टिमुर खेती आम्दानीको स्रोत बन्दै

६कार्तिक, रोल्पा । निर्वाहमुखी खेतीमा अल्झिएका रोल्पाली किसानका लागि टिमुर खेती गतिलो आम्दानीको स्रोत बन्दै गएको छ । बारीका ढिक अनि बाझो बारीमा पाइने टिमुर पछिल्लो समय आम्दानीको राम्रो स्रोत बन्न पुगेको हो । 

धान, मकै, जौ, गहुँ लगायतका वालीहरू बारीमा लगाएर जिविकोपार्जन गरिरहेका किसानलाई टिमुर खेती आम्दानीको मुख्य स्रोत बन्न थालेको छ । अचेल किसानले टिमुरको व्यावसायिक खेती नै गर्न थालिसकेका छन् ।

सुनीलस्मृति गाउँपालिका–७ तेबाङका डोरबहादुर विष्टको वारिको ढिक र बाझो रहेको क्षेत्रमा प्रसस्त मात्रामा टिमुरका बोटहरू रहेका छन् । पहिले केही मात्रामा टिमुरको बिरुवाहरू रहेको उनको बारीको ढिक अहिले टिमुरै टिमुरले ढाकेको छ । पछिल्लो समय अन्य खेतीबाट भन्दा टिमुर खेतीबाट मनग्य आम्दानी भैरहेको उनको अनुभव छ ।  विष्टले गत वर्ष टिमुरको खेतीबाट २ लाख भन्दा बढीको आम्दानी भएको बताए ।

’टिमुरबाट वर्षदिनसम्म खान, लाउन पुगेको छ, विष्टले भन्छन्,  ’टिमुरले राम्रो उत्पादन दिन थालेपछी बाझो बारी र अन्य खाली रहेको जमिनमा समेत धेरै मात्रामा टिमुरका बिरुवा लगाएको छु ।’ बारीबाट टिमुर सङ्कलन गर्न बर्सेनि सिजनमा केही मानिसलाई रोजगारी समेत दिदैँ आएका छन् । सिजनमा १०–१५ जनालाई छोटो समयको लागि रोजगार दिएको उनले दावी छ । अन्य खेतीलाई जस्तो हेरचाहको लागि समय खर्चनु नपर्ने भएकाले टिमुरको खेती गर्न सहज भएको उनको अनुभव छ ।

तेबाङको लेकमा विष्टले मात्र होइन त्यो भेगका अधिकांश कृषकहरूको आम्दानीको मुख्य स्रोत नै टिमुर बन्दै गएको छ । तेबाङका प्रायको बारीमा टिमुर पाइन्छ, टिमुर बेचेरै गाउँका धेरैले जिविकोपार्जन गरिरहेका छन् । गाउँको करिब ५०/६० घर परिवार टिमुरको खेतीमा संलग्न रहेका छन् । किसानले टिमुरलाई वैकल्पिक खेतीको रुपमा अघि बढाई मनग्य आम्दानी गरिरहेका छन् ।

अर्का किसान पूर्णबहादुर रोका जिविकोपार्जनका लागि गरिदै आएको खेतीबाट राम्रो उत्पादन नभएपछि टिमुर खेतीलाई नै व्यावसायिक खेतीका रुपमा अगाडि बढाउने सोच बनाएको बताउँछन । अहिले बारीको खाली रहेको अधिकांश भागमा टिमुरको बिरुवा रोप्ने गरेको उनी बताउँछन् । 

टिमुर खेती गर्दा खासै रोगको प्रकोप नहुने र छोटो समयमै उत्पादन दिने भएकाले कृषक यसप्रति आकर्षित हुँदै गएका छन्  । टिमुर खेती गर्नका लागि अन्य खेती जसरी गोडमेल तथा हेरचाह गर्न नपर्ने भएकाले किसान टिमुर खेती गर्न हौसिएका हुन् । 

गाउँ वा शहरतिर टिमुर भान्सामा मसलाको रुपमा प्रयोग गरिएपनि यो औषधि गुण भएको विषेश जडिबुटी हो । विभिन्न प्रयोजनका लागि टिमुर खरिदबिक्री हुँदै आएको छ । टिमुर प्राय साउन–भदौदेखि पाक्न सुरु गर्दछ र कात्तिक–मंसिरसम्म तिमुर टिप्ने चटारो हुन्छ । 

कतिपय गाउँमा टिमुर व्यापारीले मानापाठीको नापोबाट खरिदबिक्री गर्दछ्न ।  प्रती पाठी ५ सय रुपैयाँ देखि ८÷९ सय सम्ममा  खरिद हुने गर्दछ । कतिपय गाउँमा प्रति किलो ४÷५ सय रुपैयाँमा समेत किनबेच हुने गर्दछ ।

रोल्पामा व्यक्तिको निजि जग्गा, जमिन र राष्ट्रिय बनमा टिमुर पाईन्छ । राष्ट्रिय बन र निजी जमिनमा उत्पादन गरिएको टिमुर किसानले टिपेपछि व्यपारीले खरिद गर्छन् । किसानको घरसम्म पुगेर व्यापारीले टिमुर खरिद गरिदिने भएकाले किसान टिमुर खेती गर्न हौसिएका छन् । जिल्ला बन डिभिजनले कार्यालयले वर्षेनी टिमुर निकासीका लागि अनुमति प्रदान गर्दछ ।

प्रकाशित मिति : २०८१ कार्तिक ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस