२८असोज, रोल्पा । रोल्पा नगरपालिका वडा नम्बर ६ कोटगाउँको दार्बोटमा निर्माण भएको सहिदस्मृति प्रवेशद्वारको उद्घाटन गरिएको छ । नगरप्रमुख पूर्ण केसीले एक कार्यक्रमका बीच रिवन काटेर उद्घाटन गर्नुभयो । रोल्पा नगरपालिकाको आर्थिक सहयोगमा निर्मित उक्त गेट स्थानीय उपभोक्ता समितिले निर्माण गरेका हुन् । रोल्पा नगरपालिकामा रहेका एकसय बढी सहिदहरुको सम्झनामा नगरका महत्वपूर्ण स्थानहरुमा यसप्रकारका गेटहरु निर्माण गरिएको नगरप्रमुख केसीले बताउनुभयो ।
रोल्पाको सुनिलस्मृति र नगरपालिकाको सिमानामा रहेको खुमेलमा पनि यसैप्रकारको सहिदस्मृति गेट निर्माण गरिएको छ । दार्बोटमा निर्माण गरिएको सहिद गेटको भने आकृति सुन्दर र भिन्न रहेको छ । तीनकुने द्वारका रुपमा रहेको सहिद गेटको शिरमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ भने नगरपालिकाभित्र तत्कालीन राज्य र बिद्रोही पक्षद्वारा मारिएका १ सय २८ जना सहिदहरुको नामाकरण गरिएको छ । सहिदमार्गबाट जिल्ला सदरमुकाम लिबाङ छुट्टिने दार्बोट जनयुद्धसँग जोडिएको ऐतिहासिक ठाउँ समेत हो ।
यस स्थानलाई युद्धपार्कका रुपमा समेत विकसित गर्ने तयारी नगरपालिकाले गरेको नगरप्रमुख केसीले बताउनुभयो । दार्बोटका जंगलमा आज पनि भग्नावशेषका रुपमा लडाईमा प्रयोग हुने बंकरहरु रहेका छन् । निकै घना जंगल रहेको यस दार्बोटक्षेत्रमा तत्कालीन माओवादीको तालिमस्थल समेत थियो । यसमार्ग भएर धेरै गाउँपालिकाहरुमा यातायात चल्ने भएकाले यसद्वारको महत्व र आकर्षण रहेको नगर उपप्रमुख मनकुमारी घर्तीको भनाई छ । स्थानीय उपभोक्ताले करिब १७ लाख बढी रकम लागेको बताइरहँदा नगरपालिकाले भने ११ लाख रुपैंया निर्माण उपभोक्तालाई प्रदान गरेको र बाँकी रकम प्राविधिक स्टीमेटको आधारमा प्रदान गर्ने प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताउनुभयो । द्वार नजिकै महिला र पुरुषका लागि सार्वजनिक शौचालयको समेत उद्घाटन गरिएको छ । कुल ७ लाख ५५ हजार ८ सय ७३ रुपैंयाको लागतमा रहेको सार्वजनिक शौचालयको उद्घाटन भएसँगै अब यात्रुहरुलाई राहत हुने वडा अध्यक्ष तुलबहादुर घर्तीमगरको भनाई छ ।
सहिदस्मृति द्वारमा नामाकरण गरिएका सहिद नरबहादुर पुन ‘ज्वाला’का दाइ लालबहादुर पुनको अध्यक्षतामा गरिएको उद्घाटन कार्यक्रमको सञ्चालन प्रेमकुमार घर्तीमगरले गर्नुभएको थियो । कार्यक्रमममा नगर प्रमुख पूर्ण केसीले रोल्पा नगर नगरपालिकाको समग्र विकासको चिनारीको रुपमा रहेको गेटको निकै महत्व रहेको बताउनुभयो । विकास निर्माणका क्रममा नगरपालिकाले नगरका विभिन्न महत्व बोकेका क्षेत्रहरुमा कुनै न कुनै विकासका योजनाहरु ल्याउने उहाँको भनाई छ । कार्यक्रममा राजनैतिक दलहरुको तर्फबाट बोल्दै नेकपाका नगर अध्यक्ष फबिन्द्र आचार्य क्षितिजले समग्र विकासका नाममा सहिदगेटमा एउटाको मात्र नामाकरण त्यति उचित नभएता पनि सबै सहिद परिवारको सम्मान हुने ढंगले निर्माण गरिएको प्रवेशद्वारको गरिमा महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा सहिद परिवारका तर्फबाट बोल्दै प्रजनी घर्तीमगरले सहिदहरुको सम्मान गरिएकोमा खुसी व्यक्त गर्नुभयो । नगरप्रमुख पूर्ण केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख मनकुमारी घर्ती, प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, वडा नम्बर ६ का अध्यक्ष तुलबहादुर घर्ती, नेकपाका जिल्ला सदस्य मोहन विक्रम केसी, नेकपाका नगर अध्यक्ष फबिन्द्र आचार्य क्षितिज, नेपाली काँग्रेसका नगर उपसभापति नरबहादुर खत्री, दार्बोट प्रहरी चौकीका प्रमुख अम्मर बहादुर थापाक्षेत्री, नगरपालिकाका योजना अधिकृत सुदिप डाँगी, प्राविधिक रमेश बुढा, पूर्व कोटगाउँ गाविस अध्यक्ष गन्जबहादुर केसी, सहिद परिवारहरु श्रिष्मा बुढा, प्रजनी घर्ती, युद्ध परियार लगायतको आतिथ्यता रहेको थियो ।