रोल्पा । समृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड माडी गाउँपालिका वडा नं. ३ दाङबाङ रोल्पाको बैठक सम्पन्न भएको छ । बैठकले शेयर खरिद वापत उठेको रकम ऋण लगानी गर्ने निर्णय गरेको छ । बैठकले शेयर सदस्यहरुको व्यक्तिगत शेयर खाता अभिलेखीकरण गर्ने निर्णय पनि गरेको छ ।
बैठकका अन्य निर्णयमा सहकारीको कार्यक्षेत्र माडी र परिवर्तन गाउँपालिकाका वडाहरुमा शेयर खरिद गर्न र व्यक्तिगत बचत गर्न इच्छुक स्थानीयलाई आह्वान गर्ने, समृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड माडी गा. पा. –३ दाङबाङ रोल्पाको विनियम–२०७७, व्यवसायिक योजना र सम्भाव्यता अध्ययन प्रतिवेदनको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, सहकारीको खाता सञ्चालनका लागि सिफारिस उपलव्ध गराई दिने माडी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय घर्तिगाउँ रोल्पा र खाता सञ्चालन गरी दिने नेपाल बैंक लिमिटेड घर्तिगाउँ शाखालाई धन्यवाद ज्ञापन गर्ने लगायतका छन ।
कोभिड–१९ बाट बच्न सामाजिक दूरी कायम गरी आयोजना गरिएको बैठकमा सहकारी तदर्थ सञ्चालक समितिका पदाधिकारी सदस्य र शेयर सदस्यहरुको सहभागिता रहेको सहकारीका सचिव विजय घर्तीमगरले जानकारी दिए ।
त्यस्तै समृद्धि युवा क्लव माडी माडी गाउँपालिका वडा नं. ३ दाङबाङ रोल्पाको बैठक पनि सम्पन्न भएको छ । बैठकले “समृद्धि युवा क्लव माडी गापा–३ दाङबाङ रोल्पाको विधान २०७७” बमोजिम साधारण र आजीवन सदस्यता प्रदान अभियानलाई थप तीब्रता दिने निर्णय गरेको क्लवका सचिव सर्जन विकले जानकारी दिए । बैठकले क्लवको आय व्यय अनुमोदन, ‘माडी तिलक स्मृति जेहेन्दार छात्रवृत्ति पुरस्कार’ स्थापनाका लागि कार्यविधि तयार गर्ने निर्णय गरेको क्लवका सचिव विकले बताए ।
बैठकले क्लवको खाता सञ्चालनका लागि सिफारिस गरी दिने माडी गाउँपालिका ३ नं. वडा कार्यालय र खाता सञ्चालन गरी दिने नेपाल बैंक लिमिटेड घर्तिगाउँ शाखालाई धन्यवाद ज्ञापन गर्ने निर्णय पनि गरेको छ । बैठकमा क्लवका पदाधिकारी सदस्य र सल्लाहाकारहरुको सहभागिता रहेको क्लवका सचिव विकले जानकारी दिए ।