परिवर्तन राष्ट्रिय भर्चुअल तेक्वान्दो खेल हुने

रोल्पा  । कोरोना भाइरसका कारण खेलकुद क्षेत्र बन्दजस्तै छ । स्वअभ्यासका रुपमा खेलाडीहरु आफ्नो नियमित क्रियाकलापमा क्रियाशील रहे पनि प्रतियोगिता तथा समूहगत इभेन्टहरु लामो समयदेखि चल्न सकेका छैनन् । जसका कारण खेलक्षेत्र नै जोखिममा पर्ने हो कि भन्ने आशंका बढ्न थालेको छ । तर कोरोना महामारीकै बीच पनि कतिपय खेल संस्थाहरुले भने सिर्जनात्मक रुपमा खेल क्षेत्रको विकासमा योगदान दिइरहेका छन् ।

बदलिँदो पछिल्लो प्रतिकूल परिस्थितिमा पनि कसरी खेल क्षेत्रलाई निरन्तरता दिने भन्ने छलफलसहित रोल्पा आई.टि.एफ. तेक्वान्दो संघले भने प्रविधिको उच्च प्रयोग गर्दै प्रथम भर्चुअल तेक्वान्दो (आइटिएफ) राष्ट्रिय खुला प्याट्रन प्रतियोगिता गर्ने भएको छ ।

नेपाली मार्सल आर्ट्स र विशेष गरी तेक्वान्दो खेलमा रहेको अपार सम्भाव्यतालाई मध्यनजर गरी तेक्वान्दो खेललाई व्यवसायिकता तर्फ उन्मुख गर्दै खेलमार्फत् राष्ट्रको प्रतिष्ठा उच्च राख्ने उद्देश्यले उक्त खेलको आयोजना गरिएको संघका अध्यक्ष विक्रम बाँठामगरले जानकारी दिनुभयो । रोल्पा आई.टि.एफ. तेक्वान्दो संघ तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा हुने प्रथम परिवर्तन भर्चुअल टेक्वान्दो (आई.टि.एफ) राष्ट्रिय खुल्ला प्याट्रन प्रतियोगिता आगामी २०७७ पौष महिनाको ११ गतेदेखि १५ गतेसम्म अनलाइन मार्फत् हुने बाँठामगरले बताउनुभयो ।

संघकाअनुसार यो प्रतियोगितामा देशभरिका खेलाडीहरुले भाग लिने छन् । नेपालमा तेक्वान्दो खेललाई व्यवसायिकता तर्फ अगाडि बढाउने रोल्पा आई.टि.एफ तेक्वान्दो संघको यस खालको प्रतियोगिताको योजना तथा प्रयास अनुसार आयोजना गर्न लागिएको यो प्रतियोगिता सिंगो नेपाली मार्सल आर्टस्को क्षेत्रमा नै नौलो प्रयोग भएको संघको दावी छ । रोल्पा जिल्लाबाट शु–आरम्भ भएको यो प्रतियोगिताले नेपाली तेक्वान्दो खेललाई अझ स्तरीय र उत्कृष्ट खेलको रुपमा विकास गर्नको लागि कोशेढुङ्गा साबित हुने र यसले नेपाली मार्शल आटर््सको विकास र प्रवद्र्धनको लागि महत्वपूर्ण योग्दान पुग्ने संघको अपेक्षा छ ।

रोल्पा आई.टि.एफ. तेक्वान्दो संघले प्रतियोगिता आयोजना गर्नका लागि नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघबाट समेत अनुमति प्राप्त गरिसकेको बताइएको छ । प्रतियोगिताको लागि विभिन्न निकायबाट सहयोग तथा प्रायोजनसहित जम्मा ५ लाख बराबरको अनुमानित खर्च हुने संघले जनाएको छ । प्रथम परिवर्तन भर्चअल टेक्वान्दो (आई.टि.एफ) राष्ट्रिय खुल्ला प्याट्रन प्रतियोगितालाई व्यवस्थित रुपमा सञ्चालन र सम्पन्न गर्नका लागि संघका अध्यक्ष विक्रम बाँठामगरको संयोजकत्वमा मूल आयोजक समिति तथा प्राविधिक उपसमिति गठन गरिएको छ । त्यस्तै कृष्णप्रसाद बाँठामगरको संयोजकत्वमा आर्थिक उपसमिति र रेशम खड्काको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको संघका अध्यक्ष विक्रम बाँठामगरले बताउनुभयो ।

खेलकुद जगतको अन्तर्राष्ट्रिय क्षेत्रमा मार्शल आटर््स तथा तेक्वान्दो खेललाई पनि अन्य खेल सरह व्यवसायिक रुपमा लिन थालिएको सन्दर्भ र सिंगो विश्व नै खेलकुदको व्यवसायिकता तर्फ लम्किरहेको वर्तमान अवस्थामा नेपाली मार्शल आटर््स क्षेत्रमा पनि महत्वपूर्ण कामहरु भएको बाँठामगरले बताउनुभयो ।

रोल्पा आई.टि.एफ. तेक्वान्दो संघले आफ्नो स्थापनाकाल देखि विभिन्न प्रतियोगिता आयोजना गर्ने क्रममा विभिन्न राष्ट्रिय तथा प्रदेशस्तरको कार्यक्रमहरु र टेक्निकल सेमिनारहरु सफलताका साथ सम्पन्न गरिसकेको समेत उहाँले बताउनुभयो । देशमा सम्पूर्ण शैक्षिक संघ संस्था, खेल प्रशिक्षण आदिहरुमा रोकावट लगाइएको बेला खेलाडीहरुलाई मानसिक, सामाजिक, संवेगात्मक तथा शारिरीक रुपमा क्रियाशील बनाई खेलकुदको माध्यमबाट आफ्नो जिल्ला, देश तथा राष्ट्रलाई चिनाउन उत्प्रेरित गर्ने हेतुले बढ्दो प्रविधिको युगलाई पछ्याउदै आई.टि.एफ तेक्वान्दो भर्चुअल राष्ट्रिय प्याट्रन प्रतियोगिता चौथो संस्करणसम्म महत्वपूर्ण सफलताका साथ सु–सम्पन्न गरिसकेको र फेरि पनि संघले पछिल्लो समय सबै खेलाडीहरु कोभिड १९ का कारण घरमै बस्न बाध्य भएकोले सामान्य अभ्यास भन्दा अर्को विकल्प नभएको रोल्पा आईटिएफ तेक्वान्दो संघले प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो (आई.टि.एफ) राष्ट्रिय खुल्ला प्याट्रन प्रतियोगिता आयोजना गर्न लागेको संघले जनाएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस