पहिरो पीडितलाई ६ सय बोरा चामल सहयोग

रोल्पा, ६ कार्तिक ।
रोल्पा नगरपालिकाको वडा नं. ८ जङ्कोटमा पहिरोले क्षति गरेपछि स्वतन्त्ररुपमा गठित बाढी पहिरो पीडित राहत संकलन सहयोग समितिले पीडित २ सय ६२ घरपरिवारलाई ६ सय बोरा चामल वितरण गरेको छ । सांसदसहितको टोलीले स्थलगत अध्ययन गरिसकेपछि पहिरो पीडितलाई तीन तहमा विभाजन गरेर राहत उपलब्ध गराइएको राहत संकलन समितिका संयोजक तथा वडाअध्यक्ष सनसिं बुढामगरले जानकारी दिए । उनकाअनुसार तत्काल राहतका लागि क्षतिका आधारमा ‘क’ समूहलाई प्रतिघर ४ बोरा, ‘ख’ समूहलाई ३ बोरा र ‘ग’ समूहलाई २ बोरा चामल वितरण गरिएको छ । बाढी पहिरो पीडितका लागि विभिन्न व्यक्ति तथा संस्थाहरुबाट ९ लाख ४३ हजार ४० रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको समितिका कुम पुनमगरले जानकारी दिए ।

बिहीबार जङ्कोटमा आयोजित कार्यक्रममा पूर्वसभामुख कृष्णबहादुर महराले पीडितलाई राहत हस्तान्तरण गरे । तत्कालको समस्या समाधानका लागि राज्यले राहतका कार्यक्रम ल्याए पनि स्थानीयकै अग्रसरतामा राहत संकलन हुनु सुखद् भएको पूर्वसभामुख महराले बताए । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुनले नसोचेकै ठाउँमा पहिरो गएर घरबारविहिन भएकाहरुलाई प्रक्रियागत हिसावले सिफारिस भइ आए प्रदेश सरकारले सहयोग गर्ने बताए । रोल्पाका अन्य ठाउँमा पनि पहिरोका जोखिम बस्तीलाई स्थानान्तरण गरिएको भन्दै सांसद पुनले यहाँको बस्तीलाई सार्नका लागि पहल गरिने आश्वासन दिए ।

त्यस्तै रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले धेरै घर पहिरोले बगाइसकेको र बाँकी रहेका समेत निकै जोखिममा रहेकाले बस्ती सार्नुको विकल्प नभएको बताए । बस्ती स्थान्तरणका लागि नगरपालिकाले सुरक्षित स्थान अध्ययनका लागि समिति समेत गठन गरेको भन्दै नगरप्रमुख केसीले सुरक्षित रहेका सार्वजनिक जग्गामा बस्नलाई सुरक्षित घर र सामान्य करेसाबारी हुने गरी निर्माण गर्नका लागि पहल भइरहेको जानकारी दिए ।

सहयोग पाउँदा पीडित खुसी
स्थानीय स्वतन्त्र युवाहरुको सक्रियता र विभिन्न संस्था तथा व्यक्तिहरुबाट सहयोग पाएपछि पहिरो पीडित थोरै भए पनि खुसी भएका छन् । ‘मेरो दुईवटा घर पहिरोले लगेपछि गोठमा बस्दै आएको छु, खानेबस्ने केही पनि छैन’ पीडित किर्ते खत्रीले भने, ‘अलिअलि भएपनि सहयोग पाएको छु, खुसी लागेको छ ।’ गोठमा बसेरै दिन गुजारे पनि घरै नहुँदा निकै समस्यामा परेको उनले बताए । अर्का पीडित महेन्द्र डाँगीले घरसहित जग्गाजमित सबै पहिरोले लगेकाले अर्काको घरमा शरण लिएर बसिरहेको बताए । ‘अहिले अरुको घरमा बस्दै आएको छु’ पीडित डाँगीले भने, ‘नयाँ घर बनाउने घडेरी समेत बचेको छैन, न घर छ, न बारी, अलिअलि सहयोग आउँछ, त्यसैले दिन काट्दैछु ।’

प्रकाशित मिति : २०७७ कार्तिक ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस