४असोज,रोल्पा । रोल्पा सुनिलस्मृति गाउँपालिका –४ का दिलसान विष्ट कुखुरापालन व्यवसायबाट हिजोआज राम्रो आम्दानी गर्न थालेका छन्। विदेशको दुःख भुलेर गाउँमा फर्किएर व्यवसायायमा लागेका विष्टको दैनिकी कुखुरा रेखदेख र सुसारमा बित्ने गरेको छ।
विदेशको कष्टकर जीवन त्यागेर व्यावसायिक कुखुरापालन रोजेका उनी अर्काको देशमा भन्दा आफ्नै गाउँघरमा उज्जवल भविष्य देखिरहेका छन्। एक वर्ष अघि मात्रै १२ लाख लगानीमा ‘साइल एग्रिकल्चर फर्म’ सञ्चालनमा ल्याएका उनी, सात वर्ष दुबई बस्दा अनेकन दुःख भोग्नु परेको अहिलेपनि सम्झिन्छन्।
‘परिश्रम गरे यही सफल हुन सकिन्छ भन्ने अठोटले व्यवसाय सुरु गरेको हुँ –उनले भने।’ ब्रोइलर जातका कुखुरा पालन गर्दै आएका विष्ट विदेशको ४० डिग्री तातो घाममा काम गर्नु भन्दा जन्मे, हुर्केको गाउँमा थोरै लगानीमा व्यवसाय गर्नु उचित भएको बताउँछन्।
‘पार्सपोर्ट सिरानीमुनि थन्क्याएको छु, अरुको देशमा दुःख गर्नु छैन। अब विदेश जानु छैन, आफ्नै देशमा दुःख गरे मनग्य आम्दानी हुन्छ।’ कुखुराको फार्ममा छिरेर कुखुरा देखाउँदै विष्टले भने।
विष्टले कुखुरापालनबाट एक लटमा १ लाखसम्म आम्दानी गर्दै आइरहेका छन्। यो वर्ष बन्दाबन्दी ९लकडाउन०ले बजारीकरणमा केही समस्या भए पनि व्यवसायबाट भने घाटा नलागेको उनको भनाई छ। विष्टको फार्ममा अहिले १ हजार ६ सय ब्रोइलर कुखुरा रहेका छन्।
कुखुराबाट भएको आम्दानीले घर व्यवहार सञ्चाल गर्न र छोराछोरी पढाउने गरेका छन्। उनी भन्छन् –‘काम गर्ने इच्छाशक्ति भएपछि कुनै पनि व्यवसायमा लगानी गरे पनि घाटा हुँदैन, मैले कुखुराबाट राम्रै आम्दानी गरेको छु।
नेपालमा धेरै आम्दानी त गर्न सकिदैन। तर, थोरै भएपनि आफ्नो घर परिवारसँग आफ्नै देशमा बसेर कामगर्नु ठूलो कुरा हो।’
सीप र क्षमता बोकेर विदेश जाने मानिसले भने दुःख नपाउने विष्ट बताउँछन्। सीप र क्षमता बिना नै विदेशीय दुख पाउनु बाहेक अरु केही नहुँने उनको भनाई।
विदेशमा गरेका दुःख आफनै देशामा गरिए देशको आर्थिक रुप पनि बलियो हुने विष्टले बताए। जिल्लामा पछिल्लो समय विदेशबाट फर्किएका युवाहरु विभिन्न व्यवसायमा लागेका छन्।