सम्पादकीय :

भैलोको रकम सदुपयोग गरौँ

नेपालीहरूको माझबाट तिहारको रौनक अब विस्तारै सेलाउँदै जान थालेको छ । देउसीभैलो खेल्नेहरूको कानमा अझैपनि भैलो र देउसीको आवाज गुञ्जायमान होला नै । परम्परा अनुसार तिहारको मेलोमा ‘कात्तिके दान’ गर्ने प्रचलन छ । बालबालिका उमेरमा भैलो र देउसी खेल्ने रहर सबैको हुन्छ नै । त्यहीँ बाल्यकालको भैलो नै जीवनभर याद बनेर बसिरहन्छ । तिहार पर्वको सांस्कृतिक महत्व विशिष्ट नै छ । त्यसै मध्येको भैलो पनि एक पाटो हो । के बालबालिका, के युवा, के प्रौढ सबै भैलोमा रमाउँछन् नै । भैलोबाट लाखौ रकम समेत उठ्ने गरेको छ । देशभरको त्यो रकम अभिलिखित गर्ने हो भने करोडौँ नै हुन आउँछ । संस्कृतिको रुपमा दान दक्षिणा दिनु नेपालीको एक सांस्कृतिक विशिष्टता नै हो । देखासिखी गरेर औकात भन्दा बढि दानदक्षिणा गर्नुपनि विकृत हुन जान्छ भने भैलो समूहबाट दबाबमा दक्षिणा असुल्नु पनि विकृति मान्न सकिन्छ ।

जे जसरी भएपनि तिहारमा विभिन्न भैलो समूहले लाखौं दान जुटाएका छन् । सार्वजनिक हित, सामुदायिक योजना सहित भैलो खेल्नेहरुले सोचेभन्दा बढि रकम सङ्कलन समेत गरेका छन् । गाउँमा घुम्दा विद्यालयको विकासको लागि भैलो खेल्ने समूहलाई घरबेटीले नै हर्षित भएर अलि बढि दान गर्नुपर्छ भन्ने गरेको पाएँ । यो निकै सह्रानीय सोच हो । त्यस्तै, सामाजिक हितमा खर्चिने गरी भैलो खेलेका आमा समूह, युवा क्लब, बालक्लब लगायतका समूहबाट खेलेको भैलोलाई पनि पर्याप्त दान दिएको देखियो । तर, भैलो खेलेर वनभोज खान जानेरे भनिएका समूहलाई दान दक्षिणाको मात्रा कमी गरिएको र, दिएपनि मन अमिलो बनाएर दिएको देखियो । यि परिघटनाले समाजको मनोविज्ञान मजाले पढ्न सकिन्छ । दान दिनेले पनि आफूले दिएको रकम सदुपयोग होस् भन्ने चाहना राख्नु राम्रो नै हो ।

समाज अहिलेपनि पछौटेपनमा छ । सामाजिक विकृति, विसङ्गति र कुरीति व्याप्त छ । समाजमा थुप्रै आवश्यकता छ । विद्यालयका भवन, शौचालय, चौर, घेरबारको अवस्था नाजुक छन् । विद्यालयमा पढाउने निजी स्रोतका शिक्षकलाई तलब खुवाउन गाह्रो छ । कतिपय विद्यालय ऋणको भारीले थिचिएका छन् । ऋणमुक्त हुनलाई पनि भैलो खेल्नुपर्ने अवस्था छ । समुदायमा रहेका सचेत समाजसेवी, युवा, बालबालिका, आमा समूह, राजनीतिक सुझबुझ भएकाहरूले पक्कै समाजका विद्यमान समस्यालाई भैलोबाट रकम सङ्कलित गरेर हल गर्ने सोच ल्याएको पनि देखियो । यसले संस्कृतिको जगेर्ना पनि हुने र सामाजिक काम पनि हुने नै भयो । निश्चित उद्देश्य राखेरै भैलो खेल्ने समूहहरूलाई धन्यवाद दिनैपर्छ । यसले सामाजिक रूपान्तरण र समाजको आवश्यकतामा कहीँ न कहीँ टेवा पु¥याउने नै छ । जो जसले कुनै उद्देश्य नराखेर भएपनि संस्कृतिको सदुपयोग गर्नुभयो, ति समूहले पक्कै ठण्डा दिमागले केही सोंच्नुपर्ने हुन्छ । आफ्नै खर्चबाट समेत सार्वजनिक हितको काम गरिन्छ भने भैलोबाट प्राप्त दानबाट सामाजिक काम गर्दा अझ कति राम्रो होला ! यसरी सोच्नुपर्छ ।

पछिल्लो समय भैलोमा पनि विकृति अवश्य देखिदै आएको छ । आशिष दिने अनि इच्छाएको दक्षिणा लिने भन्दापनि अनुचित दवाव सिर्जनागरी चन्दा उठाउने शैली जस्तो हुने गरेको पनि छ । यसो हुनु राम्रो होईन । उठेको रकमबाट बनभोज जाने चटारो पनि देखिन्छ कतैकतै । प्राप्त दानको थोरै रकम बनभोजमा खर्चिनुसम्मलाई अन्यथा मान्न नसकिएला तर बनभोज खाने उद्देश्यले नै भैलो खेल्नु भने पक्कै राम्रो हुँदैन । सुदृढ समाज, विकसित समुदाय र गतिशिल दुनियाँ हामीलाई चाहिएको छ । संस्कृतिको निरन्तरता, जगेर्ना, विकास पनि हुने र सार्वजनिक हित पनि हुने तर्पm हाम्रो ध्यान जान जरुरी छ । भैलोबाट जुन जुन समूहले जति रकम सङ्कलन गर्नु भएको छ, त्यसको ठूलो हिस्सा सार्वजनिक हितमा खर्च गरि सदुपयोग गर्ने कि?

प्रकाशित मिति : २०८१ कार्तिक २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस