सम्बन्ध विच्छेद घटाउने तर्फ सोचौँ

अचेल दम्पत्तिको सम्बन्ध विच्छेद सामान्य जस्तै बन्न थालेको छ । देशभरका अदालतमा पेस हुने मुद्दा मध्ये सम्बन्ध विच्छेदका मुद्दा धेरै छन् । यसले हाम्रो समाज कता तर्फ गई रहेको छ भन्ने प्रश्न उब्जाएको छ । विवाह बन्धनमा बाँधिदा पुराना पाका मानिसले दम्पतीको वैवाहिक बन्धन नटुटोस्, बाचुन्जेल सँगसँगै हुनु भन्ने आर्शिवचन दिने गर्छन् । तर, अचेल विवाह सम्बन्ध ‘विच्छेद’ ख्याल ख्याल जस्तै हुन पुगिरहेको छ ।

देशभरका अदालतका मुद्दाहरूको प्रकृतिलाई विश्लेषण गर्ने हो भने अधिकांश मुद्दा सम्बन्ध विच्छेदका छन् । पश्चिमा मुलुकहरूमा विवाह हुने र सम्बन्ध विच्छेद हुने सामान्य जस्तै रहेको चर्चा सुन्दा अचम्म मान्ने नेपाली समाजले अहिले यहीँ सम्बन्ध विच्छेदका उदेक लाग्दा घटना देख्नु भोग्नु परिरहेको छ । केही साता अघि रोल्पा जिल्ला अदालतले पत्रकारहरूसँग भेटघाट कार्यक्रमको आयोजना ग¥यो । त्यहाँ प्रस्तुत मुद्दाका स‌ंख्या र प्रकृति हेर्दा सम्बन्ध विच्छेद नै धेरै देखिए । न्याय क्षेत्रमा लामो अनुभव सँगालेका जिल्ला न्यायाधिशले सम्बन्ध विच्छेदको मुद्दाबारे गम्भीर चासो पनि राखे । वास्तवमा अहिले भइरहेको सम्बन्ध विच्छेदको अवस्थाले सचेत मानिसलाई चिन्तित अवश्य बनाएको छ ।

रोल्पा जिल्ला अदालतमा सम्बन्ध विच्छेद गर्न आउने क्रम बर्सेनि बढिरहेको छ । सम्बन्ध विच्छेद गर्न २० वर्ष मुनिका समेत आउने गरेको देखिन्छ । यो निकै सोचनीय विषय हो । सम्बन्ध विच्छेद गर्न आउनेलाई मेलमिलाप गर्न सक्ने अवसर समेत दिने प्रावधान छ । तर, मेलमिलाप होइन सहमतिमा सम्बन्ध विच्छेद गर्न आउने गरेको समेत पाइन्छ । महिलाले अंश दाबी सहित सम्बन्ध विच्छेदको मुद्दा दिन सक्ने कानुनी व्यवस्था भए पनि धेरै महिलाले विना अंश सम्बन्ध विच्छेद गर्न चाहेको देखिन्छ । सहमतिमा सम्बन्ध विच्छेद गर्न आउनेहरूको हकमा अंश दावी पनि हुने गरेको देखिँदैन ।

दम्पतीले सहमतिले सम्बन्ध विच्छेद गर्दा मुद्दा फैसला छिटो छरितो हुने भएकाले धेरैले सहमतिको बाटो रोजेको देखिन्छ । यसरी हेर्दा यदि महिला अन्यायमा परेर सम्बन्ध विच्छेद गर्न चाहेको भने अंश विना आई रहेका घटना निकै गम्भीर हुन् । तर, जानकारहरूका अनुसार पति पत्नीबिच सम्बन्धमा दरार आएपछि गाउँमा विभिन्न चरणमा छलफल हुने गर्छन् । भद्र भलादमीमा हुने छलफलबाटै मेलमिलापको प्रयास हुन्छन् । यदि मेलमिलाप हुन सकेन भने पतिको दोष भएमा पत्नीलाई मोटो रकम दिएर सम्बन्ध विच्छेद गर्ने र पत्नीको गल्तीका कारण सम्बन्ध विच्छेद गर्नुपर्ने अवस्था आएको हो भने पत्नीले पतीलाई मोटो रकम दिनुपर्ने समाजमा अभ्यास छ । त्यो रकम गाउँघरमै लेनादेना हुने गर्छ । एक हिसाबले गाउँमै विवाह सम्बन्ध टुङ्गिन्छन् । कानुनी रूपमा अदालतबाट सम्बन्ध विच्छेद नहुँदा झन्झट व्याहोर्नु पर्ने भएका कारण मात्र अदालतमा अन्तिममा आउने गर्छन् ।

अदालतबाट सम्बन्ध विच्छेद गरेपछि मात्र दुवै जनाले अन्यसँग विवाह सम्बन्ध जोड्दा कानुनी सहजता हुने भएर मात्र अदालतमा मुद्दा आउँछन् । त्यहीँ भएर अदालतमा प्रायः सहमतिमा सम्बन्ध विच्छेदका मुद्दा जाने गरेका छन् । अदालतसम्म आई पुग्नु भन्दा पहिला गाउँमा धेरै पटक छलफल हुन्छ । पतीको गल्तीका कारण पत्नीलाई छोड्नु पर्दा विवाह भएको कति वर्ष भयो त्यसको एकिन गरेर दिनको ज्याला समेत हिसाब गरिन्छ कतैकतै । पत्नीको गल्तीका कारण सम्बन्ध विच्छेद गर्नुपर्ने अवस्थामा विवाह गर्दाको खर्च समेत जोडेर पतीलाई मोटो रकम तिर्नु पर्दछ । कति लेनादेना गर्ने गाउँमै हिसाब हुन्छन् ।

यसले समाजमा माइती, इष्ट र आफन्तमा पक्कै सामाजिक असहिष्णुता खडा गर्छ नै । बालबच्चा भएकाहरूको सम्बन्ध विच्छेदले साना छोराछोरीको बिचल्ली हुने गरेको छ । विवाह जस्तो पवित्र सम्बन्ध आखिर किन विच्छेद भइरहेका छन् त ? के कस्ता कारण छन् सम्बन्ध विच्छेद हुनुका पछाडि ? कोही कसैले अध्ययन, चिन्तन र मनन गरिरहेको अवस्था छैन । अव गम्भीरता देखाउनै पर्छ र सम्बन्ध विच्छेदलाई निरुत्साहित गर्ने समाज विकास गर्न जरुरी छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस