सम्पादकीय

हाटबजार विस्तार गर

रोल्पामा लाग्ने हाटबजारले किसानको उत्पादन बिक्रीवितरणमा सहजता ल्याउन थालेको छ । आफूले गरेको उत्पादनले बजार पाउने भएपछि किसानले उत्पादन वृद्धि गर्न र व्यवसायिक खेतीलाई बढावा दिन थालेका छन् । हाटबजारबाटै सबै उत्पादन बिक्रीवितरण हुने अवस्थाले किसानलाई हौसला मिल्नु स्वभाविक हो ।

 रोल्पाको होलेरीमा सञ्चालन भइरहेको हाटबजारबाट दुई महिनायता भएको कारोबारलाई मात्र हेर्दा पनि निकै उत्साहजनक छ । असार मसान्तयता ९ करोड ५० लाख कारोबार भएको तथ्याङ्क आएको छ । यो कारोबार अन्यत्रका लागि सामान्य र थोरै रकम मान्न सकिएला । तर, रोल्पाको लागि निकै ठूलो रकम हो । होलेरी क्षेत्रका किसानको घरघरमा पुगेको रकम हो यो । यसको निकै महत्व छ । महत्वको सवाल किसानले गरेको श्रमको मूल्य हो । यहीँको माटोमा हुने श्रम र उत्पादनले हो देश बन्ने । मुलुकको अर्थतन्त्र सुध्रिने । किसानले आफूले गरेको उत्पादनले बजार पाउने भएपछि उत्पादनलाई बढावा दिन्छन् नै । जो होलेरी क्षेत्रमा हुँदैछ ।

 पछिल्लो समय रोल्पाको बुढागाउँमा पनि हाटबजार लाग्ने गरेको छ । रोल्पाको सदरमुकाम लिबाङमा पनि हप्तामा एक दिन आइतबार हाटबजार लाग्ने गरेको छ । नुवागाउँ क्षेत्र, गैरीगाउँ आसपासको क्षेत्रमा मा पनि तरकारी सङ्कलन केन्द्र सञ्चालनमा छन् । किसानले उत्पादन गरेको वस्तुको यथोचित मूल्य प्राप्तिका लागि यस्ता हाटबजार र सङ्कलन केन्द्रले निकै महत्व राख्छन्  । रोल्पाको विडम्बना भनेको किसानलाई व्यवसायिक उत्पादनमा जोड्न नसकिनु हो ।

सडक पूर्वाधार विस्तारसँगै एक गाउँ एक उत्पादनका योजना लग्न सकेको भए अहिले सडक पुगेका सबै गाउँठाउँमा व्यवसायिक उत्पादनका काम भईरहेका हुन्थे । तर, जिल्लामा सडक विस्तारका काम पर्याप्त मात्रामा भएपनि उत्पादका सवालमा अझैपनि ठोस योजना अघि सारिएका छैनन् । रोल्पाको दक्षिणी र पश्चिमी भेगमा भने किसान स्वतःस्फूर्त उत्पादनमा जोडिएका छन् । जसबाट राम्रो आम्दानी समेत गरिरहेका छन् । उनीहरूले गरेको उत्पादन बिक्रीवितरणलाई सहज बनाइदिन पालिकाले हाटबजार सञ्चालनमा सघाएका छन् । हाटबजार र तरकारी सङ्कलन केन्द्र सञ्चालन र व्यवस्थापनमा सघाउने स्थानीय सरकारहरू धन्यवादका पात्र हुन् नै ।

    होलेरी र बुढागाउँमा सञ्चालन हुने हाटबजार र सङ्कलन केन्द्र विशेष नै छन् । त्यहाँका किसान पुरै व्यवसायिक खेतीतर्फ लम्किएका छन् । किसानको उत्पादनले हाटबजारबाटै बिक्रीवितरण हुने वातावरण निर्माण भएको छ । टाढाटाढाका व्यापारी र व्यवसायी तरकारी खरिद गर्न हाटबजार आईरहेका छन् । यसले बिचौलियालाई निरुत्साहित गरेको छ । जसको फाइदा किसानलाई पनि भएको छ । उत्पादनको बढी मूल्य पाउने अवस्था छ । लिबाङमा हुने हाटबजारलाई अझै व्यवस्थित गर्न आवश्यक छ । हाटबजारमा आएका उत्पादन केही घण्टा पनि हाटबजारमा राखिने गरेको छैन भन्ने गुनासो आइरहेको छ ।

किसानलाई उत्पादनमा हौसला दिन निशूल्क ढुवानी गरिदिने र उत्पादनका आधारमा अनुदान दिने रोल्पा नगरपालिकाको कार्य सह्रानीय नै छ । तर, हप्तामा एक दिन सञ्चालन हुने हाटबजारलाई बिहानदेखि दिउँसोसम्म सर्वसाधारणले किन्न मिल्नेगरी सञ्चालन गर्दा अझ प्रभावकारी हुने थियो । हाटबजारमा ल्याएका उत्पादन केही घण्टामै बजारका पसलमा पु¥याईन्छ । उपभोक्ताले किसानबाट नै दिनभर जसो किनमेल गर्न सक्ने वातावरण निर्माण गर्न जरुरी छ । पसलमा लगिने भएपछि किसानले पनि कम मूल्यमा बिक्री गर्नुपर्ने हुन्छ भने उपभोक्ताले पनि महँगो किन्नुपर्ने अवस्था सिर्जना भैरहेको छ । यसले किसान र उपभोक्ता दुवै मारमा पर्छन् ।अब रोल्पाका सबै स्थानीय तहले व्यवसायिक उत्पादनलाई जोड दिने योजना बग्रेल्टी ल्याउन जरुरी छ । अनि व्यवस्थित हाटबजार मार्पmत किसान र उपभोक्ताले बढीभन्दा बढी लाभ लिने अवस्थाको सिर्जना गर्न आवश्यक छ ।

प्रकाशित मिति : २०८१ भाद्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस