
४ असोज, काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक ४४.३४ अङ्कले बढेर दुई हजार २९.७८ अङ्कमा कायम भएको छ ।
आज विभिन्न दुई सय ७८ कम्पनीका १ करोड १२ लाख ६४ हजार ३ सय नौ कित्ता शेयर एक लाख १९ हजार ३ सय ५९ पटक खरिदबिक्री हुँदा ३ अर्ब २९ करोड ३९ लाख २१ हजार तीन सय ६८ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा जलविद्युत् र वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । जलविद्युत् समूहको उपसूचक ५.३१ प्रतिशतले बढेको छ । भने वित्त समूहको उपसूचक ४.३८ प्रतिशतले बढेको छ । आजको कारोबारमा सबै समूहका उपसूचकमा हरियाली देखिएको छ ।
आज चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
साथै सबैभन्दा धेरै गुमाउने कम्पनीमा एनआईबीएल ग्रोड फन्डको शेयर मूल्य ४.०७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै २० करोड १८ लाख ३६ हजार चार सय ८३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सात लाख २९ हजार २३२ कित्ता शेयर किनबेच भएको छ ।