
११असोज, रोल्पा। सामाजिक संजालको प्रयोग र यसका सकारात्मक अनि नकारात्मक पक्षका घटनाहरु छरपस्ट भईरहदा रोल्पामा अनौठो घटना घटेको छ।
फेसबुकको भिडियो कल कुराकानी अनि त्यसपछिको माया प्रेमले एक जोडी भेट हुन नपाउदै सधैंका लागि बिछोडिएको छ। सहमतीमा अनलाइनबाट विवाह गरेर रोल्पा पुगेकी पूर्वी नेपालको भोजपुरकी एक युवतीको आईतबार दुःखद मृत्यु भएको छ।
रोजगारीका लागि साउदी अरब पुगेका त्रीवेणी ७ गाङका प्रदिप परियार र पूर्वी नेपालको भोजपुरकी ३५ वर्षीया लक्ष्मी राईबीच सामाजिक संजालमा माया पिरती बस्यो। लामो समय फेसबुकमा प्रेम सम्बन्धमा रहेका उनिहरुले आपसि सहमतीमा गत वर्ष अनलाइन विवाह गरे।
विवाह गरिसकेपछि श्रीमानको घरमा जानु पर्ने संस्कार अनुसार लक्ष्मी राई भोजपुरबाट श्रीमानले दिएको ठेगाना अनुसार घर खोज्दै रोल्पा पुगिन्। घरमा रहेका ८७ वर्षीय ससुरा अनि पालिएका चौपायाको स्याहार गर्दै श्रीमान आउने दिनको प्रतिक्षामा उनले करिब ८ महिना त्यहीं बिताईन्।
छोरा बिदेश भए पनि बुहारी आए पछि घरमा बुढा ससुरा दङ्ग परे। दुर्गम रोल्पा पुगेकी लक्ष्मीको दैनिकि बुहारीका रुपमा सुरु भयो। श्रीमान आउने प्रतिक्षामा रहेकी लक्ष्मीको आईतवार गाउँमै घास काट्न गएकी भिरबाट लडेर मृत्यु भए पछि प्रदिपसंग भेट हुने सपना तुहिएको छ।
रोल्पा प्रहरी प्रमुख नरेश सुवेदीले सामाजिक संजालबाट प्रेम गरि अनलाईन बिहे गरेर श्रीमानको प्रतिक्षामा बसेको घटना नौलो भएको बताउँदै घटना बारे अनुसन्धान भईरहेको बताए। ‘उनको माईतीमा खबर गरेको मृतकका दाजुले शंका लागे अनुसन्धान गरिदिन नभए कानुनी प्रकृया पुरा गरेर अन्त्येष्टीका लागी अनुरोध गरेका छन्।’
भेट हुन नपाउँदै प्रेमिकाको मृत्यु भएपछि बिदेशमा रहेका प्रदिप अनि गाउँ यतिबेला शोकमा डुबेको छ। घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरिक्षक जिबराज थापाले पोष्टमार्टमका लागि शव दाङको घोराही पठाईएको बताए। नागरिक दैनिकबाट