रोल्पामा बढ्दैः आफन्तबाटै अपराधका घटना

३रोल्पा । रोल्पामा हुने फौजदारी अपराधका अधिकांश घटनामा आफन्त छिमेकी र चिनेजानेकाहरु को संलग्नतामा हुने गरेको देखिएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जवरजस्ती करणी जस्ता घटनामा निकट र भरपर्दा भनिएका व्यक्ति नै संलग्न हुने गरेको देखिएको हो ।

अघिल्लो आर्थिक वर्षमा रोल्पामा घटेका कर्तव्य ज्यानका ६ वटा घटना मध्ये ५ वटा घटना आफन्त, छिमेकी र चिनेजानेका व्यक्तिबाट भएको देखिएको हो । घटना अनुसार छोराले बुवा, भाईले दिदी र ज्वाईले सासुको हत्याका १÷१ वटा घटना घटेका थिए । यसैगरि छिमेकीबाट २ वटा हत्या भएकोमा श्रोत नखुलेको हत्या १ वटा रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

यसैगरि अघिल्लो आर्थिक वर्ष जिल्लामा भएका १४ वटा जवरजस्ती करणीका घटना मध्ये सबै आफन्त , छिमेकी र चिनेजानेकाबाट भएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पामा दर्ता भएका १४ वटा जवरजस्ती करणीका उजुरी मध्ये ९ वटामा छिमेकी संलग्न भएको देखिएको छ । यसैगरि दाजुले बहिनीलाई, फुपाजुले भदैलाई, काकाले भतिजिलाई र छोराले आमालाई करणी गरेका १÷१ वटा उजुरी दर्ता भएका थिए । एउटा घटनामा अलि टाढाको तर परिचित व्यक्ति संलग्न भएको देखिएको छ ।

तालिका १ : घटनामा संलग्न अभियुक्त

श्रोतः जिल्ला प्रहरी कार्यालय रोल्पा (आव २०७६/०७७)

अधिकांश घटनामा नातागोता,छिमेकी र परिचित व्यक्ति संलग्न हुने भएकाले पक्राउ गर्न पनि सहज हुने गरेको प्रहरीको भनाई छ । चिनेजानेका व्यक्तिबाट वारदात हुँदा पिडितलाई किटानी जाहेरी दिन र प्रहरीलाई पक्राउ गर्न सहज भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता शंकर खड्काले भने । यस्तो घटनामा संलग्न भएको उजुरी पर्ना साथ प्रहरी अभियुक्त पक्राउ गर्न सफल भएको छ खड्काले भने ।

जिल्लामा कर्तव्य ज्यान र जवरजस्ती करणीका घटना वर्षेनी बढ्न थालेका छन । आर्थिक वर्ष २०७२÷०७३ मा कर्तव्य ज्यानका ५ वटा घटना घटेकोमो आर्थिक वर्ष २०७३÷०७४ मा यो संख्या ह्वात्तै बढेर ११ पुगेको थियो । आर्थिक वर्ष २०७४÷०७५ मा यो संख्या ४ र ०७५÷०७६ मा ५ थियो । अघिल्लो आर्थिक वर्षमा यो संख्या ६ रहेको थियो ।

यसैगरि आर्थिक वर्ष ०७२÷०७३ मा २ वटा जवरजस्ती करणी र १ वटा जवरजस्ती करणीको उद्योग भएको थियो । आर्थिक वर्ष ०७३÷०७४ मा ८ वटा जवरजस्ती करणी र ३ वटा जजरजस्ती करणी उद्योगका घटना भएका थिए । यसैगरि आर्थिक वर्ष ०७४÷०७५ मा ५ वटा जवरजस्ती करणी र ३ वटा जवरजस्ती करणीको उद्योगको घटना भएका थिए । आर्थिक वर्ष ०७५÷०७६ मा जवरजस्ती करणीको ८ र जवरजस्ती करणीको उद्योग १ घटना भएका थिए ।

अघिल्लो आर्थिक वर्षमा यसको मात्रा ह्वात्तै बढेको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा १४ वटा जवरजस्ती करणी र १ वटा उद्योगको मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । कोरोना संक्रमणसँगै लामो समयसम्म भएको लकडाउनका कारण अघिल्लो वर्ष महिला हिंसाका अधिकांश घटना बढ्ने क्रममा जवरजस्ती करणीका घटना समेत बढेको देखिन्छ ।

लकडाउनले सामाजिक सचेतिकरणका कार्यक्रम गर्न नपाउदा पनि अघिल्लो वर्ष महिला हिंसाका घटना अलिक बढि देखियो जिल्ला प्रहरी प्रवक्ता शंकर खड्काले भने । समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न अहोरात्र खटिरहेको प्रहरीले महिला हिंसा न्यूनिकरणलाई प्राथमिता दिएको छ प्रवक्ता खड्काले भने ।

आफन्त छिमेकी र चिनेजानेकाबाटै महिलाहरु सुरक्षित नहुने अवस्थाले हाम्रो सामाजिक सम्बन्ध कता जाँदैछ भन्ने कुराको संकेत हो महिला मानवअधिकार रक्षक संजाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले भनिन । परिवार, आफन्त, छिमेकी र चिनेजानेकाबाट असुरक्षित हुने महिला कहाँ गएर सुरक्षित हुने आचार्यले प्रश्न गरिन ।

प्रकाशित मिति : २०७७ असोज ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस