रोल्पाका स्थानीय तहका कर्मचारीले शुक्रबारदेखी पेन डाउन गर्ने

फाइल तस्विर

रोल्पा। सरकारले ल्याउन लागेको सङ्घीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै आन्दोलन गर्दै आएका रोल्पाका स्थानीय तहका कर्मचारीहरूले शुक्रबारदेखी पेन डाउ गर्ने भएका छन् ।

सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलन गरिरहेका छन् ।

विहिबार स्थानीय तह कर्मचरी संघर्ष समितिका रोल्पाका संयोजक धर्मराज डाँगी विज्ञप्ती जारी गर्दै स्थानीय तहबाट हुने अत्यावश्यक काम बाहेक अन्य सबै काम अनिश्चतकालका लागि पेन डाउन गर्ने जनाएका हुन् ।

रोल्पामा मात्र होइन देशभरका स्थानीय तहका कर्मचारीहरु सोमबारदेखी सङ्घीय निजामती सेवा ऐन विरुद्ध आन्दोलन गरी रहेका छन् ।

स्थानीय तहका कर्मचारीलाई निजामतिको परिभाषाभित्र समेटिनुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनैपनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग उनीहरुको छ ।

प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस