कुराकानी:

रोल्पामा नेत्र रोग विशेषज्ञ डाक्टर नहुँदा उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ।

मानिसको संवेदनशील अङ्ग मानिने आँखामा लाग्ने यस रोग डरलाग्दो नभए पनि हप्ता दिनसम्म आँखा हेर्न कठिनाइ गर्ने हुँदा मानिसको दिनचर्यामा असर हुने गरेको छ। छिट्टै एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले पनि यस रोगको सङ्क्रमणबाट धेरै जना प्रभावित बनेका छन्।

देशभर सङ्क्रमणका रुपमा फैलिएको आँखा पाक्ने रोगका कारण, यसबाट बच्न अपनाउनुपर्ने सावधानीदेखि उपचारका बारेमा रोल्पा अस्पतालका नेत्र साहयक दीपा भण्डारीसँग अनलाइन साझाका लागि तिलक घर्तीामगरले गरेकाे कुराकानी :

१. केही समयदेखि रोल्पा लगायत देशभर आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ, यसको कारण के होला ?

केहि दिनबाट देशैभरी आँखा पाक्ने रोगको संक्रमण फैलिएको छ । आँखा पाक्ने समस्या नेपालमा प्रायः हरेक वर्ष फैलन्छ। यसकालाई चिकित्सा भाषामा कन्जङ्किटभाइटिस भनिन्छ भने आम भाषामा आँखा पाकेको भनिन्छ। यसले आँखाको सेतो भाग भन्दा अगाडि र आँखाको ढकनी भन्दा पछाडिको भाग जसलाई कन्जक्टिभा भनिन्छ । त्यसलाई असर गर्दछ ।

यो रोग धेरै कारणले हुँन सक्छ, जस्तै संक्रमित व्याक्टेरिया, भाइरस एलर्जी, आक्स्मिक चोट र आँखामा प्रयोग गरिने एडिनो भाइरसका कारणले यो महामारी फैलिने गर्दछ । यद्यपि नेपालमा यहि भाइरसका कारण रोग फैलिएको भन्ने पुष्टि भइसकेको छैन ।

२. यस रोगका लक्षणहरु के के हुन ?

सबै भन्दा पहिले एउटा आँखामा लक्षण सुरु हुन्छ । आँखा रातो हुने, चिलाउने, आँखाबाट आँसु बगिरहने, कचेरा आउने र दुख्ने, आँखाको ढकनी रातो हुने, सुनिने, घाममा हेर्न गाह्र हुने साथै लिम्फ नोड् सुनिने, ज्वरो आउने, खोकी लाग्नु , रुघा लाग्नु, पखाला लाग्नु, वाकवाकी वा बान्ता हुनु यसका प्रमुख लक्षणहरु हुन ।

३. रोल्पामा यस रोगको अवस्था कस्तो छ ? दैनिक कति बिरामी आउँने गरेका छन् ?

रोल्पामा पनि धेरै नै फैलिएको थियो । एक हप्ता अघिसम्म रोल्पा जिल्ला अस्पतालमा दैनिक ४० देखि ५० जना बिरामी ‘आई फुलु’ को समस्या लिएर आउनु हुन्थ्यो । तर अहिलेको समयमा संक्रमितहरुको संख्या घट्दो अवस्थामा रहेको छ ।

४. रोग लागि सके पछि कसरी छिटोभन्दा छिटो निको पार्न सकिन्छ? यस रोगबाट कसरी बच्न सकिन्छ ?

भाइरसको कारणले गर्दा रोग लाग्ने भएका कारणले गर्दा यो पूर्ण रुपमा निको हुँन दुईदेखि तीन हप्तासम्म लाग्ने गर्दछ । भाइरसको औषधि हुँदैन । यो रोगको लक्षणबाट हुने समस्या जस्तै आँखा विझाउने, चिलाउने, आँसु बग्नुलाई कम गर्ने औषधी प्रयोग गर्न मिल्छ । तर डाक्टरको सल्लाह वीना जथाभावि औषधी प्रयोग गर्नु हुँदैन् ।

यो रोग हेरेर अरुमा सर्ने होइन । यो आँसुको माध्यमबाट सर्ने गर्दछ । आँखा पाक्ने ‘आई फ्लु’बाट बच्नका लागि सरसफाइमा ध्यान दिने, आँखा नमान्ने, अरुले प्रयोग गरेका सामग्री प्रयोग नगर्ने । जस्तै रुमाल तावेल सिरानी, तन्ना लगायतका सामग्रीहरु प्रयोग नगर्ने, आँखा छुनु अघि साबुपानीले राम्रोसँग हात धुने, भिडभाड हुँने ठाँउमा नजाने गरेमा रोगबाट बच्न सकिन्छ ।

५. यतिबेला देशका कतिपय ठाउँमा बिरामीले औषधि नपाएको भन्ने समाचारहरु पनि आएका छन् । रोल्पामा यसको अवस्था के छ ?

रोल्पा जिल्लामा बिरामीले औषधि नपाउने समस्या छैन । औषधि पाई रहेका छन् । सरकारी अस्पतालका फार्मेसी र निजी फार्मेसीबाट बिरामिलाई औषधि उपलब्ध भई रहेकाे छ । पछिल्लो समयमा यो रोग घट्दो कम्रमा छ । आशा गराैँ अबको केही दिनमा सङ्क्रम कम हुन्छ ।

६. रोल्पामा आँखा रोगको समस्या कस्तो पाउनुहुन्छ ?

आँखाको समस्या सबै ठाँउमा हुन्छ । त्यस्तै रोल्पामा पनि छ । रोल्पामा सबै भन्दा बढि आँखाको समस्या मोतिबिन्दुको छ । प्राय ५० वर्ष भन्दा बढि उमेर भएको मानिसहरुमा यो समस्या छ ।

७. आँखा उपचार सेवा लागि जनशक्तिको अवस्था कस्तो छ नि ?

रोल्पामा नेत्र रोग विशेषज्ञ डाक्टरको अभाव छ । रोल्पामा नेत्र रोग विशेषज्ञ नहुँदा शल्याक्रियाको लागि जिल्ला बाहिर जानुपर्ने समस्या छ ।त्यस्तै आँखा रातो भायो, चोट पटक लाग्यो भने पनि विरामीहरु समयमै अस्पताल आउँनुहुन्न । बिरामीहरु आफै सन्चो हुन्छ भनि घर बस्नु हुन्छ । र केही दिन पछि जटिल समस्या लिएर अस्पताल आउँनु हुन्छ ।

रोल्पा जिल्लामा नेत्र रोग विशेषज्ञ डाक्टर हालसम्म छैन्न् । जिल्लामै विशेषज्ञ भए रोल्पाली जनतालाई धेरै सहज हुने थियो । जति चाँडो आँखा पाक्ने रोग सन्चो हुन्छ त्यति नै आँखामा इन्फेक्सनबाट हुँने जोखिम काम हुने गर्दछ । त्यसैले संक्रमणबाट आफू पनि बचौँ र अरुलाई पनि बचाउँ ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस