सडक खन्दा अनिवार्य नाला बनाउ

रोल्पामा अचेल वर्षात्ताका अवरुद्ध भएका सडक खुलाउने चटारो छ । हरेक वडा र वस्तीसम्म खनिएका बाटो (सडक) सफा गर्ने ध्याउन्नमा छन् सबै । कतै पहिरो पन्छाएर गाडी आउजाउ गर्ने अवस्था भैसकेका छन् भने कतै अझै पहिरोले बाटो अवरुद्ध नै छन् । वर्षात् सकिएपछि विशेषगरी दशै र तिहार आसपासमा सडक सफा गर्ने नियति नै बनिसकेको छ ।

वर्षे मौसममा यहाँका ग्रामिण सडक भलपानीले क्षतविक्षत नै हुन्छन् । पहिरोले प्रायजसै बाटो भत्किन्छन् । सदरमुकाम लिबाङसम्मको मूल सडक कमै अवरुद्ध हुने गर्छ । सहिद मार्ग अवरुद्ध हुने अवस्था भैरहन्छ । तैपनि खुलाउने प्रयास हुन्छ । तर, ग्रामिण सडक वर्षेअवधिमा प्राय अवरुद्ध हुन्छन् र दुई चार महिनासम्म खुल्दैनन् । कहिकतै सडक सुचारु गर्ने दवाव पर्छ र खुलाईन्छ । फेरी पहिरो आउँछ, भलपानीले सडक छियाछिया हुन्छन् । फेरी बाटो उस्तै हालतमा पुग्छन् । पहिरो पन्छाउ, केही दिनपछि फेरी पहिरो, फेरी पन्छाउने, फेरी पहिरो । यसले सडकमा लाखौ रकम झ्वाम हुने गरेको छ । त्यसैले वर्षेझरीताका ग्रामिण सडक अवरुद्ध भएपनि खुलाउने प्रयास गरिदैन । हिउँद लागेपछि सडक खुलाउने काम हुन्छ । दशैतिहारका वेला गाउँगाउँसम्म सडक खुलाउने दवाव समेत पर्दछ ।

अवरुद्ध सडक खुलाउन रोल्पाका दशवटै पालिकाले वर्षेनी करोडौ रकम खर्चिनु परिरहेको छ । पालिकाको नीति तथा कार्यक्रममा र वजेट विनियोजन शिर्षक हेर्ने हो भने जिल्लाका ७२ वडाका सडक खुलाउने प्रयोजनका लागि वजेट देखिन्छ । वर्षेनी करोडौ रकम झरीपानीले भत्काएको सडक मर्मत गरेर गाडी चलाउने मै खर्च भैरहेको छ । करोडौ रकम बाटोको स्तरोन्नति, विस्तारमा होईन भलचिरा र पहिरो पन्छाउन खर्च हुने गरेको छ । यसो हुनुमा जथाभावी खनिएको बाटो नै देखिन आउँछ । ग्रेट नै नमिलेका यहाँका क्यौं सडकको नामोनिशान हुँदैनन् वर्षात्ताका । कारण पहिरो नआएपनि सडकैसडक बग्ने पानीले सडक क्षति हुनेगरेको देखिन्छ । गाउँगाउँ जाने बाटोमा बाटैबाटो बग्ने पानीलाई पन्छाउने गरिदैन् । सडकको १०० मिटर अन्तरको दूरी पारेर सडकैसडक बग्ने पानीलाई सडकमुनि पठाउने हो भनेपनि सडकको क्षति कम हुन्छ । त्यसले सडक सुरक्षा हुनेपनि हो । कम क्षति भएपछि थोरै रकमले समेत मर्मत गर्न सकिन्छ । तर, कसैले यसको वास्ता गर्दैनन् ।

सडक जस्लेपनि खन्ने, मापदन्डको पालना कसैले नगर्ने अवस्था छ । सडक खन्नेवेला नाला बनाउने कामै हुदैन । ट्रयाक ओपन भन्ने वहानामा नाला नै बन्दैनन् । डोजर अपरेटरको भरमा सडक खन्दा ग्रेट नै मिलाईन्न । अनि सानो वर्षात्लेपनि सडक छियाछिया बनाउँछ । मर्मतले लाखौं रकम बर्बाद हुन्छ । कालोपत्रे गरेकै सडकमा पनि कतैकतै नाला अवरुद्ध हुँदा र पहिरोले नाला भत्किदा सडकभरी भलपानी देखिन्छ र त्यसले सडकलाई क्षति पुगेको देखिन्छ । अवरुद्ध नाला खुलाउने वित्तिकै सडक सहज हुन्छ । ग्रामीण कच्ची सडक नाला विनाका छन् । नाला भनेको सडकको सुरक्षाकवज बराबर मानिन्छ । केही सडकमा पछिल्लो समय नाला खनेको र सडकैसडक बग्ने भलपानीलाई रोक्ने (ब्रेकर) संरचना बनाउदा सडक सुरक्षित भएको पाईयो । ति सडक झरीपानीमा पनि तुलनात्मक रुपमा कम क्षति भएर यातायातका साधन आवतजावतमा खासै समस्या देखिएन ।

अब जोजसले सडक खन्ने योजना अघि सार्छन र मर्मत गर्ने जिम्मेवारी वोक्छन्, ति सबै निकायले सडक खन्दा अस्थायी प्रकृतिको भएपनि अनिवार्य नाला बनाउनु पर्छ । प्राविधिक जनशक्तिलेपनि नयाँ योजना हो भने अनिवार्य नाला सहितको सडक डिजाईन इष्टिमेट गर्नुपर्छ । मर्मत हो भनेपनि नाला बनाउने इष्टिमेट गर्नैपछ । यो नीति पालिकाहरुले बनाउन जरुरी छ । यति गर्दा बाटो कम क्षति हुन्छ । र, मर्मतमा खर्च हुने करोडौं लागत घटाउन सकिन्छ । सडकको सुरक्षाकवज नाला बनाउने तर्पm सबैले ध्यान दिनैपर्छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस