७ माघ, रोल्पा । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा पर्ने खतरा बढ्दै गएको बताएका छन् । प्रेस सेन्टर नेपालले बुधबार रोल्पाको लिबाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पुनले शक्ति राष्ट्रहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएकाले त्यसको प्रत्यक्ष प्रभाव नेपालसहित दक्षिण एसियाली मुलुकहरूमा पर्न सक्ने चेतावनी दिए ।
भदौ २३ गते जेन्जी पुस्ताले गरेको आन्दोलन जायज भए पनि भदौ २४ गते भएको विध्वंसात्मक गतिविधिमा देशी–विदेशी शक्तिको घुसपैठ रहेको दाबी गरे । विदेशी शक्ति राष्ट्रहरूको स्वार्थका कारण ०८४ सालमा हुनुपर्ने निर्वाचन ०८२ मा भएको बताउँदै नेता पुनले नेपालको राष्ट्रिय स्वाधीनता चुनौतीपूर्ण अवस्थामा पुगेको टिप्पणी गरे।
नेकपा नेता पुनले आफूलाई नयाँ दल भनेर प्रस्तुत गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत परीक्षण भइसकेको दाबी गर्दै रास्वपाले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको बालेन शाहले देश चलाउन नसक्ने बताए । काठमाडौँ महानगरपालिकामा चार वर्ष कार्यकाल पूरा गर्दा पनि शाहले जनतासँग प्रत्यक्ष संवाद नगरी पर्दा पछाडिबाट शासन गरेको आरोप लगाए ।
लोकतन्त्रमा राजतन्त्रकालीन सामन्ती शैलीबाट देश चलाउन नसकिने उल्लेख गर्दै नेता पुनले रास्वपा नेता बालेन शाह काठमाडौँबाट निर्वाचन लडे हार्ने डरले आफ्नो निर्वाचन क्षेत्र छोडेर भागेको बताए नेता पुनले अग्रजहरूले बनाएको देश सग्लै राखेर भावी पुस्तालाई हस्तान्तरण गर्न राष्ट्रवादी शक्तिलाई मतदान गर्र्न आग्रह गरे । सम्भावित भूराजनीतिक द्वन्द्व टार्न मतदाताले विवेकपूर्ण निर्णय गर्ने विश्वास समेत नेता पुनले व्यक्त गरे ।


