सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

२८भदौ, काठमाडौँ । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ।

नेम्वाङको ७१ वर्षको उमेरमा सोमबार राति निधन भएको थियो। सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार आज ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि गरिनेछ। नेम्वाङको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज– नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइने उल्लेख छ।

नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट हिजो बिहान काठमाडौं आइपुगेका हुन् भने कान्छा छोरा सुहाङ मंगलबार राति नै अष्ट्रेलियाबाट नेपाल आएका थिए। सुहाङ एक महिनाका लागि अष्ट्रेलिया गएका थिए।

प्रकाशित मिति : २०८० भाद्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस