रोल्पामा पर्यटन सम्भावना

विषय प्रवेशः
सामान्य अर्थमा पर्यटन भन्नाले मानिस एक ठाउँबाट अर्को ठाउँमा रमाईलोका लागि घुमफिर गर्न जानु भन्ने हुुन्छ । १९ औं शताब्दीसम्म पर्यटन चर्चामै थिएन । तर अहिले पर्यटन विश्वमै प्रमुख उद्योगको रुपमा विकास भईरहेको छ ।

विश्वको पर्यटन ईतिहासमा नेपाल निकै पछि छ । यद्यपि, नेपालमा पनि पर्यटन राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र बन्दै गईरहेको छ । नेपालमा पर्यटक आउने क्रम बढ्दो छ । तर, नेपाल आउने पर्यटक भने विरलै रोल्पा आउने गर्छन । आखिर किन त ? चर्चा हुन आवश्यक छ ।

रोल्पामा घुमफिरका लागि आन्तरिक र बाह्य पर्यटकका लागि उचित गन्तव्य हुन सक्छन् । यसका लागि पर्यटकलाई कसरी जिल्लामा भित्र्याउन सकिन्छ भन्ने तर्फ सबैले चासो दिन जरुरी भईसकेको छ । यस आलेखमा यसैबारे चर्चा थालिएको छ ।

पर्यटनका आधारः

नेपाल अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषिक, बहुधर्म र सामाजिक विविधता एवं ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण छ । विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रूपमा नेपाल सुपरिचित छ ।

मौलिक आकर्षण र राजनीतिक रुपमा बहुचर्चित थबाङलाई पर्यटन गाउँका रूपमा विकास र प्रवद्र्धन गर्न आवश्यक छ । थबाङमा होमस्टेलाई थप व्यवस्थित गर्ने र प्रचार–प्रसाचर जोड दिने हो भने मात्र पनि पर्यटकहरु आउन सक्ने सम्भावना छ ।

नेपालको एउटा जिल्ला रोल्पामा पनि पर्यटकीय सम्भावना प्रचुर छ । यहाँका पर्यटकीय सम्भावनालाई उजागर गर्न सकेमात्र पनि पर्यटक भित्रिने अवस्था छ । किनकि, यहाँ पर्यटकलाई आकर्षण गर्र्ने पाकृतिक सौन्दर्य, मगर समुदायको सँस्कृति, ऐतिहासिक धार्मिक स्थलहरु र जैविक विविधताको खानी नै छ । र, विगतको युद्धका कारण ‘युद्ध पर्यटन’को पनि उत्तिकै सम्भावना छ ।

धार्मिक, ऐतिहासिक र पर्यापर्यटनः

रोल्पाको जलजला, चतुर्भुज, गढिलेक र रुन्टी यहाँका धार्मिक पर्यटन क्षेत्र हुन् । ठाउँ विशेष अनुसार थुप्रै धार्मिक पर्यटन क्षेत्रपनि छन् । जलजला धार्मिक मात्र होईन, जैविक र पर्यापर्यटनको आलोक पनि हो । जिल्लाका कतिपय स्थान धार्मिक, आध्यात्मिक एवं तीर्थाटनको केन्द्रको रुपमै विकास गर्न सकिने देखिन्छ । जस्तै रुन्टी, गढिलेक, शिवगुफा, जलजला, चतुर्भुज लगायतका स्थान यस्तो क्षेत्र हुनसक्छन् ।

धार्मिक दृष्टिकोणले पर्यटनका सम्भावना बोकेका स्थानहरुको प्रवद्र्धनका क्रममा विशुद्ध धार्मिक कोणबाट मात्र नभई प्राकृतिक सौन्दर्यता, अध्ययन र अनुसन्धानका हिसाबले पनि विकास गर्नु पर्दछ ।

खुंग्री, जंकोट र गजुलकोट ऐतिहासिक कोटहरु हुन् । विबाङ दह, सुनछहरी लगायत चर्चामा नआएका अन्य प्राकृतिक, सांस्कृतिक, जैविक सम्पदाहरुको खोज, संरक्षण, संवद्र्धन एवं विकास गरी रोल्पालाई पर्यटकीय दृष्टिले आकर्षक र प्रमुख गन्तव्य स्थलको रुपमा विकास गर्न सकिन्छ । जुगारको शिव गुफा, होलेरीको शिवपार्वती गुफा र राङसीको गुफा पनि आकर्षणका केन्द्र हुन् ।

कोठीभीर, कोर्चाबाङ जेठपुन्नीस्थलको बराह पर्यटन क्षेत्र, भाबाङको पुलबाङधुरी, होलेरीको मुरुल्ले लेक पनि पर्यटन क्षेत्रका रुपमा विस्तारित हुँदैछन् । बराह र बजु पुजासँग सम्बन्धित थुप्रै ठाउँमा पुजाआजा हुने धार्मिक स्थल आन्तरिक पर्यटनको क्षेत्र त बग्रेल्ती छन् । मगर, गुरुङ, क्षेत्री, बाहुन, दलित लगायतका सबै जातजातिको शक्तिपीठसँग सम्बन्धित थुप्रै पुजास्थल छन् ।

युद्धपर्यटनः

सिंगो रोल्पा युद्धपर्यटन केन्द्र त हो नै । २०५२ साल फागुन १ गते फौजी आक्रमण भएको होलेरी युद्धपर्यटनको आधारविन्दु हुनसक्छ । २०५२ देखि २०६३ मंसिर ५ गतेको वृहत् शान्ति सम्झौतासम्म आईपुग्दाका जिल्ला सामरिक हिसाबमा गरिएको फौजी स्थलहरु युद्धपर्यटनका आधार हुनसक्नछन् । जस अन्तरगत, लिस्ने गाम भिडन्त, हान्निङ र भाबाङ लगायतका भिडन्तस्थल, थुप्रै गुरिल्ला तालिम स्थल, गैरीगाउँको दुम्ला र थबाङको माओवादीे केन्द्रीय बैठकस्थल र दहबन, तिला र मसिना लडाकु शिविर स्थललाई कुनै नकुनै ढंगले युद्धपर्यटनको सर्किटका रुपमा विकास गर्न सकिन्छ । साथै गुरिल्ला ट्रेलको अझ विकास जरुरी छ ।

मौलिक आकर्षण र राजनीतिक रुपमा बहुचर्चित थबाङलाई पर्यटन गाउँका रूपमा विकास र प्रवद्र्धन गर्न आवश्यक छ । थबाङमा होमस्टेलाई थप व्यवस्थित गर्ने र प्रचार–प्रसाचर जोड दिने हो भने मात्र पनि पर्यटकहरु आउन सक्ने सम्भावना छ । थबाङ पञ्चायती व्यवस्थाको विपक्षमा उभिएको र बहुदलकालमा ‘जनयुद्ध’को राजधानीका रुपमा ख्याती कमाएकाले त्यहाँको राजनीतिक, साँस्कृतिक आर्थिक, सामुदायिक रहनसहन, मनोविज्ञान लगायतका हरपक्षको अध्ययनका लागि पनि सान्दर्भिक छ । तसर्थ थबाङ पर्यटनका लागि उपयुक्त छ । थबाङ जस्तै सम्भावना बोकेका जेलबाङ पनि पर्यटन सम्भावना बोकेको गाउँ हो । जहाँ युद्धताका देशभरमै सबैभन्दा बढि (७३ जना) को ज्यान गएको साविको गाविस हो ।

सातदोबाटोको ‘जनयुद्ध’ भ्यूटावर र ढुंगे बगैचा पर्यटन केन्द्र हुन् । तिला स्थित ‘राष्ट्रिय जनयुद्ध संग्राहलय’ पनि छ । जिल्लाका धेरै ठाउँमा सहिद प्रवेशद्वार र सहिद पार्क छन् । तर, समग्रमा युद्धताकाको झल्को र मर्म दिने एकिकृत प्रकारको संग्राहलय आवश्यक छ ।

