रोल्पाको विकासमा राजनीतिक दलको भूमिका

विकासको गतिलाई उचित दिशानिर्देश गर्ने भनेको राज्यको नीति हो जो राजनीतिबाट निर्देशित हुने गर्दछ । रोल्पा जिल्ला पनि देशको राजनीतिबाट अछुतो छैन । स–साना राष्ट्रिय घटनाक्रमले पनि प्रभाव पारिरहेको हुन्छ । तथापि पछिल्लो राज्यको पुनःसंरचनासँगै केही अधिकार स्थानीय तहलाई प्राप्त भएको छ ।

स्थानीय तहले आफ्नो अधिकार प्राप्त गरेर विकासका विभिन्न आयामलाई थप गति प्रधान गर्न सक्छन् । वडादेखि नै  राजनीति दलको सहभागिता रहने भएको हुँदा हरेक निर्णय र प्राप्त उपलब्धिको भागिदार राजनीतिक दल नहुने कुरै भएन ।

पार्टीको केन्द्रीय सर्कुलर, घोषणापत्र, उम्मेदवारी दिँदा बखत  राजनीति दस्तावेजमा आधारित भएर तयार पारेका अवधारणा पत्र चुनाव पछि सम्झने कमै मात्र निर्वाचित जनप्रतिनिधि हुन्छन् । एउटा निश्चित शक्तिको घेरामा बसेर काम गर्ने जनप्रतिनिधि प्रशस्त मात्रामा छन् । जनताको वास्तविक माग र आवश्यकता एकातिर छ अनि स्थानीय तहको नीति तथा कार्यक्रम अर्कोतिर देखिन्छ ।
रोल्पा जिल्लाको विकासको गति दिनका लागि वृहत् सोच् चिन्तन भएका जनप्रतिनिधिको आवश्यकता छ तर कुनै प्रकारले स्थानीय योजना निर्माण तथा ग्रामीण स्तरको गहन चिन्तन, बहस विमर्श र गहिरो अध्ययन अनुसन्धान गरेका जनप्रतिनिधि पाउन मुस्किल छ ।

सम्भवत स्थानीय तह सञ्चालन ऐन नियमको अध्ययन गर्ने क्षमता राख्ने राजनीतिक दलबाट आएका प्रतिनिधि अत्यन्तै कम छन् भन्ने लाग्छ । यस्तो अवस्थामा बुझेर भन्दा निश्चित समूहको बहकाउमा लागेर निर्णय गर्ने  अवस्था सृजना हुने प्रबल सम्भावना रहन्छ । रोल्पा जिल्लाले यस प्रकारको अप्ठ्यारो सामना यथेष्ट मात्रामा व्यहोरेको देखिन्छ । 

रोल्पा जिल्लाले आफ्नै प्रकारको चुनौती सामना गरिरहेको छ । द्वन्द्वकालमा सबैभन्दा धेरै नागरिक गुमाएको छ । युवा पङ्क्ति पलाएन भए । देशमा भएको द्वन्द्वले जनताको चेतनास्तर उठ्यो भनियो तर व्यवहार हेर्ने हो, भने द्वन्द्वको ठूलो प्रभाव परेको रोल्पाको उत्तरी भेगभन्दा द्वन्द्वको कम प्रभाव परेको दक्षिण भेगमा विकासले गति लिएको र जनताको जीवनस्तर उठेको वा आर्थिक क्रियाकलापका कारण जीवन स्तरमा परिवर्तन भएको देखिन्छ । आर्थिक क्रियाकलाप परिवर्तन भएसँगै जीवनस्तरमा समेत सकारात्मक परिवर्तन भएको छ । 

अबको गन्तव्य भनेको विगतको समिक्षा गर्दै आर्थिक सामाजिक, शिक्षा स्वास्थ्यको विकास, आर्थिक विकासका लागि नवीन आयायको विकास गर्न जरुरत छ । आजको दिनमा पनि विकास भनेको सडक निर्माण, भवन निर्माण मात्रै हो भन्ने प्रकारको भाष्य निर्माण गर्न खोजिएको छ । जनताले रोजगारी र उत्पादन माग गर्ने ठाउँ स्थानीय तह होइन भन्ने प्रकारको भावना विकास भएको छ ।

आजको दिन जति पनि रोजगार सृजना भएको छ र स्थानीय उत्पादनमा वृद्धि भएको छ त्यस कार्यमा स्थानीय तहको तात्विक भूमिका देखिदैन । आजको परिदृश्य सन्तोषजनक छैन तमाम युवा आफ्नोे समुदायमा केही गर्न सकिन्छ भन्ने सपना मारिसकेका छन् । वैदेशिक भूमिमा जान आतुर छन् । युवालाई उत्पादनमूलक कार्यमा जोड्ने र उद्यमशील बनाउन स्थानीय तह अग्रसरता देखाएको पाइदैन ।

व्यापक रुपमा युवाले भित्र्याएको विदेशी मुद्रालाई समेत राज्यको ठोस प्रकारको नीति नहुँदा दीर्घकालीन रुपमा उत्पादन दिने क्षेत्रमा लगानी भएको देखिदैन । जबसम्म युवाले प्राप्त गरेको रेमिटेन्सलाई लामोसम्म प्राप्त हुने उत्पादनशील उद्योगमा लगानी हुने र लामो समयसम्म आय प्राप्त हुने बाताबरण नीति निर्माताले निर्माण गर्न आवश्यक छ ।

 रोल्पा जिल्ला आफैंमा लामो समय कठिन द्वन्द्वबाट गुज्रिएको जिल्ला हो र ठूलो मात्रामा धनजनको क्षति व्यहोर्नु पर्यो । तथापि त्यतिकै मात्रामा राज्यको नीति निर्माण तहमा प्रभाव पार्ने ठाउँमा अवसर पनि प्राप्त गरेको छ । २०६२÷६३ सालमा रोल्पा सदरमुकाम लिबाङसम्म मात्रै यातायातले जोडिएको थियोे ।

आज ७२ वटा वडा नै यातायात संजालमा जोडिएको छ । जति मात्रामा सुविधा प्राप्त हुँदै छ त्यतिकै मात्रा चूनौनी पनि थपिएको छ । ग्रामीण क्षेत्र यातायात संजालमा जोडिएसँगै स्थानीय स्तरमा उत्पादन भएका कृषिजन्य बस्तु र पशुपन्क्षीले बजार प्राप्त गर्ने सम्भावना त्यतिकै छ ।  स्थानीय स्तरमा जनताले उत्पादन गरेको बस्तु बजार सम्म पुराउने पुलको रुपमा काम काम गर्ने दायित्व स्थानीय सरकारको हो । सानो परिवारनै घरेलु उद्योगमा जोड्ने सम्भावना छ । 

आजको दिनमा रोल्पाको रुन्टीगढी, त्रिवेणी गाउँपालिकाका कृषकले मनग्ये मात्रामा तरकारी उत्पादन गरेर बजार पुराएका छन् । त्यस्तै थबाङ, परिवर्तन, सुनछहरी गंगादेव गाउँपालिकाका कृषकले मौसमी आलुले बजार पाउन थालेको छ । रोल्पा नगरपालिकाभित्र हिउँदे आलु र तरकारीले  बजार पाएको छ तर सदरमुकामको माग पूरा गर्न सकेको छैन ।सुनिलस्मृतिको मास तथा महले बजार पाउन थालेको छ । लुङ्ग्रीमा उत्पादन हुने कोदो बजारमा ठूलो माग छ । 

जिल्लामा प्रायःजसो स्थानमा हुने सुन्तला र कागतीको उत्पादन निरन्तर बढिरहेको छ र थप बजारको खोजी गरिएको छ । यस्तै तमाम अवसर हाम्रा सामु छन् । अबको दिनमा स्थानीय तहको लगानी सडकको सुधार र कृषिमा लगानी वृद्धि गर्न सकेको खण्डमा रोल्पाली जनताको शिक्षा र स्वास्थ्यको स्तर वृद्धि गर्नमा टेवा पु्ग्ने छ । तमाम अवसरको चाङमा बसेर अवसर र रोजगारीका लागि विदेश भौतारिरहेका युवालाई देशमै रोजगारीको ग्यारेन्टी गर्न सक्ने प्रचुर सम्भावना हाम्रा सामु जिवित छ । भन्ने गरिन्छ,जति धेरै चुनौती त्यति धेरै अवसर प्राप्त गर्न सकिन्छ ।

रोल्पाको विकासका लागि लाइफलाइनको रुपमा रहेको घोराही घर्तीगाउँ, थबाङ हुँदै पूर्वी रुकुम  मध्ये पहाडी राजमार्ग जोड्ने  सहिदमार्ग र सुलिचौर थबाङ जोड्ने सडकको स्तरउन्नति तथा कालोपत्रे चूनौतीको रुपमा रहेको छ । जसले रोल्पाको कृषि, पशुपालन र पर्यटनलाई थप गति दिन सक्छ र रोजगारका नवीन आयाम सृजना गर्न सक्छ ।  यतातिर ठिक ढंगले स्थानीय सरकार सरोकारवालाको ध्यान पुग्न सकेको छैन ।साथै शिक्षा र स्वास्थ्यमा लगानी वृद्धिको   साथै गुणस्तरमा वृद्धि आवश्यक छ ।

राज्य र नागरिकको शिक्षामा भएको लगानी आजको दिनमा  एउटै दिशातिर हिंडेको छैन । तथापि यो रोल्पाको मात्रै होइन राज्यको नै समस्या हो  । तर पनि यश प्रकारको समस्यालाई स्थानीय तह, प्रदेश र संघीय सरकारको समन्वयमा सुधार गर्न सक्ने वातावरण हुँदाहुँदै पनि ठूलो समस्याको रुपमा देखिन्छ ।

अर्कोतिर हरेक वर्ष श्रम बजारमा आउने युवा शक्ति गाउँमा टिक्न सकिरहेका छैनन् । रोल्पा जिल्लामा रहेको एक मात्रै ५० शैयाको रोल्पा जिल्ला अस्पताल भौतिक संरचनाले पूर्ण देखिन्छ तर दक्ष जनशक्ति र आवश्यक औजार नहुँदासम्म सम्म पूर्ण क्षमताको सेवा दिन सक्ने अवस्थामा छैन ।  हरेक पालिका बन्दै गरेका १५ शैय्याको अस्पताल कसरी सञ्चालन हुन्छन् , थप चुनौतीका रुपमा ठडिएका छन् । यस्तै यावत् चूनौतीको चाङमा रोल्पाले अवसर खोजिरहेको छ ।

रोल्पाको केही हदसम्म विकासका आधारशिला तयार  भएका छन् मात्र त्यसलाई उचित ढंगबाट गति दिन आवश्यक छ । पहिलो सुशासन र पारदर्शिता आवश्यक छ । यसका पछाडिको कारण भनेको हरेक वर्ष स्थानीय तहमा थुप्रिएको बेरुजु अनि महालेखाको प्रतिवेदन र समाचारमा आउने भ्रष्टाचारको गन्ध  हो  । यसलाई अन्त गर्ने भनेको राजनीतिक नेतृत्व नै हो । साथै रोल्पाको विकासको लागि दृष्टिकोण सहितको असल नेतृत्व, गाउँ र समाज पढेको जनताको आवाज सुन्ने सेवा प्रवाह गर्न सक्ने जनप्रतिनिधि र कर्मचारी संयन्त्र खोजिरहेको छ ।

अबको ३ वर्षमा कम्तीमा पालिका जोड्ने सडक कालोपत्रे, शिक्षा र स्वास्थ्य र सरसफाइको क्षेत्रमा दिगो संरचना निर्माण दक्ष जनशक्ति सहित गुणस्तर वृद्धि, कृषि र पशुपालनमा योजना सहितको बजेट परिचालन, आफ्नो गाउँ आफै बनाऔं भन्ने जनभावनालाई आत्मसात गर्ने स्थानीय तहबाट बजेट निर्माण गर्न आवश्यक छ । 

लोभ र भावबाट प्रेरित भएको स्थानीय नेतृत्वबाट यसप्रकारको कार्य गर्न संभव छैन । तर सुशासन र पारदर्शिता अनि मेरो दर सन्तानको लागि मात्रै होइन आम जनताको नेतृत्व गरिएको छु भन्ने सोच, चिन्तन र उन्नत इच्छाशक्ति भएको नेतृत्वबाट छोटो समयमा परिणाम दिन सक्ने योजना निर्माण कार्यान्वयन गर्न सकिन्छ । देश बन्छ भन्ने सपना भएको नागरिक र राजनीतिक नेतृत्वबाट नै समृद्ध समाज बन्न सक्छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस