कारोना रोकथाम र व्यवस्थापनबारे अभिमुखीकरण

असोज, रोल्पा ।
कोभिड–१९ संक्रमण, रोकथाम, उपचार तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रम रोल्पामा सम्पन्न भएको छ । रोल्पा नगरपालिकाको आयोजना तथा आईएनएफ नेपाल रोल्पाको सहयोगमा कोभिड–१९ संक्रमणका सम्भावित स्रोत वा कारणहरुको पहिचान गर्ने संक्रमण अनुसन्धान र कन्ट्रयाक्ट ट्रेसिङ गर्ने पद्धतिको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

अभिमुखीकरणको सहजीकरण गर्दै स्वास्थ्य कार्यालय रोल्पाका तथ्यांक सहायक एवम् कोरोना फोकल पर्सन अरुण भिटुले कोभिड १९ कोरोना रोगका १५ वटा लक्षणहरुका बारेमा सहजीकरण गर्नुभएको थियो । कोरोना पोजेटिभ देखिएका ब्यक्तिहरुको सम्पर्कमा आएको ५ दिनपश्चात मात्रै परीक्षण गरेमा सहीतवरले रिपोर्ट आउने भिटुले जानकारी दिनुभयो । उहाँले लक्षण नदेखिएको खण्डमा ६ हप्तासम्म पनि कोरोना सर्नसक्ने सम्भावना रहेको हुँदा सचेत हुन सबैलाई आग्रह गर्नुभयो ।

यस्तै सहजकर्ता स्वास्थ्य कार्यालयका कुमार थापाले नजिकको र बढी जोखिममा भएको कन्ट्रयाक्टका बारेमा सहजीकरण गर्नुभयो । कोरोना लागेका ब्यक्तिबाट १५ मिनेट भन्दा बढी १ मिटरको दुरी रहेको खण्डमा, एउटा घरभित्र बसोबार गरेमा, संक्रमितलाई छोएमा, पिपिई नलगाई रेखदेख तथा हेरचाह गरेमा, सँगै यात्रा गरेको वा नजिकको सिटमा बसेको खण्डमा अर्कोव्यक्ति नजिकको कन्ट्रयाक्ट रहने भएको हुँदा अर्को ब्यक्तिलाई सर्नसक्ने सम्भावना रहेको बताउनुभयो । स्वास्थ्यकर्मी थापाले हाल जोखिमपूर्ण यात्राका कारण समुदायसम्म कोरोना दिनप्रतिदिन भयावहरुपमा फैलिरहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पूर्ण केसीले दशैं, तिहारको समयमा रोगको जोखिम धेरै हुने भएकाले सबैलाई सावधानी अपनाउन अनुरोध गर्नुभयो । यसप्रकारका सचेतनाका कुराहरु समुदायमा सिकाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । विशेषगरी बाहिरबाट आउने रोल्पालीहरुले जोखिमपूर्ण यात्रा नगर्न उहाँको आग्रह थियो । लक्षण देखिने र नदेखिने गरी धेरै प्रकारका कोरोना रहेको हुँदापनि विशेष सावधानी अपनाउनका लागि आग्रह गर्नुभयो ।
नगर प्रमुख केसीको अध्यक्षतामा आयोजित अभिमुखीकरणमा नगर उपप्रमुख मनकुमारी घर्ती, नगरपालिका स्वास्थ्यशाखा अधिकृत टंक गिरी, नगरपालिकाका विभिन्न शाखाका प्रमुख, प्रतिनिधिहरु, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस