२१भदौ, रोल्पा,। “पहिले हाम्रो पालाका तीज गीतका शब्द शब्दमा जिवनका यथार्थ भोगाई लुकेको हुन्थ्यो । अहिले बजारमा आएका तीज गीतहरु त परिवारसँग बसेरै हेर्न नमिल्ने खालका आउन थाले । हाम्रा पालाका सबै संस्कार संस्कृतिको त कुनै मुल्य नै रहेन ।” आजभोलि मनाईने तीजप्रतिको ६६ वर्षीय सम्झना रोकामगरको सटीक टिप्पणी हो यो ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका-३ की रोकामगर आजकालको तीज विकृतियुक्त बनेकोमा चिन्ता व्यक्त गर्छिन् । तीन बीस नाघिसकेकी रोकामगर आफ्नो बाल्यकालको तीज सभ्य अनि मौलिक रहेको सम्झना सुनाउछिन । उमेरमा उनलाई तीज पर्व असाध्यै मन पर्दथ्योरे, अहिले पनि उनी नयाँ नयाँ गीतहरु सुन्नमा चासो दिन्छिन। आजकाल पुरानो गीतहरु क्रमशः गुञ्जिन छाडेकोप्रति उनको चिन्ता व्यक्त छ ।
त्यस्तै सुनिलस्मृति गाउँपालिका-४ की सेतु पुन उमेरले ५५ वर्षकी भईन। उनलाई पनि अहिलेको तीज खासै मन पर्दैन् । “चेलीहरुको महत्वपूर्ण पर्वको रुपमा लिने गरिन्थ्यो तीज । तर, अहिले तीज मनाउने शैलीमा परिवर्तन भएको देख्दा मलाई मन पर्दैन्।” पुनले अगाडि थप्छिन, “पहिले हाम्रो पालामा वर्षभरी भोगेका दुःख पिडाहरु गीतको माध्यमबाट प्रस्तुत गरिन्थ्यो। वर्षभरी जिवनमा घटेका घटनाहरुलाई गीतको माध्यमबाट प्रस्तुत गर्दा मनमा शान्तिको महसुश हुने गर्दथ्यो ।” पहिले मादल, बाँसुरी बजाएर गीतमा बुट्टा भरेर गाउने गरिन्थ्यो अहिले त ठुलाठूला डेग बजाएर नाच्ने चलन आएको बताउछिन । “हामीले त तिजको अघिल्लो दिन मात्र दर खाने गर्दथ्यौं। अहिले त महिनौसम्म दरखान लागे अहिलेको तीज के अचम्म हो ” अचम्मित हुँदै पुनले भनिन् ।
परम्परादेखि तीज हिन्दु नेपाली नारीहरूको महान चाडका रूपमा मनाइन्छ । तीज पर्वको सामाजिक र धार्मिक रूपमा पनि बढी महत्व छ । माइती र चेली बीचको महत्वपूर्ण सम्बन्ध स्थापित गर्ने पर्वको रूपमा तीजलाई लिईन्छ। विशेष गरि विवाह गरेर गएकी चेलीहरूको लागि तीज पर्वको विशेष महत्व रहने गर्दछ ।
विवाह भएकी चेलीलाई तीजमा दाजुभाईले लिन जाने चलन थियो । विवाहित दिदीबहिनीलाई वर्ष दिनमा आउने तीजमा माइतीले लिन गएन भने चेलीको चित्त दुखाई हुन्थ्यो । तर अहिलेको तीजका लागि ती दिन कहानी जस्तै भएका छन् । तीजमा पश्चिमेली संस्कृति हावी भएको पाइन्छ । समयको परिवर्तन सँगसँगै तीज पर्व मनाउने शैलीमा धेरै परिवर्तन भएको महिला अधिकारकर्मीहरू बताउछन ।
समयानुकुल चल्नु त ठिकै हो तर समयानुसार चाडपर्वमै यस्तो खालको विकृति निम्तिनु राम्रो नहुने रोल्पाकी अधिकारकर्मी श्रीकुमारी घर्तिमगर बुझाई छ । “वर्षभरी आफ्नो घरको काममा व्यस्त भएको अवस्थामा माइत गएर दरको रूपमा मिठो मसिनो खाने, माइतीहरूसँग भेटघाट गर्ने, एकआपसमा फरक फरक घरमा विवाह गरेका चेलीहरू भेटघाट भै दुखसुख साटासाट गर्ने महत्वपूर्ण पर्व तीज नै पनि हो ।”, घर्तिमगर भन्छिन् । एकआपसमा नाच्ने, गाउने, गीतको माध्यमबाट आफ्ना दुख पिरका बिसाउने, आफ्ना संस्कार, संस्कृतिलाई जोगाउन सन्देश प्रवाह गर्ने चाडका रुपमा तीज पर्वलाई लिनुपर्ने उनको तर्क छ ।
पुरानो जमानामा मादल र बाँसुरीको ताल र धुनमा आफ्नै स्वरमा गाउदै नाच्ने चलन थियो । आजभोली डेग तथा साउण्ड सिस्टमको चर्को आवाजमा नाच्ने, एक निश्चित समयमा मात्र नाचगान नगरी, रातभरी नाचगान गर्ने, छरछिमेकमा होहल्ला मच्चाउने, महीनौ अगाडिदेखि होटेल, पाटी प्यालेसहरूमा गएर नाचगान गर्ने र दरखाने प्रचलन हावी भएको छ ।
तीज पर्व मनाउने नाममा भित्रिएको यस्तो संस्कृतिले आयस्रोत भएका व्यक्तिहरूको लागि त त्यति धेरै समस्या नहुनसक्छ तर निम्न आयस्रोत भएका परिवारहरूको लागि कुनै पनि चाड पर्व मनाउन आर्थिक रूपले गाह्रो हुने अवस्था आएको अधिकारकर्मी घर्तिमगरको दावी छ । हुनेखाने परिवारले भड्किलो तरिकाले तीज मनाउदा अर्को परिवार भित्र ठुलो द्वन्द्व सृजना हुनेगर्छ ।
पहिलेको समयमा दरखाने बेला गाउँघरमै उत्पादित खिर, केरा, स्याउँ लगायतका फलफूलका परिकार खाएर रमाइलो गरिन्थ्यो । तर अहले दरको रुपमा मदिराजन्य पदार्थको सेवन गर्ने प्रचलनले चाडपर्वको नाममा विकृति निम्त्याएको पाइन्छ । तीज पर्व धन हुनेको पर्व जस्तो बन्न पुगेको छ । महङ्गा गरगहना र लत्ताकपडा किन्नका लागि एक आपसमा प्रतिस्पर्धा नै हुने गरेको छ । पछिल्लो समय तीज मात्र नभई कुनै पनि चाडपर्व महँगो र द्वन्द्व निम्त्याउने खालको हुदै गएको छ।
तीज मनाउने परम्परामा आएको वदलावलाई हेर्दा हुदा खाने परिवारको लागि नभै हुनेखाने परिवारहरूको पर्व बन्न थालेको छ । अन्य चाडपर्व पनि भड्किलो बन्दै गएकाले खर्च अत्यधिक हुने गरेको छ । संस्कार संरक्षण पनि हुनसकिरहेको छैन । उल्टो विकृति फैलाउने खालको देखिन्छ । मौलिकता भुल्दै जाने हो भने नेपाली संस्कृति, चालचलन, भेषभूषा, रीतिरिवाज कस्तो होला ? वेलैमा सोच्नुपर्ने सरोकारवालाको सुझाव छ ।