रोल्पा, ६ कार्तिक ।
पूर्वसभामुख तथा संघीय सांसद कृष्णबहादुर महराले राष्ट्रिय स्वाधिनता अहिले पनि खतरामा रहेको बताएका छन् । बिहीबार रोल्पा नगरपालिकाको जङ्कोट पुग्नुभएका महराले राष्ट्रिय स्वाधिनता रक्षाका लागि सबै सतर्क रहन समेत आग्रह गरे । ‘मैले राष्ट्रिय स्वाधिनताका लागि संघर्ष गर्ने क्रममा निकै ठूला हण्डर पनि खाएको छु’ पूर्वसभामुख महराले भने, ‘राष्ट्रिय स्वाधिनता हाम्रो जनजीविकासँग समेत सम्बन्धित भएकाले सचेततापूर्वक यसविरुद्ध सबैले संघर्ष गर्नु अनिवार्य छ ।’ राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा नेपालको राष्ट्रिय स्वाधिनता खतरामा रहेको बताएका महराले त्यसबारे भने धेरै बोल्न चाहेनन् ।
राष्ट्रिय स्वाधिनता स्थानीय स्रोत साधनको प्रयोग गरेर आत्मनिर्भर हुने कुरा पनि भएकाले प्राकृतिक खानपिनतिर अग्रसर भइ आफ्नो उत्पादन र श्रममा विश्वास गर्नुपर्नेमा जोड दिए । आफैले उत्पादन गरेको चिजबस्तु प्रयोग गर्नु पनि राष्ट्रियतासँग जोडिएकाले सकेसम्म चामल या अन्य आयातित चिज प्रयोग नगर्न महराले सुझाव दिए । अहिले कोरोना महामारीको जोखिम बढिरहेका बेला यस्ता कुरामा विशेष ख्याल गर्नुपर्ने भन्दै उनले आयातित बस्तुको सेवनले शरीरको प्रतिरोधात्मक शक्ति घटाउने र विभिन्न रोगले आक्रमण गर्ने बताए । ‘स्थानीय बस्तुको प्रयोग गर्नु भनेको राष्ट्रिय स्वाधिनता पनि हो’ महराले भने, ‘राष्ट्रिय स्वाधिनता र समाजवादमा विश्वास गर्नुस् । त्यो भनेको आफ्नोपनमा विश्वास गर्ने कुरा हो, राष्ट्रिय स्वाधिनता, समाजवाद वा साम्यवाद यही नै हो ।’
भूमिगतकालको सम्झना
रोल्पाका राजनीतिक नेतृत्वका रुपमा समेत रहेका महराले २०४८ सालमा सांसद जित्दा र भूमिगत हुँदा जङ्कोटसँग विशेष सम्बन्ध रहेको बताए । २०४८ सालको मतदाता नामावली जङ्कोटबाटै रहेको स्मरण गर्दै ४८ सालमा सांसद जितेका महराले घरबाट पहिलोपटक भूमिगत भएर निस्किएपछि जङ्कोटमै पहिलो बास बसेको बताए । आफू जङ्कोट पुग्दा गौरवको महसुस गरेको भन्दै महराले वर्गसंघर्षको समयमा चार महिना लगातार जंकोटबासीसँग बसेको समेत स्मरण गरे ।