
रोल्पा । रोल्पा सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ खुंग्रीका महिलाले गत वर्षदेखि सामूहिक रुपमा फूल खेती गरिरहेका छन् । यहाँका महिलाले २८ जनाको सहभागितामा सुवर्णावती स्वावलम्बन समूह गठन गरी फूल खेती गरेका छन् ।
तिहार तथा शुभ कार्यलाई लक्षित गरी १ रोपनी जग्गा लिजमा लिएर फूल खेती गरेका महिला यतिबेला फूलको स्याहारमा खटिरहेका छन् । पहिले जग्गा लिजमा लिएर तरकारी खेती गर्दै आएका महिला गत वर्षदेखी फूल खेती सुरु गरेका हुन।
तरकारी खेतीबाट सोचे जस्तो आम्दानी नहुने र मेहनत बढी लाग्ने भएपछि फूल खेती गर्न थालेको समूहका सदस्य गीता योगी बताउँछिन् । गत वर्ष फूल बिक्री गरेर मात्र ६५ हजार बढी आम्दानी उनले बताइन् । गत वर्षभन्दा यसवर्ष फूल पनि राम्रोसँग फूलेको छ, माग पनि बढी रहेको छ । यसपटक राम्रै आम्दानी हुने उनले बताइन् ।

अहिले बारीमा फूल फुलेर ढकमक्क भएका छन् । कोही महिला तयार भएका फूल टिप्न र कोही माला बनाउन र माग भएका ठाउँमा पुर्याउन खटिएका छन् । ‘आयातित माला विस्थापित गर्ने योजना छ,’ समूहका सदस्य समेत रहेकी देविसरा घर्तीले बताइन।
फूल खेतीले महिलालाई व्यावसायिक बनाउन र आयआर्जनमा समेत टेवा पुगेको छ । तिहार फूलैफूलको पर्व भएकाले पनि अरू बेला भन्दा तिहारमा फूल पनि धेरै बिक्छ, उनले भिनन्, यसबाहेक विवाह, व्रतबन्ध, पूजा, जन्म, मरण लगायतमा पनि फूल माग बढी रहेको उनले बताइन।
जिल्लामा पार्टी होस् वा सङ्घसंस्थाका औपचारिक कार्यक्रम, सबैमा फूलका मालाको प्रयोग बढेको छ। जिल्लामा हुने मेला महोत्सव होस् या स्थानीय तहले आयोजना गर्ने कार्यक्रम, महिलाले उत्पादन गरेका फूलको प्रयोग अहिले बढेको छ।

महिलाले उत्पादन गरेको फूल प्रति किलो ५ सय रुपैयाँ र एउटा मालालाई २ सय रुपैयाँ देखि २ सय ५० रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ । महिलाहरूले सुरु गरेको फूल खेतीलाई प्रोत्साहन दिन सुनिलस्मृति गाउँपालिकाले प्लाष्टिकका माला, फूलहरू बिक्री गर्न रोक लगाएको गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले बताए ।
स्थानीय उत्पादनलाई प्रोत्साहन दिने हाम्रो नीति छ । उनले भने, प्लाष्टिकका मालाको सट्टा स्थानीय कृषकले उत्पादन गरेका सयपत्रीका माला प्रयोग गर्न आग्रह गरेका छौँ । तिहारका लागि जिल्लामा सयपत्री फूलको माग अत्याधिक रहेको छ ।
जिल्लाका महिलाहरुले उत्पादन गरेकाे फूल खेतीलाई सहास नेपालले सघाउँदै आएको छ । सयपत्री फूल खेतीको लागि प्राविधिक सहयोग, जातका छनौट लगायतमा सहयोग गरेको सहास नेपाल रोल्पाका संयोजक सरोज पन्थीले बताए । सयपत्री फूल किन्नका लागि अन्य जिल्लाबाट समेत ग्राहक यहाँ आउने गरेका छन् ।उनले भने, जिल्लामा खपट नभएका फूलहरूलाई हामीले नै जिल्ला बाहिर बिक्री गरिदिएका छौँ ।
थोरै लगानीमा मनग्य आम्दानी हुने भएपछि फूल खेतीको व्यवसाय गर्न महिलाहरू सामूहिक रुपमा लागेका छन् । यसले उनीहरूको आयआर्जनमा समेत टेवा पुर्याएको छ । त्यसो त रोल्पामा महिलाले मात्र होइन । जिल्लाका अन्य ठाउँमा पछिल्लो समय फूल खेतीमा युवाहरूको आकर्षक समेत बढी रहेको छ ।
