प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा अध्ययनरत विद्यार्थी माथि कुटपिट

रोल्पा । रोल्पाको माडीचौर स्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा अध्ययनरत विद्यार्थीलाई सोही कलेजमा अध्ययनरत नेविसङ्घका विद्यार्थीहरूले कुटपिट गरेका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको आंगिक क्याम्पसका रूपामा रहेको उक्त कलेजमा पटकपटक विद्यार्थी कुटिँदै आएका छन् । 

शनिबार  ( मङ्सिर ३० गते ) साँझ साढे ६ बजे आफ्नै कोठामा पढिरहेका अनेरास्ववियु  निकटका सानन्दकुमार यादवलाई सोही कलेजमा अध्ययनरत नेविसङ्घका उपसभापति समेत रहेका सन्देश गिरी र आयुष पाण्डेको समूहले कुटपिट गरेको  विद्यार्थीहरूले जानकारी दिएका छन्।

कुटपिट गर्ने विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरे पनि कुनै कारवाही नगरी छोडेको विद्यार्थीले आरोप लगाएका छन् । यता जिल्ला प्रहरी कार्यालय रोल्पाले सामान्य विवाद भएकाले मिलापत्र गरी पठाएको बताएको छ ।

कुटपिटबाट घाइते भएका विद्यार्थी यादवलाई रोल्पा अस्पताल रेउघामा उपचार गराएको छ । सङ्गठनका नाममा विद्यार्थी कुट्ने समूहलाई कारबाही गर्न विभिन्न विद्यार्थी सङ्गठनहरूले माग गरिरहेका छन् । 

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस