रोल्पामा पूर्वाधार विकासमा १५ करोड बजेट

तस्विर साैजन्य: खेम बुढामगर

१४ भदाै,राेल्पा। रोल्पा जिल्लामा पूर्वाधार विकास र प्रकोप नियन्त्रणका लागि प्रदेश सरकारले करिब १५ करोड बजेट विनियोजन गरेको जनाएको छ । प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७७/७८ अन्तर्गतको बजेटमा विभिन्न आयोजना र कार्यक्रम समावेश गरी रोल्पामा उक्त रकम विनियोजन गरेको हो ।

कारोना कहरकै बीचमा विनियोजित बजेट खर्च गर्न कार्यविधि समेत निर्माण गरिरहेको सरकारले जनाएको छ । तत्कालीन सशस्त्र द्वन्द्वबाट बढी प्रभावित रोल्पामा यस शीर्षकको बजेट विनियोजन गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले जानकारी दिए ।

विनियोजित बजेट आवास तथा बस्ती विकास कार्यक्रम अन्तर्गत त्रिवेणी गाउँपालिकाको नेर्पा बजार र सुनिलस्मृतिको सुलिचौर बजारमा एकीकृत पूर्वाधार निर्माणमा खर्च गर्ने योजना छ । यसैगरी भवन तथा सभाहल निर्माण कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न विद्यालयहरुको भौतिक संरचना समेत निर्माण र मर्मत–सम्भारमा उक्त बजेट खर्च गर्ने तयारी भएको मन्त्री केसीको सचिवालयले जनाएको छ । त्यस्तै जनता आवास कार्यक्रमले यसपटक पनि निरन्तरता पाएको छ ।

पहिरो प्रभावित क्षेत्रमा एकीकृत बस्ती विकास कार्यक्रम र आकस्मिक प्राकृतिक प्रकोप नियन्त्रणमा पर्याप्त बजेटको व्यवस्था गरिएको मन्त्री केसीले बताए । ऊर्जा विकास कार्यक्रम अन्तर्गत प्रदेशभित्र जिल्लाहरुमा विद्युतमा पहुँच नपुगेका समुदाय वा वस्तीको लागि ग्रामीण एवं सामुदायिक विद्युतीकरणका लागि १० करोड विनियोजन गरिएको छ ।

प्रदेशभित्र  विद्युतमा पहुँच नपुगेकाहरुलाई घरेलु सौर्य ऊर्जा प्रणाली जडानको लागि ७ करोड ४० लाख अनुदान बजेटको व्यवस्था गरिएको हो । प्रदेश ५ सरकारले माग भएका अन्य आयोजनामा सम्भाव्यता अध्ययनपश्चात् बजेट विनियोजन गर्ने योजना पनि रहेको जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस