छ ।