साँस्कृतिक पर्यटनः

रोल्पामा रहेका मगर, गुरुङ लगायतको पैसेरु, सरङ्गे, भुमे नाँच, झोरेली, सोरठी, साइलाबरै, थाडी र लोक भाका, जोमारे लगायत विभिन्न जातजातिको सँस्कृतिले पनि पर्यटकलाई भरपुर रुपमा आकर्षण गर्न सकिन्छ । त्यसका लागि प्रत्येक वर्षको एक पटक साप्ताहव्यापि रुपमा सदरमुकमा लिबाङ वा उपयुक्त स्थानमा साँस्कृतिक मेला (जात्रा) आयोजना गर्नु पर्दछ । जसमा यि सबै सँस्कृति झल्किने अवस्था सृजना गरेर बाह्य र आन्तरिक पर्यटकलाई भित्र्याउन सकिन्छ ।

मेलामा जिल्लाका उत्पादन प्रदर्शनि स्टल, जिल्लाका पर्यटन क्षेत्रका झलक सहितका स्टल राखेर पर्यटन प्रवद्र्धन गर्ने हेतुले मेला आयोजना गर्नु सान्दर्भिक छ । यस्तो मेला महोत्सवमा पालिका स्तरीय प्रतिस्पर्धा गर्न सकिन्छ । यसमा नीजि क्षेत्रको पनि ठूलो हात हुन्छ ।

पर्यटन पूर्वाधारको विकास, पर्यटकलाई उपलव्ध गराउने होटल सेवाको गुणस्तरमा वृद्धि, बसाईको अवधि लम्ब्याउने जस्ता विविध पक्षलाई ख्याल गरेर सरकारी र नीजि क्षेत्रले जिल्लाको पर्यटन रणनीति बनाउन आवश्यक छ ।

जिल्लाको सदरमुकाममा आदिवासी जनजातिको परम्परागत, ज्ञान, सीपको झलक दिने सामग्री, उनीहरुले प्रयोग गरेका लोपोन्मुख सामानहरुको संग्राहलय बनाउन सके राम्रो हुनेछ । बाईसे चौविसे राजाका पालामा रोल्पामा प्रयोग भएका सामग्री, पुरातात्विक महत्वका वस्तु, खनिज, पर्यटकीय क्षेत्रको झलक र जानकारी सहितका नमूना स्टल, यहाँका प्राकृतिक सौन्दर्य, कला सँस्कृति झल्किने श्रव्यदृश्य सामग्री राखेर संग्राहलयलाई बृहत बनाउन सकिन्छ । जसले जिल्लाको गौरवमात्र होइन अनुसन्धान, अध्ययन, अवलोकनका लागि ठूलो मद्दत पुग्ने छ ।

अबको बाटो :

जिल्लाको पर्यटन विकास र विस्तारका लागि जिल्लाका विद्यमान पर्यटकीय स्थलहरु र सँस्कृतिको बजारीकरण पहिलो शर्त हो । पर्यटन गन्तव्यहरु मध्ये प्राथमिकिकरण गरी त्यसतर्फ पर्यटक आकर्षण गर्न पर्यटकीय क्षेत्रको नक्साङ्कन तथा आधुनिक सूचना प्रविधिको उपयोग गरी प्रचार प्रसार गर्न आवश्यक छ । त्यसका लागि जिल्लामा सरकारी र निजी क्षेत्रको सहकार्यमा वेव–साईट मार्फत विभिन्न प्रचार सामग्री निर्माण गरेर जान सकिन्छ ।

जिल्लाको पर्यटन सम्बन्धी सूचनाहरु एकीकृत गरी विद्युतीय र अन्य माध्यमबाट प्रचार गर्न पर्यटन सूचना डेस्क राख्न सके फलदायी हुन्छ । यहाँका एफएमबाट पर्यटन कार्यक्रम संचालन गर्न सके राम्रो हुनेछ । पत्रिका मार्पmत पनि पर्यटकीय क्षेत्रसँग सम्बन्धित सामग्रीलाई स्तम्भ कै रुपमा राख्न सके पर्यटन विकासमा सघाउ पुग्ने छ । पर्यटन क्षेत्रका महत्व झल्किने विवरण र फोटो सहितका बुकलेट प्रकाशन जरुरी छ । जिल्लाको पर्यटन गुरुयोजना बनाई अघि बढ्न जरुरी छ ।

नीजि क्षेत्र, नगरपालिका र गाउँपालिका, सामुदायिक संस्था, स्थानीय उद्यमी समूह र गैरसरकारी संस्थाहरुले पनि पर्यटन सम्बन्धि केही न केही कार्यक्रमहरू सञ्चालन गर्न सके पर्यटनमा सहयोग पुग्नेछ । पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने होटल व्यवसायी र नीजि क्षेत्रले पनि पर्यटनमैत्री प्याकेज ल्याउन आवश्यक छ । होटेलहरुका डाईनिङ रुम, सुत्ने कोठामा रोल्पाका पर्यटकीय क्षेत्र, स्थान, यहाँका मौलिक कला, संस्कृति झल्किने खालका फोटोहरु आकर्षक तरिकाले सजाएर राख्न सके पनि प्रचारप्रसार हुन सक्ने छ ।

पर्यटन पूर्वाधारको विकास, पर्यटकलाई उपलव्ध गराउने होटल सेवाको गुणस्तरमा वृद्धि, बसाईको अवधि लम्ब्याउने जस्ता विविध पक्षलाई ख्याल गरेर सरकारी र नीजि क्षेत्रले जिल्लाको पर्यटन रणनीति बनाउन आवश्यक छ । जिल्ला पर्यटन रणनीतिलाई सम्बोधन गर्ने गरी रोल्पा नगरपालिका र नौवटा गाउँपालिकाले पालिका स्तरीय योजना बनाई कार्य गर्न आवश्यक छ ।

निश्कर्ष :

पर्यटनका लागि पर्याप्त सम्भावना भए पनि यसको प्रचारप्रसार विना पर्यटन विकास सम्भव छैन । तसर्थ विज्ञान, प्रविधि र संचार प्रणालीमा भएको अभूतपूर्व विकासले विश्व नै एउटा गाउँको रुपमा परिणत हुँदै गइरहेको अवस्थामा रोल्पाले पनि यस्ता पर्यटकीय सम्पदालाई विश्व सामु र देशभर प्रस्तुत गर्दै विश्व पर्यटन बजारलाई आकर्षित गर्न सक्नु पर्छ ।

पर्यटन व्यवसाय आफैमा राष्ट्रिय अर्थतन्त्रको र विकासको प्रमुख आधार भएकोले यस व्यवसायको प्रवद्र्धन र विस्तार गरी आम रोल्पाली नागरिकको जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि ल्याउन सकिन्छ । पर्यटन विकास कार्यक्रमले तत्काल नै कुनै उपलब्धि नदेखिएला । तथापी, लामो समय पछि यथेस्त उपलब्धि हासिल गर्न सकिन्छ ।

त्यसैले यससँग सम्बन्धित क्रियाकलाप गर्दा दूरगामी भएर गर्न आवश्यक हुन्छ । रोल्पामा पर्यटन विकासका लागि यहाँका विविध पर्यटकीय सम्पदाको समुचित संरक्षण र संवद्र्धन त गर्नैपर्छ । त्सका साथसाथमा यी पर्यटन क्षेत्रबारे देशभरमात्र नभई विश्वभर नै प्रचार मार्पmत सन्देश पुर्‍याउन सक्नु पर्छ । यतातिर सबैको ध्यान जाओस् ।

(लेखकः बुढामगर नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष हुन्)

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस