विदेशबाट फर्किएर गाउँमा व्यावसायिक पुष्प खेती

१३ कार्तिक, रोल्पा । लामो समय वैदेशिक रोजगारीको शिलशिलामा थाइल्याण्ड बसेका रोल्पाको सुनीलस्मृति गाउँपालिका–१ घोडागाँउका मधु केसी अहिले गाउँमै व्यवसायिक रुपमा फुल खेति गरिरहेका छन् ।

केसीले रोजगारीको क्रममा ९ वर्ष विदेशमा बिताएको थिए । केसीले कक्षा १२ सम्मको अध्ययन गरेका छन् । लामो समय विदेशमा विताएकाले अब गाउँमै केहि गर्नुपर्छ भन्ने सोचका साथ उनी यो व्यावसाय गरिरहेका छन् ।

अचेल उनको बारीमा म्यारिकोल कर्मा फ्रिड जातको सयपत्री फूल धकमक्क फुलेका छन् । फूल प्रतिकेजी ५ सय रुपैयाँ भन्दा माथिको मूल्यमा विक्री हुने गरेको उनले बताए ।

फूलको खरिदका लागि रोल्पाको विभिन्न ठाउँहरुबाट होइन, अन्य जिल्लाहरुबाट पनि माग भैरहेको केसीले सुनाए । फूलको माग (अर्डर) दाङ, प्युठान, बुटवल लगायतका सहरहरुबाट पनि भैरहेको छ ।

केसी व्यावसायिक फुल खेतीका साथै तरकारी खेतीमा पनि संलग्न छन् । शैक्षिक क्षेत्रमा पनि उनको संलग्न छ । उनी निजी विद्यालयका संचालक पनि हुन् । उनको काममा परिवारका सदस्यहरुले पनि साथ दिएका छन् । फुर्सदको समयमा सबैले बारीमा गोडमेल गर्ने र फूलको माला बनाउनमा सघाउने गर्दछन् । उनी अहिले उमेरले ४२ वर्षको भए ।

देशबाट वर्षेनी लाखौ युवाहरु विदेशिनु परेको परिस्थतिमा उनी गाउँमै केहि गर्न सुझाब दिन्छन् । गाउँमा अनेकौ सम्भावनाहरु भएको उनी बताउछन् । आफू गाउँमै केहि युवाहरुलाई रोजगार सिर्जना गर्ने कामको सुरुवात गरेको उनले बताए । उनी देशमै केहि गर्नुपर्छ भन्ने सोच राख्दछन् ।

केसी जस्तै रोल्पाका किसान पछिल्लो समय पुष्प खेतीमा आकर्षित भएका छन् । विशेषगरी तिहारका लागि महत्वपूर्ण मानिने फूल अन्य विभिन्न प्रयोजनका लागि पनि प्रयोग गरिन्छ । कृत्रिम फूलको आयात कम गर्न यहाँका किसानले व्यावसायिक फुल खेती सुरु गरेका हुन् । पुष्प खेतीबाट यहाँका किसानहरुले राम्रो आम्दानी गरिरहेका छन् ।

केसी जस्तै अन्य किसान पनि पूmल खेतीमा संलग्न हुन थालेका छन् । केसीले व्यावसायिक रुपमा पुष्प खेतीको सुरुवात गरेको २ वर्ष भयो । गत वर्ष पनि पुष्प खेती गरेका उनले अहिले पनि करिब डेढ रोपनी बराबरको जग्गामा सयपत्री फूलको खेती गरेका छन् ।

गत वर्ष मात्र करिब ६० हजार बराबरको फूल विक्री गरेको उनले सुनाए । “गत वर्ष स्थानीय सरकारले समयमै कृत्रिम फूलको माला प्रयोगमा रोक लगाएको भए थप विक्रि हुने थियो ।, तर गाउँपालिकाले चार्डपर्वको समयमा मात्र सूचना निकाल्दा उत्पादन भएका सबै फूलहरु बिक्रि गर्न सकिएन ।”, उनले भने “यस वर्ष गाउँपालिकाले फूलको बिरुवा लगाउने समयमै सूचना निकाली कुत्रिम फूलको प्रयोगमा प्रतिबन्ध लगाएको छ, जसले गर्दा फूल खरिदका लागि माग भैरहेको छ, सबै फूलहरु बिक्री हुने आसामा छु ।”

गत वर्ष बारीमा उत्पादन भएको साढे २ क्विन्टल फूल मध्ये करिब १ क्विन्टलको हाराहारीमा मात्र विक्री भएको उनले बताए । अहिले पनि सोहि परिमाणमा खेती गरेको बताउँछन् । यसवर्ष गाउँपालिकाले पनि समयमै सूचना सार्वजनिक गरेर कृत्रिम मालाको प्रयोगमा रोक लगाएकाले सबै फूलहरु बिक्री हुने आशामा उनी छन् । यो वर्ष बारीमा करिब ३ क्विन्टल फुलहरु भएको उनले बताए ।, ति सबै बिक्रि भएको खण्डमा २/३ लाख बराबरको आम्दानी हुने उनको अनुमान छ ।

प्लाष्टिक जन्य मालाको प्रयोगमा प्रतिबन्ध

किसानले बारीमा लगाएको प्राकृतिक मालाको बजारमा असर नपरोस् भनि सुनिलस्मृति गाउँपालिकाले गाउँपालिका भित्र प्लाष्टिक जन्य मालाको प्रयोगमा प्रतिबन्ध लगाएको छ । गाउँपालिकाले विगत तीन वर्षदेखि तिहार लगाय अन्य समयमा पनि कृत्रिम माला प्रयोग नगर्न अनुरोध गरेको थियो ।

यस वर्ष गाउँपालिकाले तिहार भन्दा अगावै सूचना निकालेर प्लाष्टिक जन्य मालाको प्रयोगमा प्रतिबन्ध लगाएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न गाउँपालिकाले पालिकाभित्र रहेका पुष्प व्यावसायिहरुले उत्पादन गरेको फूलको माला प्रयोग गर्न आग्रह समेत गरेको छ ।

सुनिलस्मृति गाउँपालिकाको वडा नम्बर १ घोडागाँउ र २ खुंग्री गरी २ ठाउँमा किसानहरुले पुष्पको व्यावसायिक खेती गरिरहेको कृषि शाखा प्रमुख डिल्ली केसीले जानकारी दिए । गाउँपालिकाले कृत्रिम मालाको प्रयोगमा प्रतिबन्ध लगाएकाले किसानलाई माला बिक्री नहोला भन्ने चिन्ता कम भएको उनले बताए ।

जिल्लामा व्यवसायिक रुपमा फूल खेति भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई विस्थापित गर्न सघाउ पुगेको जानकारहरु बताउछन् । कृत्रिम फूलको प्रयोग नगर्न स्थानीय सरकारले चासोका साथ हेर्दा किसानले गरेको परिश्रम खेर जाने सम्भावना छैन् ।

वर्षेनी रुपमा विदेशबाट कृत्रिम फूलको माला देशमा भित्रिरहेको अवस्थामा उक्त फूललाई रोग लगाउनु पर्छ र गाउँघरमा युवालाई व्यावसायिक पुष्प खेति गर्न तर्फ आकर्षित गर्नुपर्दछ । यसो गर्दा यहाँका कतिपय युवाहरुले रोजगार पाउने गर्दछन् भने कृत्रिम फुलहरु पनि क्रमशः विस्थापित हुँदै जाने छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस