असोजभित्रै त्रिविको स्थगित परीक्षा सञ्चालन गर्ने तयारी

१० भदौ,काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ ।

विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै बन्द हुने भएपछि त्यसलाई सहज बनाउने उद्देश्यले जुनसुकै विकल्पबाट पनि परीक्षा लिने तयारीमा विश्वविद्यालय पुगेको हो ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्रा।डा। डिल्लीराज शर्माले स्थगित परीक्षा लिने विषयमा आफूहरू अन्तिम निर्णयमा पुगेको जानकारी दिए । खासगरी स्नातकोत्तर तहका सेमेस्टरमा केही विषय परीक्षा दिएका र केही बाँकी रहेका विद्यार्थीको हकमा निकास निकाल्ने निर्णय विश्वविद्यालयका पदाधिकारी तथा डिनहरूको बैठकले गरेको छ ।

व्यवस्थापन सङ्कायको स्नातकोत्तर तहको चौथो सेमेस्टरमा विद्यार्थीले २ विषयको परीक्षा दिएका थिए भने २ विषय बाँकी थियो । यो अवस्थामा विद्यार्थीको परीक्षा रोकिँदा शैक्षिक सत्र बिग्रनुका साथै माथिल्लो अध्ययनमा समेत अवरोध हुने भएपछि बाटो खोल्ने तयारी भएको हो ।

धेरै विद्यार्थीले आफ्नो भविष्य डामाडोल भएको र थप करियर बन्द भएको गुनासो गरेपछि विकल्प खोल्ने दबाब विश्वविद्यालयका पदाधकिारीलाई परेको थियो । आजको गोरखापत्र दैनिकबाट

 

प्रकाशित मिति : २०७७ भाद्र १० गते बुधवार
प्रतिक्रिया दिनुहोस