रोल्पा जिल्लाको शैक्षिक गुणस्तर सन्तोषजनक छैन । पालिका स्तरमा गरिने परीक्षा र एसईई परीक्षाको नतिजा सार्वजनिक हुनेबेला जिल्लाको शैक्षिक स्तर कस्तो छ भन्ने कुरा उदाङ्गो हुने गर्छ । अनि एकआपसमा आरोपप्रत्यारोप चल्छन् । केही दिन÷हप्ता चर्चापरिचर्चा हुन्छ । अनि विस्तारै यि सवाल सेलाउँदै जान्छन् । अर्को वर्ष फेरी नतिजा सार्वजनिक हुन्छ, फेरी उहीँ चर्चा, टिप्पणी र आरोपप्रत्यारोपको नियति दोहोरिन्छ । गुणस्तर अभिवृद्धिका लागि ठोस योजना बन्न सकिरहेका छैनन् ।
शैक्षिक गुणस्तर सुधारमा आशातित प्रतिफल नआउने र ठोस योजना बन्न नसक्नुमा विद्यालयमा हुने प्रत्यक्ष वा अप्रत्यक्ष राजनीतिक हस्तक्षेप पनि कारक बन्दै गइरहेको छ । शिक्षकबाट हुने अवाञ्छित राजनीतिक चलखेलले पनि विद्यालयमा राजनीतिक हस्तक्षेप निम्तिने गरेको छ भने विद्यालय व्यवस्थापन समिति कुन राजनीतिक पार्टीको पोल्टामा पार्ने भन्ने राजनीतिक अभिष्टले पनि विद्यालयमा राजनीतिक प्रभाव पर्दै गइरहेको छ । विद्यालय व्यवस्थापन समितिको भूमिकालाई अब्बल बनाउनुपर्ने अवस्थामा सक्षम नेतृत्व चयनको वातावरण बन्न सकिरहेको छैन । कुनैकुनै विद्यालयमा नाम मात्रका विद्यालय व्यवस्थापन समिति बन्ने गर्छन भने कतै गठन हुन नै नसक्ने अवस्था समेत सिर्जित हुने गरेको छ । कारण, राजनीतिक दाउपेच कहिलेकाँही नजानिदो गरी लाग्ने गर्छ । विव्यस गठनको सवाल प्रतिष्ठाको विषय बन्दै गएर राजनीतिकरण भइसकेको हुन्छ । तर, राजनीतिकरण नभएको जस्तो लाग्न सक्छ । किनकी त्यहाँ राजनीतिक ध्रुवीकरण भएको पत्तै हुँदैन ।
विद्यालय व्यवस्थापन समिति गठनका लागि सर्वसम्मतिको बाटो कहिलेकाँही अवरुद्ध हुन जान्छन् या अवरुद्ध बनाइन्छन् । जसको फलस्वरुप लोकतान्त्रिक विधिको नाममा मतदानको विधि अवलम्बन हुने गर्छन् । मतदान गर्ने भनेपछि कहीँकहीँ राजनीतिक प्रभाव पर्ने नै गर्छ । हामीले जतिसुकै लोकतान्त्रिक विधि भनेपनि विव्यस गठनका लागि हुने चुनावका लागि अवाञ्छित हर्कत हुने गर्छन् । त्यसले विद्यालयमा सहज वातावरण निर्माण गर्न सक्दैन । अन्ततोगत्वा विद्यालयको समग्र शैक्षिक गतिविधिमा अस्थिरता आउने खतरा हुन्छ ।
पछिल्लो समय जिल्लाका कतिपय विद्यालयमा विव्यस गठन चुनौतीपूर्ण बन्ने गर्छन । चुनावबाट विव्यस गठन हुने गरेका छन् । यसलाई एक कोणबाट राम्रो अभ्यास पनि मान्न सकिएला । लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरिनुको अर्थमा सकारात्मक मान्न सकिएला । तर, विव्यस गठनका लागि चुनावी माहोलसम्म पुग्दासम्म राजनीतिक गन्ध र प्रभाव सुरु भइसकेको हुन्छ । यसले विधि लोकतान्त्रिक अपनाइएपनि यसरी गठन गरिने विव्यसले कति सहज रुपमा काम गर्न सक्लान् भन्ने चुनौती भने अवश्य सिर्जना हुने गर्छ । चुनावसम्म जाँदा विभिन्न योजना, घोषणा र प्रतिवद्धता गरिन्छन् । साँच्चिकै ति योजना, घोषणा र प्रतिवद्धता लागू गर्न कति कठिनाइ छन् भन्ने यकिन गरिदैन । खाली जित निकाल्नका लागि गुटबन्दी र गठबन्धनको दाउपेच हुन्छ । यस्तो खेलोमेलोमा कोहीकोही शिक्षाप्रेम सहभागी नै हुँदैनन् । यसले गर्दा नसोचेको व्यक्ति नेतृत्वमा आउने खतरा पनि हुन्छ । जसले गर्दा विव्यसको भूमिका सोचे जस्तो प्रभावकारी बन्न कठिन हुनसक्ने खतरा पनि हुन्छ ।
मुख्य विषय रोल्पा जिल्लाको शैक्षिक गुणस्तर कसरी उकास्ने भन्ने नै हो । शैक्षिक गुणस्तर सुधारका लागि विव्यसले खेल्ने भूमिका पनि महत्वपूर्ण हुन्छ । त्यसका लागि साच्चिकै विद्यालयको चिन्ता र चासो राख्ने शैक्षिक चिन्तक, अभियन्ता, अगुवा ति ठाउँमा पुग्न आवश्यक हुन्छ नै । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर त्यसैपनि सन्तोषजनक हुन नसकिरहेको बेला यि र यस्ता अभ्यासले शैक्षिक गुणस्तर सुधारमा भन्दा खस्कदोतिर धकेल्ने खतराप्रति सधै सबै सजक हुनैपर्छ । विव्यस गठनको मर्म, भावना र मर्यादाको दायरामा रहेर अघि बढ्न सकियो भने अवस्यपनि शैक्षिक गुणस्तर सुधारमा योगदान पुग्ने नै छ ।