माहुरी होमद्वारा किशोरकिशोरीलाई तालिम

असोज, रोल्पा ।
समग्र लैंगिक उत्तरदायित्व जवाफदेहिता सुदृढिकरणका लागि सहज परियोजना माहुरी होमले किशोर, किशोरीलाई जीवन उपयोगी सीप विकास तालिम प्रदान गरेको छ । सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुद्वारा सञ्चालित मधेश मानव अधिकार गृह (माहुरी होम)ले सहज परियोजना र भिएसओको सहयोगमा तालिम दिएको हो ।

२ दिने तालिममा रोल्पा नगरपालिकाका २० जना किशोर, किशोरीहरुको सहभागिता रहेको थियो । तालिमको उद्घाटन गर्दै रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले कोभिड १९ को महामारीपूर्ण अवस्थामा विशेष सावधानी अपनाएर घरपरिवार र समाजमा पनि सबैलाई सचेतना फैलाउन सबै किशोर किशोरीहरुलाई आग्रह गर्नुभयो । जीवनउपयोगी सीप विकास तालिमको पूर्ण सदुपयोग गर्दै व्यवहारमा उतार्न सबै सहभागीलाई अनुरोध गर्नुभयो । जीवन रहे सबै रहने भएको हुँदा स्वस्थ्य जीवनयापनका लागि व्यवहारिक कार्यहरु अपनाउँदै लानुपर्नेमा उहाँको जोड रहेको थियो । सामाजिक रुपान्तरणका लागि आजका किशोराहरु सशक्त भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले किशोराहरु विभिन्न कुलत, ड्रग्स सेवन, अनैतिक कार्यहरुमा बढी प्रेरित हुने गरेको तीतो यथार्थता रहेको हुँदा जीवन उपयोगी सीपले सकारात्मक परिवर्तन ल्याउनेमा जोड दिनुभयो । अपराधिक कार्यहरुमा किशोर, किशोराहरु प्रयोग हुने गरेको हुँदा विशेष सचेतता अपनाउन सबैलाई आग्रह गर्नुभयो । रोल्पामा बढ्दो बालविवाहका कारण धेरै समस्या र चुनौतीहरु आउने गरेको हुँदा न्युनीकरणतर्फ सबैको जागरुकता हुनुपर्नेमा जोड दिनुभयो ।

यस्तै नगर उपप्रमुख मनकुमारी घर्तीले समाजमा विकृति र बिसंगतीको प्रत्यक्ष शिकार किशोरी तथा महिलाहरु भएको हुँदा यसको प्रतिकार गर्न सबैको भूमिका महत्वपूर्ण हुनुपर्ने बताउनुभयो । रोल्पामा भागी विवाह र बालविवाहले ल्याएको बिकृति बिसंगतीको बिरुद्धमा आवाज उठाउन र सबैलाई सचेत बनाउनका लागि किशोर, किशोरीहरुको महत्वपूर्ण भूमिका हुनेमा उहाँको जोड रहेको थियो । जीवनमा अतिनै महत्वपूर्णरुपमा रहेका ज्ञानवद्र्धक कुराहरुलाई ब्यवहारमा लागु गर्दै समाजलाई सकारात्मक दिशातर्फ लैजानमा सबै सहभागीलाई अनुरोध समेत गर्नुभयो ।

तालिममा सहभागीहरुलाई स्वागत गर्दै माहुरी होम रोल्पा र प्युठानका कार्यक्रम अधिकृत दिनेश चौधरीले रोल्पामा बढ्दो बालविवाह न्युनीकरणका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । जीवनउपयोगी सीपले किशोर, किशोरीहरुको ब्यवहार, कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

रोल्पा नगरपालिकाका वडा नम्बर १ र ६ मा माहुरी होमले कार्यक्रम सञ्चालन गरेको रोल्पा नगरपालिकाका सामाजिक परिचालक लोकेन्द्र सेनले बताउनुभयो । २ दिने तालिम उद्घाटन कार्यक्रमको सञ्चालन लोकेन्द्र सेनले गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाका प्रेस संयोजक देवी गुरुङको समेत आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस