
नेपालमा दैनिक आत्महत्या घटना हुँदै आएका छन् । नेपाल प्रहरीको तथ्याङ्कलाई आधार मान्ने हो भने आत्महत्या नगरेको दिन नै छैन । विगतको तुलनामा नेपालमा आत्महत्या गर्नेको दर बढिरहेको छ । वर्षौं अघि आत्महत्या भएका घटना विरलै सुनिने रोल्पामा पनि पछिल्ला वर्षहरूमा आत्महत्याका घटना बढ्दै गइरहेका छन् ।
पाँच वर्षयता रोल्पामा ३ सय ६१ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कलाई आधार मान्दा पुरुष २ सय र महिला १ सय ६१ जनाले आत्महत्या गरेका छन् । यो सङ्ख्या कुनै चोकमा उभ्याउने हो भने निकै ठूलो हो । उमेरका हिसाबले निकै आश लाग्दा मानिसले आत्महत्या गरेका छन् । आत्महत्याका घटना प्रहरीमा आइरहन्छन् । प्रहरी मुचुल्का उठाउन घटनास्थल पुग्छ । पोष्टमार्टमका लागि अस्पताल लगिन्छ । परिवारले पीडाका साथ आफ्नो परम्परा अनुसार अंत्येष्टि गर्छन् । के कति कारणले आत्महत्या भएको भन्नेबारे घटनाको विशेष अनुसन्धान हुँदैन । परिवार र आफन्तले जे जति कारणको आँकलन अनुसार भन्छन्, त्यहीँ नै कारण ठानिन्छ । यसको गम्भिर अनुसन्धान नै हुँदैन ।
आत्महत्यालाई अपराध मानिएको छ । आफैले आफैलाई हत्या गरेको हुनाले आत्महत्या भनिएको हो । आत्महत्या बारे गम्भिर र गहिरो अनुसन्धान नहुनुमा आफैले आफैलाई मारेको हुनाले दोषी उ आफै मानिनु पनि हो । त्यसैले पनि अनुसन्धान प्रभावकारी हुँदैन । आफैले आफैलाई हत्या गर्ने भएकाले शव माथि नै मुद्दा चलाउने कुरा हुँदैन । त्यसले पनि अनुसन्धान फितलो हुने गरेको छ । आत्महत्याको दुरुत्साहनको भने मुद्दा चल्छ । आशङ्कायुक्त आत्महत्याका घटनामा भने प्रहरीले गम्भिर अनुसन्धान गर्छ नै । घटनाको प्रकृति हेरेर प्रहरीले अनुसन्धान गरेको पाइन्छ ।
आत्महत्या गर्ने व्यक्तिलाई समाजले पनि राम्रो मान्दैन । आत्महत्या गर्नुलाई पापीको संज्ञा दिएको पनि पाइन्छ । सहज मनोविज्ञानमा रहेको मानिसले आत्महत्या भने गर्दैन । मानिस यस्तो प्राणी हो, जो मृत्युदेखि डराउँछ । जुगौँजुगसम्म बाँच्न चाहन्छ । मृत्युवरण गर्नका लागि उसलाई खास आधार चाहिन्छ । वीरता पूर्ण मृत्यु अलग्गै कुरा हो । अकारण मृत्यु कोही मानिस चाहदैन । अध्ययनले यहीँ देखाएको छ । त्यसो भए, कोही मानिस किन आत्महत्या गर्न तयार हुन्छ त ? यो निकै गम्भिर प्रश्न हो ।
आत्महत्या गर्नुपर्ने थुप्रै कारणहरू पक्कै छन् । ति कारणको यथोचित सम्बोधन नगर्दासम्म आत्महत्या भैरहन्छन् । त्यसको लागि आत्महत्याका घटनाको सूक्ष्म अध्ययन र अनुसन्धान हुन आवश्यक छ । मानसिक रोग विशेषज्ञका अनुसार आत्महत्या गर्नुमा मानसिक स्वास्थ्यमा आउने खराबी पनि एक महत्वपूर्ण कारण हो । मानिसको मानसिक स्वास्थ्यमा आउने खराबीका थुप्रै कारण पक्कै छन् । ति कारणको समाधानका योजना पक्कै चाहिन्छ । व्यक्तिमा आइरहेको मानिस स्वास्थ्य समस्याको निदान हुन नसक्नु र उपचार हुन्छ भन्ने थाहा नभएरपनि धेरैले आत्महत्या गरिरहेका छन् । जेजस्तो कारणले भएपनि व्यक्तिको मानसिक स्वास्थ्यमा देखिएको समस्याबारे परिवारका अन्य सदस्य र समाज जानकार हुन्छ । तर, परिवारका अन्य सदस्यले समयमै मानसिक स्वास्थ्य उपचारका लागि ध्यान दिन नसक्दा पनि आत्महत्या हुने गर्छन ।
यि सबै अवस्थालाई दृष्टिगत गरी रोल्पा जिल्लाका सबै स्थानीय तहले आत्महत्यालाई निरुत्साहित गर्नका लागि ठोस योजना बनाउन जरुरी छ । समुदायस्तरमा सचेतना र मनोपरामर्शका कार्यलाई व्यापक अभियानका साथ लैजान जरुरी छ । पालिकाले आफ्नो नीति तथा कार्यक्रममा यि सवाललाई समावेश गरेर जानुपर्छ । आत्महत्या निरुत्साहित गर्न जिल्ला समन्वय समितिले सबै पालिकाका अगुवा, जिल्लाका स्वास्थ्य संस्था/स्वास्थ्यकर्मी र सरोकारवालालाई एकैथलोमा ल्याएर साझा एजेण्डा बनाउन पहल गर्न आवश्यक छ ।