
विशेषज्ञ स्वास्थ्य सेवाका लागि रोल्पाली जहिलै जिल्ला बाहिर जानुपर्ने वाध्यता छ । सामान्यदेखि जटिल स्वास्थ्य उपचारका लागि दैनिक जसो रोल्पाली ठूलाठूला शहर जानुपरिरहेको छ । स्वास्थ्य उपचारका लागि जिल्ला बाहिर जाँदा क्यौं धन, सम्पत्ति र समयको वर्वादी हुने गरेको छ । यसो हुनुमा जिल्लामै सबै प्रकारका विशेषज्ञ सेवा प्रवाह हुने अवस्था सिर्जना गर्न नसक्नु हो ।
जिल्लाको सदरमुकाम लिबाङ नजिकै रेउघा अस्पताल छ । ५० वेडको अस्पतालले अहिलेसम्म दरबन्दी अनुसार कार्यालय प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) पाएको छैन ।
अस्पतालले पछिल्लो समय १० औं तहका डाक्टरलाई मेसुको रुपमा पाएको छ । यो भन्दा अगाडि १० औं तहका पाएकै थिएन । खासमा यो अस्पतालमा ११ औं तहको वरिष्ठ कन्सल्टेन्ट वा चिकित्सक कार्यालय प्रमुख हुनुपर्ने हो । अस्पतालले गरेको अध्ययन (ओएनएम) अनुसार ११ औं तहको मेडिकल सुपरिटेन्डेन्ट सहित १८ जना चिकित्सकको दरबन्दी हुन आवश्यक छ । तर, जिल्लाको एकमात्र अस्पताल एकाध विशेषज्ञ सहितको थोरै चिकित्सकको भरमा चलिरहेको छ । यसले दिने सेवा पक्कै आममानिसले अपेक्षा गरे जस्तो हुँदैन ।
अस्पताल आएका विरामीले विशेषज्ञ उपचार सेवा नपाएपछि अन्यत्र शहरतिर रेफर हुनुपर्ने अवस्था हुन्छ । जसले गर्दा सामान्य विरामी पनि यहीँको अस्पताल आउनुका अलावा ठूलाठूला शहरका महँगा नीजि अस्पताल धाउनु परेको छ । हरेक पालिकाका विरामी ऋण धन गरेर जिल्ला बाहिर उपचारमा गैरहेका छन् । यसको यकिन तथ्यांक कसैले राख्ने गरेको पनि छैनन् । चासो पनि दिईएको छैन । वर्षेनी जिल्ला बाहिर उपचारमा जाँदा कति खर्च भएको होला ? अनुमान समेत गर्न सकिने अवस्था छैन ।
संविधानमा मौलिक हक भनिएको स्वास्थ्य उपचार पाउन आफ्नै जिल्लामा संभव बन्न सकेको छैन । यहीँको अस्पतालबाट प्रयाप्त विशेषज्ञ सेवा पाउने वातावरण निर्माण हुन नसक्नाले जनता कति मारमा छन् भन्ने बारे रोल्पाका दशवटै स्थानीय तहका सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधिले गम्भिर भएर सोंच्न जरुरी छ । प्रदेश सरकारले दरबन्दी परिपूर्ति गर्न सकेको छैन । छात्रवृत्तिमा अध्ययन गरेका मेडिकल अधिकृतहरु दुर्गम अस्पतालमा आउनै पर्ने भएकाले यो अस्पतालमा केही चिकित्सक आईरहेका छन् । अवधि पुरा गरेपछि कोही पनि यहाँ रोकिन सकेका छैनन् । यसले जिल्लाको स्वास्थ्य उपचारको अवस्था दयनीय हुने गर्छ नै ।
रेउघा अस्पतालमा विशेषज्ञ चिकित्सक किन आउन मान्दैनन् त ? आएका पनि किन रोकिन सक्दैनन् त ? यसबारे चिन्तन गरेर समाधानको उपाय खोज्न जरुरी छ । पहिलो कुरा त! प्रदेश सरकारले रोल्पा जस्तो पहाडी जिल्लामा आउने चिकित्सकको हकमा थप सेवा सुविधाको व्यवस्था र सेवा गणनामा थप अंकको व्यवस्था गर्न जरुरी छ । दोस्रो रोल्पाका स्थानीय तहले रेउघा अस्पतालमा विशेषज्ञ चिकित्सक ल्याउन र टिकाईराख्न थप सुविधा (इन्सेन्टीभ) दिएर वा स्वाथ्यकर्मी (जनशक्ति) सहयोग गर्न आवश्यक छ ।
पालिका–पालिकामा १५ वेडका अस्पताल बनिरहेका छन् । भवन बनेर मात्र केही हुनेवाला छैन । पालिकाको जनघनत्व अनुसार १५ वेडका अस्पतालमा विरामीको प्रवाह (चाप) नभएर चल्न सक्ने अवस्था हुने छैनन् । पालिकाले डा. सहिको स्वास्थ्यकर्मीलाई सेवा सुविधा समेत दिन सक्ने अवस्था रहन्न । तसर्थ, सबै पालिकाले अब जिल्लाको एक मात्र रेउघा अस्पतालाई सबै पालिकाका विरामीले विशेषज्ञ सेवा पाउने गरी व्यवस्था गर्न एउटै सोंच बनाउन आवश्यक भैसकेको छ ।
रोल्पा जस्तै अन्यत्रका पहाडी जिल्लामा जाने चिकित्सकलाई त्यहाँका सबैपालिकाले थप सुविधा दिएर आकर्षण गरिरहेका छन् । हामीले रोल्पामा त्यसो गर्न सक्दैनौ ? अवश्य सक्छौ । पालिकाले दिने थोरै सुविधाले तपाईको पालिकाका विरामीले जिल्ला बाहिर गएर गर्ने लाखौं उपचार खर्च जोगिन्छ । यसो गर्दा ति जनताले तपाईहरुलाई पक्कै धन्यवाद दिने नै छन् । यसका लागि दशवटै पालिकाका सरकार प्रमुखहरु एकपटक छलफलमा बस्न जरुरी छ ।