
२८असोज, रोल्पा । भेटघाटका लागि दिदीको घर गएकी १६ वर्षीया कालीमाया विक (नाम परिवर्तन) बलात्कृत भएकी छिन् । परिवर्तन गाउँपालिका–५, राङ्कोटकी विक पाछाबाङमा दिदीको घर गएकै अवस्थामा गत ३० भदौमा बलात्कृत भएकी हुन् । दिदीको गाई चराउन गएकी उनलाई अपरिचित दुईजनामध्ये एकले समाउने र अर्कोले जबर्जस्ती बलात्कार गरेको पीडित विकले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।
‘दुवैजना रक्सीले मातिएका थिए, नजिक आएर जिस्काउन थालेपछि मैले प्रतिवाद गरेँ’ पीडित विकले भन्नुभयो, ‘जबर्जस्ती समाएर तान्दै रुखमुनी लगेर एउटाले मेरो मुख थुन्ने र अर्कोले बलात्कार गरे ।’ त्यसलगत्तै आफूले घरमा आएर दिदी भिनाजुलाई खबर गरेको पीडित विकले बताउनुभयो । बलात्कृत भएको थाहा पाएपछि नजिकै रहेको विद्यालयमा बल खेलिरहेका केटाहरुलाई जम्मा पारेर सोधपुछ गर्दा पनि बलात्कारी पत्ता नलागेपछि प्रहरी चौकी पाछाबाङलाई जानकारी दिएको पीडितका भिनाजु पुरण विकले बताउनुभयो । ‘बलात्कारी पत्ता लगाउन मैले पनि निकै प्रयास गरेँ र प्रहरीलाई पनि आग्रह गरेँ’ पुरणले भन्नुभयो, ‘तर यति लामो समयसम्म पनि बलात्कारी पत्ता नलाग्दा अचम्मित छु ।’
तीनदिनसम्म केटाहरुको भेला
बलात्कार भएको खबर पाएलगत्तै प्रहरी चौकी राक्सेबाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । बलात्कृत केटीले ती केटाहरु को थिए भन्ने थाहा नपाए पनि अनुहार देखेपछि चिन्नसक्ने बताएपछि गाउँभरिका केटाहरुलाई जम्मा गरियो । हुलियाको आधारमा बलात्कारी पत्ता लगाउने हेतुले प्रहरीले पाहाबाङ र छिमेकी गाउँका सबै केटाहरुलाई स्थानीय कुङ्ग्री भन्ने ठाउँमा जम्मा पा¥यो । पीडित स्वास्थ्य जाँचका लागि रोल्पा अस्पताल रेउघा आएकाले सबै केटाहरुको फोटो प्रहरीले खिच्यो र केटीले भनेको हुलियाको आधारमा अनुसन्धान सुरु ग¥यो ।
बलात्कार भएको दोस्रो दिन युवाहरु जम्मा गरेर फोटो संकलन गर्दा पनि प्रहरी सफल हुन सकेन । बलात्कृत केटीलाई फोटो देखाउँदा बलात्कारी पत्ता नलागेपछि पुनः सबै केटाहरुलाई प्रहरीले जम्मा ग¥यो र केटीलाई चिन्न लगायो । केटीले दिएको हुलियाको आधारमा प्रहरीले शंकास्पद मानेको व्यक्तिलाई समेत पीडितले ‘होइन’ भनिदिएपछि प्रहरीलाई थप समस्या प¥यो । अहिले घटना घटेको झण्डै तीनसाता बढी भइसकेको छ । ‘प्रहरीलाई उजुरी दिए पनि खासै चासो दिएर अनुसन्धान गरेको छैन’ पीडितका भिनाजु पुरण विकले भन्नुभयो, ‘कसैले साथ दिएनन्, पैसा पनि छैन, अब यत्तिकैमा हराउने त होला नि ।’ यता रोल्पा प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले भने अनुसन्धान जारी रहेको तर बलात्कारी अझै नभेटिएको बताउनुभयो ।
धेरै घटना आफन्तबाटै
जिल्लामा हुने अधिकांस जबर्जस्ती करणीका घटना आफन्त र छिमेकीबाट हुने गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्षमा दर्ता भएका १४ यस्ता घटनामध्ये नौ वटामा आफन्त र छिमेकीको संलग्नता रहेको पाइएको हो । तीमध्ये दाजुले बहिनीलाई, फुपाजुले भदैलाई, काकाले भतिजीलाई र छोराले आमालाई समेत करणी गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरी तथ्यांकअनुसार जिल्लामा आ.व. २०७२÷०७३ मा दुईवटा जबर्जस्ती करणी र एकवटा जबर्जस्ती करणी उद्योगको उजुरी परेको थियो । आ.व. २०७५÷०७६ मा आउँदा जबर्जस्ती करणीमा ८ र जबर्जस्ती करणी उद्योगमा एकवटा उजुरी दर्ता भएको थियो । यो क्रम बृद्धि भई गत आ.व.मा जबर्जस्ती करणीमा १४ र करणी उद्योगमा एकवटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।