लैंगिक हिंसा विरुद्धको अभियान सार्थकता कसरी

नोभेम्बर २५ बाट डिसेम्बर १० सम्म लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान यतिबेला जारी छ । तीन जना डोमिनिकन विवाहित नागरिक पेट्रिया, मिनर्भा र मारिया दिवीबहिनीले सन् १९५० को दशकमा तानाशाही त्रुजिलो शासकको विरुद्ध लडेका थिए । ३० वर्ष लामो शासन गरेका त्रुजिलो तानाशाही शासन विरुद्ध चलेको नागरिक आन्दोलनको कडा दमनका विपक्षमा तीन दिदीबहिनी लगायत उनीहरुको श्रीमान पनि सशक्त रुपमा लागेका थिए । जेल परेका आफ्ना श्रीमानहरुलाई भेटेर फर्किरहेका बेला गाडी चालक सहित तीन दिदीबहिनीको सन् १९६० नोभेम्बर २५ का साँझ हत्या गरियो । अन्ततः त्रुजिलो शासन पतन भयो ।

वुमन ग्लोबल लिडरसीप इन्स्टिच्यूटले सन् १९९१ मा महिला हिंसा विरुद्धको अभियान सुरु ग¥यो । सन् १९९५ मा संयुक्त राष्ट्र संघले ती तीन अधिकारकर्मी मिरावल दिदीबहिनीको सम्झना र सम्मान स्वरुप हरेक नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको अन्तराष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय ग¥यो । त्यसपछि संसारभर यो दिवस मनाईदै आएको अवस्था छ । नेपालमा यो अभियानको थालनी सन् १९९७ मा गरिएतापनि २०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को वैठकले १६ दिने अभियानका रुपमा मनाउने घोषणा गरेको थियो । यसपछि नेपालमा सरकारी तथा गैरसरकारी निकायले विभिन्न कार्यक्रम गरि यो दिवसलाई अभियानकै रुपमा मनाउदै आएका छन् ।

नोभेम्बर २५ एक महत्वपूर्ण दिनबाट अभियानको सुरु भएर अन्तिममा १० डिसेम्बरमा समापन हुन्छ । अन्तराष्ट्रिय मानवअधिकार दिवसका दिन यो दिवसको समापन हुन्छ । १६ दिन भित्र महिला मानवअधिकार रक्षक दिवस, विश्व एचआइभी÷एड्स दिवस, अन्तराष्ट्रिय अपांगता दिवस, आर्थिक सामाजिक विकासका लागि अन्तराष्ट्रिय दिवस, अन्तराष्ट्रिय नागरिक उड्डयन दिवस र भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस लगायतका धेरै दिवस पर्ने भएकाले यि सबै दिवसलाई समेटेर १६ दिने अभियानका रुपमा मान्न थालिएको हो । विश्वव्यापी रुपमा सुरु गरिएको यो अभियानको मुख्य उद्देश्य महिला तथा बालिका विरुद्ध हुने सबै प्रकारका हिंसाको अन्त्य गर्नु हो । नेपाको सन्दर्भमा पितृसत्तात्मक मान्यताका आधारमा भइरहेको महिला हिंसाको अन्त्य गर्नु हो । पछिल्लो समय लिंगका आधारमा गरिने सबै प्रकारका विभेद र हिंसाको अन्त्यका लागि यो दिवसलाई अभियानका रुपमा मनाईन्छ ।

तर, विडम्बना प्रत्येक वर्ष यो दिवस मनाईरहदा लैंगिक हिंसाका घटनामा कमि आउन सकिरेहेका छैनन् । नेपाल प्रहरी प्रधान कार्यालयले प्रकाशन गरेको लैंगिक हिंसाको आर्थिक वर्ष २०७९÷०८० को तथ्यपत्र अनुसार गत एक आर्थिक वर्षमा २० हजार ८ सय ८० लैंगिक हिंसा सम्बन्धि उजुरी परे । प्रहरी कार्यालयमा परेका यि उजुरी मध्ये १६ हजार ५ सय १९ वटा अर्थात् ७९ प्रतिशत घरेलु हिंसा भएको पाईएको छ । २० हजार ३५ जना पीडक संख्यामा ७८ प्रतिशत पुरुष रहेको पाईएको छ । तथ्यांक अनुसार समग्रमा लैंगिक हिंसाको शिकार महिला र ति घटनाका पीडक पुरुष रहेको देखिन्छ । अर्को महत्वपूर्ण तथ्यांक अनुसार प्रहरीमा दर्ता भएका ३ हजार ३ सय ५७ मुद्दा यौन हिंसाका छन् । यि घटनामा १५–२५ वर्षका पीडक पुरुष ३४ प्रतिशत र ११–१६ वर्षका पीडित बालिका ४१ प्रतिशत छन् । तथ्यांकले ११–१६ वर्षका बालिका यौन हिंसाबाट सबैभन्दा बढी पीडित भएको देखिन्छ । १९–२५ वर्षका पुरुष सबैभन्दा बढी यौन हिंसाका अपराधमा संलग्न देखिन्छन् । घटनाहरु ५१ प्रतिशत घर कोठामा र ४४ प्रतिशत सार्वजनिक स्थलमा भएको पाईएको छ । यि तथ्यांकले आफन्त र घरायसी वाताबरण नै बढी असुरक्षा क्षेत्र वनेका छन् । महिलाहरुले आफन्त र घरायसी वातावरण नै असुरक्षित महशुस गर्नु परेको यथार्थलाई मध्यनजर गरेर यसको निर्मूल गर्ने ठोस योजना सहित दिवस मनाउन जरुरी छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस