२८भदौ, जलेश्वर। कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन आज महोत्तरीको अन्धाअन्धी स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । लोहारपट्टी नगरपालिका–१ बगडा गाउँस्थित अन्धाअन्धी पौराणिक एवं धार्मिक महत्व बोकेको ठाउँ हो ।
रामायणकालमा मातापिताका अनन्य भक्त श्रवण कुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी बाण लागेर आफ्नो छोरा श्रवण कुमारको मृत्यु भएको सुनेपछि आफ्नो प्राण त्याग गरेको किम्वदन्ती छ । यहाँ विगतदेखि नै मेला लाग्ने गरेको छ । बुबाको मुख हेर्ने दिन तथा आमाको मुख हेर्ने दिनमा श्रद्धालु आउने गरेको स्थानीय शम्भु यादवले बताए ।
आजका दिन यस अन्धाअन्धी स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका विभिन्न ठाउँबाट समेत यहाँ सर्वसाधारण आउने गरेको स्थानीय नथुनी यादवले बताए । बुबा, आमा नभएकाहरुले अन्धाअन्धी स्थानलाई आफ्ना बुबाआमाको सम्झनाको केन्द्र बनाएका छन् ।


